इटहरी/ सुनसरीको इटहरी २० मा नाबालक बालबालिकाहरूलाई मादकपदार्थ बिक्री गर्न रोक लगाइने भएको छ । पछिल्लो समयमा बालबालिकाहरू सानै उमेरमा बिग्रन थालेको भन्दै होटल तथा पसलहरूमा मादकपदार्थ तथा धुम्रपान मध्यपान बिक्रीवितरणमा रोक लगाइने भएको हो ।

इटहरी वडानम्बर २० ले आयोजना गरेको शान्तीसुरक्षाबारे छलफलमा बालबालिकाहरू बिगँ्रदै गएको भन्दै मादकपदार्थ बेच्दा उमेर समूह हेर्ने भएको हो । इटहरी तथा तरहरा आसपासको क्षेत्रमा सानै उमेरमा भट्टी पसल छिर्नेहरू बढेको भन्दै नाबालक बालबालिकाहरूलाई चुरोट खैनीदेखि अन्य मादक पदार्थ बेच्न नपाइने निर्णय भएको इटहरी–२० का वडाअध्यक्ष मणिराम श्रेष्ठले बताए ।

नेपालीहरूको महान् चाड दीपावलीलाई मनाउदा सामाजिक नियम पालना गर्ने, नाबालकलाई मदिरा बेचबिखान समेत नगर्ने सहमति भएको हो । शान्तिसुरक्षालाई व्यवस्थित गर्ने जुवा तासलगायत अवैध गतिविधिलाई नियन्त्रण गर्नुपर्ने इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी धर्मराज भण्डारीले बताए । समाज सुधार समाजकै नेतृत्वमा हुने भन्दै सबैलाई सचेत रहन कार्यक्रममा आग्रह गरिएको थियो ।