भापा । झापाको बिर्तामोड नगरपालिका–५ मङ्गलदीप टोलबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध लुकाएर राखेको औषधिको गोदाम नै नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी प्रमुख डिएसपी विजय श्रेष्ठका अनुसार स्थानीय भानुभक्त खरेलको संलग्नतामा सो परिमाणको लागूऔषध भण्डारण गरिएको बताइएको छ । प्रहरीले उक्त टोलबाट बिहीबार नै छापा मारेर लागूऔषधसहित अर्जुनधारा–६ का २५ वर्षीय विनोद घिमिरेलाई पक्राउ गरेको छ ।
घिमिरेको साथबाट प्रहरीले यामाहा कम्पनीको प्र. १–०१–०१३ प ८९०४ नम्बरको मोटरसाइकल र २ वटा मोबाइल फोनसमेत बरामद गरिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार घिमिरे त्यहाँ स्टाफका रूपमा कार्यरत छन् ।
पक्राउ परेका घिमिरेले भानुभक्त खरेलको गोदाम भएको प्रहरीलाई बयान दिएको डिएसपी श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी दिए ।
अनुसन्धान गर्दै जाँदा खरेलको प्रत्यक्ष संलग्नता देखिएको र नियन्त्रणमा लिएको प्रतिबन्धित लागूऔषध उनकै निर्देशनमा भित्रिएको खुलेको श्रेष्ठले बताए । प्रहरीले बिहीबार बिर्तामोड नगरपालिका–५ मङ्गलदीप टोलबाट लागूऔषध बरामद गरेको थियो । दुईवटा कोठा भाडामा लिएर प्रतिबन्धित औषधि कारोबार गर्ने गरेको खुलेको प्रहरीको भनाइ छ । गोदामबाट विभिन्न प्रकारका एक लाख ३ हजार ८ सय क्याप्सुल, एक हजार ८ सय ७० थान इन्जेक्सन ट्रामाडेक्स, एक लाख २४ हजार ५ सय ट्याब्लेट बरामद गरेको जनाएको छ ।
प्रहरी नियन्त्रणमा रहेका २५ वर्षीय घिमिरेले पनि पत्रकारसामु लागूऔषधको मुख्य मालिक भानुभक्त खरेल रहेको बयान दिएका छन् । “म त उहाँ (भानुभक्त) ले जहाँ जहाँ पु¥याउनू भन्नुहुन्छ, त्यहीँ पु¥याउने काम गर्छु, यो सबको मालिक उहाँ नै हो”– पत्रकार सम्मेलनमा घिमिरेले भनेका छन् ।
भानुभक्त एमाले झापाका स्थानीय नेताको रूपमा चिनिन्छन् । उनी मेडिकल व्यवसायी पनि हुन् । उनले अर्जुनधारा–११ नारायणचोकको दङ्गाल मार्केटमा रहेकोे सनलाइट फर्मा नामक फार्मेसी सञ्चालन गर्दै आएको झापा प्रहरीले बताएको छ । राजनीतिक पार्टीको आडमा उनले यस्तो धन्दा चलाउँदै आएको बताइएको छ । प्रहरीले छापा मारेको गोदाम पनि भानुभक्तले नै भाडामा लिएको खुलेको छ । “नियन्त्रणमा रहेका घिमिरेले दिएको बयान र प्रहरीले गरेको अनुसन्धानले पनि भानुभक्त नै लागूऔषधको मालिक रहेको लगभग खुलिसकेको छ”–प्रवक्ता श्रेष्ठले ब्लाष्टसँग भने । भानुभक्त भने फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरी प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् । नियन्त्रणमा लिइएका व्यक्तिलाई भण्डारण, ओसार–पसार र वितरण कसूरमा शुक्रबार नै मुद्दा दर्ता गरी कारबाहीको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।