धरान । मोरङको ग्रामथान गाउँपालिकामा एक वृद्धाको हत्या भएको अवस्थामा आइतबार दिउँसो शव फेला परेको छ ।
मोरङ–सुनसरी सिँचाइ आयोजनाको नहरमा मृत अवस्थामा ग्रामथान गाउँपालिका ७ की ८९ वर्षीया तिलमाया खड्काको शव भेटिएपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । उक्त अनुसन्धानबाट वृद्धाको हत्या छिमेकीले नै गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
हत्या गरेको आरोपमा प्रहरीले ग्रामथान गाउँपालिका ६ का ४० वर्षीया सीता ऋषिदेवलाई पक्राउ गरेको छ । उनको शव रामजानकी मन्दिरको छेउको नहरमा घोप्टिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी प्रवक्ता कोपिला चुडालले जानकारी दिइन् ।
प्रहरीले आरोपित सीताको घरमा खानतलासी गरेको थियो । मृतक खड्काले लगाएको सुनको गहना आरोपित सीताको घरमा फेला परेको उनले जानकारी दिइन् । गहनाको लोभमा हत्या गरेको हुन सक्ने भन्दै प्रहरीले अनुसन्धान थालेको छ ।