भण्टाबारी/ फलफूल रोप्न बढाउ हात, जनतालाई नेपाली सेनाको साथ भन्ने नाराका साथ सुनसरीको मध्यवर्ती क्षेत्रमा नेपाली सेनाले वृक्षारोपणको थालनी गरेको छ । आइतबार मध्यवर्ती क्षेत्रमा फलफूल वृक्षारोपण कार्यक्रम गर्दै श्री शत्रुभञ्जन गुल्म पश्चिम कुसाहा व्यारेकले वृक्षारोपणको थालनी गरेको गरेको हो ।
उक्त कार्यक्रममा १ नम्बर प्रदेशका उद्योग,वन पर्यटन तथा वातावरण मन्त्री जगदीशप्रसाद कुशियत, प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा, रक्षासचिव रेश्मीराज पाण्डेय, सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेल,पूर्वी पृतना हेडक्वाटरका पृतनापति उपरथी अनन्त कार्की, नम्बर २ बाहनी अड्डाका वाहिनीपति सहायकरथी यामप्रसाद ढकाल लगायतले वृक्षारोपण गर्दै विभिन्न फलफूल तथा आयमूलक बोटबिरुवा रोप्ने कार्यको थालनी गरेका छन् । कार्यक्रममा कोशी टप्पु वन्यजन्तु आरक्ष पश्चिम कुसाहाका वार्डेन रामदेव चौधरी, जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी यज्ञविनोद पोखरेल, व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्र यादव, पूर्व अध्यक्ष रेणु साह, स्थानीय जनप्रतिनिधि, विभिन्न सरकारी निकायका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिसहित सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
श्री शत्रुभञ्जन गुल्म पश्चिम कुसाहा व्यारेकका सेनानी रामचन्द्र श्रेष्ठका अनुसार नेपाली सेनाले हरिपुर मध्यवर्ती क्षेत्रमा आइतबार विभिन्न जातको फलफूल सहित विभिन्न आयमूलक बोटबिरुवा गरी ७५ सय वृक्षारोपणको गरेको बताए । डिभिजन वन कार्यालय सुनसरी, मोरङ उद्योग वाणिज्य सङ्घ, कोशी गाउँपालिकाको कार्यालय सहित विभिन्न क्षेत्रको सहयोगमा वृक्षारोपण कार्यक्रमको थालनी गरिएको बताउँदै सेनानी श्रेष्ठले मध्यवर्ती क्षेत्रमा नेपाली सेनाले १३ बिगाहा क्षेत्रफलमा १३ हजार वृक्षारोपण गर्ने योजना रहेको बताए ।
श्री शत्रुभञ्जन गुल्म पश्चिम कुसाहा व्यारेकका अनुसार मध्यवर्ती क्षेत्रको हरिपुर,पश्चिम कुसाहा,श्रीलङ्का टापुसहितको क्षेत्रमा आँप, कागती, अम्बा, कटहर, अमला गरी फलफूल तथा विविधतर्फ तेजपात, एकासिया, गुलमोहर, खयर लगायतका आयमूलक विभिन्न बोटविरुवा समेत रोपिनेछन् । अहिले रोपिने फलफूल तथ बोटबिरुवाले भविष्यमा मध्यवर्ती क्षेत्रका सर्वसाधारणको जीविकोपार्जनको माध्यम बन्न सक्ने सेनानी श्रेष्ठले बताए । यसरी रोपिने फलफूल तथा बोटबिरुवाको नेपाली सेनाले नै संरक्षण गर्ने उनले बताए । वन्यजन्तु,वनजङ्गलको संरक्षण र सम्वद्र्धन गर्नुको साथै सर्वसाधारणको हित हुने कार्यमा नेपाली सेना क्रियाशील रहेको सेनानी श्रेष्ठको भनाइ छ ।
वृक्षारोपण गर्नु सकारात्मक भएकोले यसको संरक्षण र सम्वद्र्धनमा सर्वसाधारणले समेत सहयोग गर्न आवश्यक रहेको पश्चिम कुसाहा लौकही उपभोक्ता समितिका अध्यक्ष राजकुमार सिंहले बताए । आफूले पनि सकारात्मक कार्यमा व्यक्तिगततर्फबाट ५० वटा फलफूलको बोट सहयोग गरेको बताउँदै सिंहले वृक्षारोपण गरिएको बोटको संरक्षणमा आफूहरूको साथ र सहयोग रहने बताए ।