बुगढरी (सुनसरी)/ गिरोहले सुनसरी र मोरङको बीच सिमानामा पर्ने केसेलिया खोलाको पुल र सिङ्गो बस्ती जोखिममा हुने गरी अवैध रूपमा खोलाको माटो (भरौट) उत्खनन् गर्ने गरेको पाइएको छ । दुहबी नगरपालिका–१२ बुगढरी बस्ती र विराटनगर–४ इकराई बस्ती जोखिममा पार्ने गरी अवैध उत्खनन् हुने गरेको हो ।

अवैध उत्खनन् भएको भन्दै प्रहरीले उत्खनन्मा प्रयोग भएको स्काभेटरसहित एक दर्जन माटो बोक्ने सवारी साधन मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले दुहबी नगरपालिका–१२ बुगढरीस्थित केसलिया खोला किनारबाट एउटा स्काइभेटर, ८ वटा ट्रिपर र विराटनगर ४ इकराइबाट अवैध माटो बोकेर गन्तव्यतर्फ गएका चारवटा ट्याक्टरसहित १३ वटा सवारी साधन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

प्रहरीले नियन्त्रणमा लिएको बा.१ क ४९६२ नम्बरको स्काइभेटर रहेको छ । यस्तै को १ ख ५७०९, ना १ क ६२७१, ना १ क ६२६७, ना १ क ६२७०, को १ क २३७२, ना १ क ६२६९, ना १ क ६२६८ र ना १ क ६२६६ नम्बरको ट्रिपर प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीले नियन्त्रणमा लिएको ट्रिपर अवैध उत्खनन गरिएको माटो लोड गरिएको अवस्थामा केसलिया खोला किनार र बाटोबाट पक्राउ गरिएको हो । यस्तै स १ त ५४५३, को २ त ५७०४ र को २ त ७१६८ नम्बरको ट्याक्टर प्रहरीले विराटनगरको इकराईबाट नियन्त्रणमा लिएको छ । प्रहरीले नियन्त्रणमा लिएका सवारी साधन इटहरीस्थित ‘कान्छाराम कन्स्ट्रक्सन कम्पनी प्रालिको’ रहेको खुलेको छ ।

अवैध रूपमा माटो तस्करी गर्ने गिरोहले दुहबी नगरपालिका १२ बुगढरीस्थित केसलिया खोला किनारमा करिब १० देखि १३ मिटरसम्म गहिरा ठूल–ठूला खाडल बनाएर माटो उत्खनन गरेर बेच्ने गरेको पाइएको हो । विराटनगर ( ४ इकराई हुँदै सुनसरी जोड्ने केसलिया खोलाको पुल नजिक अवैध रूपममा माटो उत्खनन गरिएका कारण पुल पनि जोखिम रहेको स्थानियबासी बताउँछन् ।

खोलाको पुल वरिपरि पाँच सय मिटरसम्म उत्खनन गर्न नपाइने मापदण्ड कायम गरिएको छ । तर, अवैध माटो तस्करीमा लागेका गिरोहले पुल र बस्तीलाई जोखिम हुने गरी उत्खनन गरेका छन् । ‘केसलिया खोलादेखि ३ सय १० मिटर उत्तर ठूला ठूला खाडल बनाएर उत्खनन गरिएको पाइयो,’ डिएसपी श्रेष्ठले भने, ‘खोलाबाट अवैध उत्खनन गरिएको सवारीसाधान नियन्त्रणमा लिएका हौं ।’ सुनसरीबाट नियन्त्रणमा लिएको ट्रिपर र स्काइभेटर आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय दुहबी र चारवटा ट्याक्टर मोरङमा पक्राउ गरिएकोले विराटनगर महानगरपालिका पठाएको डिएपी श्रेष्ठले बताए ।

केसलिया खोलाबाट झिकेको माटो उनीहरूले विराटनगर र सुनसरीका विभिन्न स्थानसम्म पु¥याउने गरेको खुलेको छ । प्रहरीले आइतबार नियन्त्राणमा लिएका सावारी साधानले विराटनगरस्थित निर्माणाधीन अवस्थामा रहेकाले नोबेल मेडिकल कलेज पुर्याउने गरेको चलाकहरूले बताए । उनीहरूले केसलिया खोलाबाट झिकिएको माटो विराटनगरको बरगाछी र कञ्चनबारीसम्म प्रति ट्याक्टर ३ हजारदेखि ४ हजार र प्रति ट्रिपरमा ६ हजार रुपैयाँसम्म बिक्री गर्दै आएका छन् । विराटनगर बाहिर पु¥याए महङ्गो मूल्यमा बिक्री हुने गरेको नियन्त्रणमा लिएका सवारीको चालकहरूले प्रहरीलाई बताएका थिए ।

