विश्व नम्बर दुई टेनिस खेलाडी सेरेना विलियम्स गर्भवती भएको उनको प्रतिनिधिले पुष्टि गरेका छन् । ३५ वर्षकी अमेरिकी सेरेना झण्डै पाँच महिनाको गर्भवती रहेको अनुमान छ । उनका प्रतिनिधिले पुष्टि गर्नुअघि सेरेनाले स्न्यापच्याटमा ऐनामा देखिएको आफ्नो तस्बिर ‘२० हप्ता’ लेखेर पोस्ट गरेकी थिइन् । उनले त्यो पोस्ट केही समयमा नै हटाएकी थिइन् । गएको जनवरीमा अस्ट्रेलियन ओपन टेनिसको उपाधि जितेर २३ वटा ग्राण्ड सलाम उपाधि जित्ने कीर्तिमान बनाएकी सेरेनाले अब यो सिजनका सबै खेल गुमाउने सम्भावना छ । यसमा तीन ग्राण्ड सलाम फ्रेन्च ओपन, विम्बल्डन र युएस ओपन पनि रहेका छन् । सेरेना आउँदो हप्ता विश्व नम्बर एक बरियतामा फर्किने सम्भावना छ । डब्लुटिएको विशेष बरियता नियम अनुसार उनी एक नम्बर बरियतामा फर्किन लागेकी हुन् । अहिले जर्मनीकी एन्जेलिक्यु करबर विश्व नम्बर एकमा छिन् ।