telधरान/नेपाल टेलिकमको धरान शाखाअन्तर्गत लेखा शाखा इटहरीमा सार्ने तयारीविरुद्ध धरानका राजनीतिक दलहरु खुलेर लागेका छन् ।उनीहरुले यो निर्णयविरुद्ध सर्वदलीय सङ्घर्ष समिति नै गठन गरेका छन् ।

११ वटा राजनीतिक दल सम्मिलित सङ्घर्ष समितिले बिहीबार टेलिकमको धरान शाखामार्पmत् केन्द्रीय कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ । टेलिकमको मुख्य शाखाको रुपमा रहेको लेखा शाखालाई धरानबाट अन्यत्र लैजाँदा यहाँका सेवाग्राहीमा नकारात्मक प्रभाव पर्ने समितिको ठहर छ । समितिले नगरलाई मर्माहत पार्ने यो निर्णयका विरुद्ध जस्तोसुकै कदम चाल्नसमेत पछि नपर्ने चेतावनी केन्द्रीय कार्यालयलाई दिएको छ ।सो निर्णय सच्याउन र नगरको अहित हुने निर्णय नगर्न पनि जोडदार माग गरिएको नेपाली काङ्ग्रेसका नगर सभापति तिलक राईले बताए ।

सर्वदलीय समितिमा काङ्ग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा नेपाल, सङ्घीय समाजवादी फोरम, सङ्घीय लिम्बूवान पार्टी, नेकपा क्रान्तिकारी, मङ्गोल नेशनल अर्गनाइजेसन, खम्बूवान राष्ट्रिय मोर्चा, जनजागरण पार्टी नेपाल र राष्ट्रिय जनमोर्चा पार्टी नेपाल छन् । समितिले सूचना तथा सञ्चार मन्त्रालय, टेलिकमको क्षेत्रीय कार्यालय, जिल्ला प्रशासन र प्रमुख राजनीतिक दलका केन्द्रीय, जिल्ला र नगर समितिलाई सो ज्ञापनपत्र बोधार्थ दिएको छ ।