पूरै बस्ती जोखिममा
अवैध उत्खननका कारण खोला किनारमा गहिरा खाडलहरूको निर्माण भएको छ । जुन खोलाको सतह भन्दा पनि करिब १० देखि १३ मिटर गहिरो छ । यसरी अवैध उत्खनन गर्दा बाढीको समयमा सिङ्गो विराटनगर महानगरपालिका र सनुसरीका आसपासका क्षेत्रमा डुबान हुने गरेको छ । गत साउनमा अन्तिम साता आएको बाढीले विराटनगर–६, १२ र १६ नम्बरको बस्तीमा केसलिया खोला पस्दा सयौं घर डुबानमा परेका थिए । अवैध उत्खनन गर्ने समूह प्रभावशाली रहेको कारण सो विषयमा बोल्नसमेत सर्वसाधारण डराउने गरेको छन् ।

खोलाजन्य पदार्थ निकाल्नुअघि प्रराम्भिक वातावरणीय परीक्षण(आई.ई.ई) गरिनुपर्ने कानूनी व्यवस्था छ । सम्बन्धित स्थानीय तहहरूले ठेक्का लगाएपछि मात्र निर्धारित मापदण्डअनुसार खोलाजन्य पदार्थ उपयोग गर्न पाउने नियम रहे पनि ती सबै नियमलाई उल्लङ्घन गर्दै यहाँ अवैध उत्खनन हुने गरेको स्थानीय बताउँछन् । खोला किनारको डिल काटिएको कारण सामान्य बाढी आउँदा केसलिया खोला बस्तीमा पस्ने खतरा हुने गरेको छ । यस अघि गत वैशाखको दोस्रो साता पनि उक्त खोलामा अवैध उत्खनन भएको थियो । उत्खनन बारे विभिन्न सञ्चारमाध्यममा समचार प्रकाशित भएपछि प्रहरीले सोही खोलाबाट अवैध रूपमा उत्खनन गरिरएका ६ वटा ट्याक्टर नियन्त्रणमा लिएको थियो । अहिले पुनः उत्खनन शुरु भएको स्थानीय बताउँछन् । यता विराटनगर महानगरपालिकाका प्रशासकीय अधिकृत एकदेव अधिकारीले खोला किनारको ठूलठूला खाडल बनाएर उत्खनन गर्न नपाइने बताए । अवैध उत्खनन गरेको पाइए कारवाही गरिने उनले बतए ।

२ महिनामा ४६ सवारी कारवाही मा
सरकारले असार, साउन र भदौ गरी तीन महिनाभरि पूर्ण रूपमा खोला उत्खनन गर्न रोक लाएको छ । सरकारले रोक लगाएको बर्खायाममै मोरङको खोलामा व्यापक उत्खनन हुने गरेको छ । मोरङको विभिन्न खोलाहरूमा अवैध उत्खनन भइरहेको अवस्थामा गत साउन र भदौमा ४६ वटा सवारी साधान नियन्त्रणमा लिएको छ । साउनमा ४० वटा र भदौ ८ गतेसम्म ६ वटा गरी दुई मिहनामा ४६ वटा सवारी साधान अवैध उत्खनन गरी ढुङ्गा, गिटी, बालुवा र माटो ओसार्ने क्रममा नियन्त्रणमा लिएको मोरङ प्रहरीका एसपी विश्व अधिकारीले जानकारी दिए । ‘माटो, ढुङ्गा, गिटी र बालुवा अवैध उत्खननले भू–बनोटलाई जोखिममा पारेको छ,’ उनले भने, ‘बढी मुनाफा आर्जन गर्ने उद्देश्यमा लागेको गिरोह पनि सक्रिय छन् । त्यस्ता गिरोहलाई हामीले नियन्त्रणमा पनि लिदै आएका छौं ।’ अवैध उत्खननमा संलग्न सवारी साधनहरूलाई आवश्यक कारवाहीको लागि स्थानीय तह र जिल्ला समन्वय समितिमा बुझाउने गरेको उनले बताए ।

अनुगमन प्रभावकारी नहुँदा जिल्लामा खोला र नदीजन्य वस्तुको अवैध रुपमा उत्खनन रोक्ने प्रयास भने सफल भएको छैन । राती र एकाबिहानै तस्करहरूले मोरङको खोलाबाट बालुवा गिट्टीको अवैद्य चोरी निकासी हुने गरेको छ । बढी चोरी तस्करी हुने केराबारीको खोलाहरूमा अबेर राति प्रहरीको गस्ती नहुने समयमा बालुवा गिट्टीको अवैध उत्खनन हुने गरेको छ । नियमित अनुगमनको अभावमा अवैध काम बढेको भए पनि त्यो रोक्न स्थानीय सरकार भने असक्षम बन्दै आएको छ । त्यसको जिल्ला समन्वय समितिले प्रभावकारी रूपमा अनुगमन गर्न सकेको छैन । जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले आफूहरूले दिएको निर्देशन स्थानीय तहले नमान्ने गरेको गुनासो गरे । नीति र पद्धतिअनुसार खोला उत्खनन गर्न आफूले पटक पटक स्थानीय तहलाई अनुरोध गरेको भए पनि स्थानीय तहले नमान्ने गरेको उनको भनाइ छ । मोरङमा खोलाजन्य वस्तु उत्खननबाट ४० करोड बराबरको राजस्व सङ्कलन हुने गरको जिल्ला समन्वय समितिले जनाएको छ ।