विजयपुर/धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सुरक्षा व्यवस्था ठेक्का लिएको केटीएम सेक्युरिटी सर्भिसेज प्रालिले प्रतिष्ठानमा कार्यरत् सुरक्षा गार्डको सञ्चयकोष गायब गरेको तथ्य बाहिर आएको छ ।प्रतिष्ठानमा कार्यरत् सुरक्षा कर्मचारीहरुले झण्डै एक वर्षदेखि अाफ्नाे सञ्चय कोषको रकम कहाँ छ भन्ने पत्तो पाएका छैनन् । नयाँ गार्डहरुको सञ्चयकोष भने कट्टा गरिएको छैन । केटीएमले पुराना १ सय २९ जना सुरक्षा कर्मचारीको सञ्चयकोष दाखिला नगरेको स्रोतले जनाएको छ । केटीएमले प्रतिष्ठानसँग सुरक्षा ठेक्का सम्झौता गर्दा सुरक्षा कर्मचारहरुलाई सञ्चयकोषसहितका सुविधा दिइने सहमति जनाएको छ । सञ्चय कोषबापत् सुरक्षा कर्मचारीको तलबबाट १० प्रतिशत कट्टा गर्ने र १० प्रतिशत कम्पनीले व्यहोर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

ktm केटीएमले प्रतिष्ठानबाट प्रतिसुरक्षा गार्ड मासिक १७ हजार ७ सय ३१ रुपैयाँ लिने गरेको छ तर कर्मचारीले भने मासिक १० हजार ९ सय मात्र पाइरहेका छन् । नयाँ सुरक्षा कर्मचारीले भने मासिक ९ हजार ७ सय मात्र पाइरहेका छन् । केटीएमले १ सय ६ जना सुरक्षा कर्मचारीको तलबबाट १० प्रतिशत रकम कट्टा गरेको छ तर सञ्चय कोषमा भने जम्मा नगरिएको स्रोतले जनाएको छ । सञ्चय कोष काटिएका सुरक्षा कर्मचारीहरुको त्यसबापत्को झण्डै २२ लाख रुपैयाँ गायब भएको छ ।अाफुहरूले अाफ्नाे सञ्चय कोष फिर्ता माग्दा केटीएमका कार्यकारी निर्देशक रामेश्वर शाहले उल्टै गालीगलौज गरेको कर्मचारीहरु बताउँछन् । कर्मचारीहरुले अरु कसैसँग यस्ता विषयमा कुरा गरे ‘मानसिक यातना’ दिने गरिएको एक कर्मचारीले बताए ।

सुरक्षा कर्मचारीहरुलाई सञ्चय कोषसहितका सुविधा नदिइएको र अनावश्यक मानसिक दवाब दिने गरिएको भन्दै केटीएमका प्रतिष्ठान म्यानेजर पवन खड्काले राजीनामा नै दिएका छन् । दिनरात काम गर्ने मजदुरलाई सेवा सुविधा दिलाउन नसकेका कारण अाफुले नैतिकताका आधारमा राजीनामा दिएको उनले बताए । प्रतिष्ठानमा १ सय ६ जना पुराना र ४१ जना नयाँ सुरक्षा कर्मचारी छन् । उनीहरुले अाफ्ना गुनासा राख्दा ‘क्युआरटी’ का नाममा राखिएका युवाको समूह प्रयोग गरेर धम्की दिने गरिएको एक सुरक्षा कर्मचारीले बताए । केटीएमका कार्यकारी निर्देशक रामेश्वर शाहले भने सुरक्षा कर्मचारीले काम गरेको २ सय ४० दिन नपुगेको कारण सञ्चय कोषमा रकम जम्मा नगरिएको बताए । केटीएमले प्रतिष्ठानको सुरक्षा ठेक्का लिएको २ सय ४० दिन गत जेठमै पूरा भएको छ । शाहले भने अाफुले श्रम ऐन पूर्ण रुपमा पालना गरेको दावी गरे ।