जापानको टोेकियो नजिक स्कुले विद्यार्थी बसेको रिसोर्ट हिमपहिरोमा पुरिँदा विद्यार्थीसहित आठ जनाको मृत्यु भएको छ ।

तोचिगी क्षेत्रको नासु भन्ने स्थानमा रहेको रिसोर्टमा उनीहरू रहेका थिए । सरकारी अधिकारीहरुले हिमपहिरोमा कति मान्छे फसेका छन् भन्ने पुष्टि नभएको जनाएको जापानको सरकारी सञ्चारमाध्यम एनएचकेले जनाएको छ ।

आगो नियन्त्रण विभागले ३० भन्दा बढी मानिस घाइते भएको जनाएको छ । हिमपहिरो स्थानीय समय अनुसार ९ बजेर २० मिनेटमा गएको जनाइएको छ ।

जापानीसञ्चार माध्यमहरुले सातवटा स्कुलका ६० भन्दा बढी स्कुले विद्यार्थीहरु बिहान ७ बजे हिम ढलान चढ्न सुरु गरेका जनाएका छन् । जापानको मौषम विज्ञान विभागले उक्त क्षेत्रमा थप हिमपहिरोहरु जानसक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ ।

जापानी प्रधानमन्त्री सिन्जो आवेले विपद्मा परेकाहरुको उद्धार आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् ।