विराटनगर/ प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले सडक दुर्घटनालाई न्यूनीकरण गरी सडक सुशासन कायम गर्न प्रदेश सरकारले योजना बनाएर अगाडि बढेको बताएका छन् ।
सडक दुर्घटना हुने कारण पत्ता लगाएर न्यूनीकरण गर्न प्रदेश सरकार योजनाबद्ध रूपमा अगाडि बढेको मन्त्री कार्कीले बताएका हुन् । आन्तरिक मामिला तथा कानून मन्त्रालयले मङ्गलबार विराटनगरमा आयोजना गरेको ‘सुरक्षित यात्राको लागि सडक सुशासन’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री कार्कीले दुर्घटना न्यूनीकरणमा सबै लाग्नु पर्ने बताए । लगातार बढिरहेको सडक दुर्घटनालाई घटाउन प्रदेश सरकार योजना बनाएर लागि परेको उनको भनाइ थियो ।
‘सडकमा भइरहेका दुर्घटनाले अहिले पनि १७ औं शताब्दीतिरै रहेको देखाउँछ,’ मन्त्री कार्कीले भने, ‘यो राज्यका लागि ज्यादै लज्जाको अवस्था हो । अब यस्तो अवस्थाबाट हामी बाहिर आउनुपर्छ ।’ अबको १० दिनभित्र प्रदेश सरकारले सडक सुशासनका लागि ठोस कार्यक्रम अघि सारेर लागू गर्ने मन्त्री कार्कीको भनाइ थियो । सडक दुर्घटनालाई न्यूनीकरण गर्न सरोकारवालहरूलाई छलफलमा बोलाइएको थियो । सरोकारवालाहरूबाट निस्किएको निश्र्कषलाई कार्यान्वयनमा लैजाने उनले बताए ।
सबैको सहकार्यमा सवारी दुर्घनालाई न्यूनीकरण गरी प्रदेश १ बाट एक खाले सन्देश प्रवाह गरिने मन्त्री कार्कीले बताए । उनले दुर्घटनालाई घटाएर जनताको जीउ, धनको रक्षामा सरकार लागि पर्ने उनले बताए । मन्त्री कार्कीले सवारी चालकलाई जिम्मेवारी र पूर्वाधारहरूलाई व्यवस्थित बनाएर सडक सुशासन कायम गराउन सरकार अगाडि बढेको बताए । यातायात व्यवसायी, यातायात कर्मचारी, उपभोक्ता मञ्च, उद्योग वाणिज्य सङ्घहरू, सामाजिक क्षेत्रका सबै सरोकारवाला उपस्थित कार्यक्रममा मन्त्री कार्कीले छलफलबाट प्राप्त निश्कर्षलाई प्रदेश सरकारले कानूनी रूप दिएर सडकमा लागु गर्ने उनले बताए ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख एसपी भीमप्रसाद दाहालले चालू आर्थिक वर्षको मङ्सिरसम्ममा प्रदेशमा ६ सय १३ वटा दुर्घटना भएकोमा १ सय ४९ जनाको र्दुघटनामा परेर मृत्यु भएको जानकारी दिए । १ सय ४२ जना घाइते भएको उनले बताए । दुर्घटनाको मुख्य कारण चालकको लापरबाही देखिएको एसपी दाहालले बताए । दुर्घटना भएका मध्ये ४६ प्रतिशत चालकको लापरबाही र ४० प्रतिशत सडकको अवस्थाले र अन्य विभिन्न कारणले दुर्घटना भएको उनले बताए ।
सडक सुशासन कार्यदल गठन
आन्तरिक मामिला तथा कानून मन्त्रालय प्रदेश १ का उपसचिव कमलबहादुर थापाको संयोजकत्वमा सुरक्षित यात्राका लागि सडक सुशासन कार्यदल गठन भएको छ ।
मन्त्रालयमा मङ्गलबार एक कार्यक्रमका बीच १६ सदस्यीय कार्यदल गठन भएको हो । कार्यदलको सदस्यहरूमा भौतिक पूर्वाधार विकास मन्त्रालय, यातायात व्यवस्था कार्यालय इटहरी, प्रदेश ट्राफिक कार्यालय प्रमुख, मोरङ प्रशासन, यान्त्रिक कार्यालय इटहरी, सङ्घीय सडक डिभिजन कार्यालय मोरङ, यातायत मजदुर सङ्घ, उपभोक्ता हकहित संरक्षण, प्रदेश पत्रकार महासङ्घ, हिसान, प्याब्सन तथा ऐन प्याब्सनका प्रतिनिधिहरू सदस्य छन् ।
गठित कार्यदलले सडक दुर्घटनासम्बन्धी मुख्य समस्याहरू पहिचान गर्ने, सडक दुर्घटना न्यूनीकरण गर्न अवलम्बन गरिनपुर्ने सुझाब दिने र सरोकारवाला निकायहरूको भूमिकासहित सुझाब कार्यान्वयन कार्ययोजना मन्त्रालयमा १० दिन भित्र पेश गर्ने भएको छ ।