बिर्तामोड/ झापामा केही समाजसेवीको पहलमा बिहीबारदेखि १० रुपैंयाँमा पेटभरि खाना उपलब्ध हुन थालेको छ । व्यवसायी तथा सामाजिक गतिविधिमा सक्रिय प्रविन अग्रवाल, मनोज अग्रवाल, मुकेश अग्रवाल, पुरुषोत्तम अग्रवाललगायतको सक्रियतामा १० रुपैंयाँमा खाना उपलब्ध हुन थालेको हो ।

उनीहरूले बिहानको एक छाक खाना उपलब्ध गराउन थालेका छन् । बिर्तामोडको खड्का कम्पलेक्स छेउमा उनीहरुले शुद्ध शाकाहारी खानाको व्यवस्था गरेका हुन् । बिहानको ९ बजेबाट १२ बजेसम्म खाना उपलब्ध हुने उनीहरूले बताएका छन् । श्रोतले धानेसम्म यो अभियानलाई निरन्तरता दिने उनीहरूको उद्देश्य छ । यो अभियानबाट थोरै आयश्रोत भएकाहरू लाभान्वित हुने अभियन्ताहरूको विश्वास रहेको छ ।

बिहीबार शुरु गरेको अभियानमा न्यून आयस्रोत भएका मात्र नभएर उच्च आयस्रोत भएका स्थानीयवासीले पनि खाना खाएको अभियन्ता मनोज अग्रवालले बताए । उनले अभियानको चौतर्फी चर्चा भएका कारण यसलाई निरन्तरता दिने विषयमा छलफल भइरहेको बताए ।