भोजपुरको रामप्रसादराई गाउँपालिका–२ घोद्लेखानीमा चारजनाको बीभत्स हत्या गरिएको छ । प्रहरीका अनुसार यो घटना शनिबार बिहानको राति भएको देखिन्छ । यो घटना ठ्याक्कै पान्थरको मिक्लाजुङ गाउँपालिकाको झैँ लाग्ने खालको छ । जहाँ एउटा परिवारको मात्रै हैन, दुइटा परिवार पूर्णरुपमा हत्या गरिएको थियो । आततायी किसिमको उक्त घटना निकै समय सबैतिर तातात्तो विषय बनेको थियो । अहिले यस्तै प्रकृतिको घटना हुन पुगेको छ । त्यो बेला हत्यामा संलग्न आफैले आत्महत्या गरेको भनी प्रहरीले निष्कर्ष निकालेको थियो भने यसपटकको घटनामा आत्महत्याको प्रयास गरिएको देखिन्छ । आखिर यो प्रकृतिको घटना किन हुन्छ ? यस्ता अपराध गर्ने मनोविज्ञान के हो ? किन अपराध गर्न मानिस उद्यत् हुन्छन् ? यावत प्रश्नको खोजी चाहिँ आवश्यक देखिँदै गएको छ । अब कानूनभित्र पनि अपराधशास्त्रको जुन अध्ययन भइरहेको छ, त्यसलाई मनोविश्लेषण गर्न जरूरी हुँदै गएको छ ।
यो घटनामा जोडिएका व्यक्तिले चारजनाको बीभत्स हत्यापश्चात् प्रहरीलाई फोन गरी आफूले हत्या गरेको स्वीकारेका छन् । आफै पनि मर्ने प्रयास गरेका छन् । दोस्रो विवाह गरेका राजेन्द्र राईले यस्तो निर्मम घटना कसरी घटाउन पुगे । सामान्य एङ्गलबाट हेर्नेभन्दा पनि यसलाई फरक कोणहरुबाट पनि व्याख्या गर्न जरूरी छ । १४ वर्षीया बालिकासँग विवाह गरेको देखिन्छ । हाल युवतीको उमेर १५ वर्ष मात्रै पुगेको छ । नेपालको विवाहसम्बन्धी कानूनले २१ वर्ष उमेर पुगेको हुनुपर्नेछ भनी व्यवस्था गरेको छ । यस अवस्थामा राजेन्द्रले यसअघि नै अपराध गरिसकेका थिए । किनकि उनको उमेर ३० वर्ष छ भने पत्नी भनिएकीको उमेर नाबालिकै छ । यहाँबाटै पनि अपराधको सुरूवात भइसकेको थियो । यो एङ्गलबाट यहाँ बहस हुँदैन भन्ने हाम्रो बुझाइ हो । बेमेल विवाह र मानसिक साथै शारीरिक यातनाका कारणले गर्दा बालिकाले उनलाई स्वीकार नगरेको देखिन्छ । परिवारले बेमेल विवाहलाई स्वीकार नगर्नु र बालिकामाथि बारम्बार यातना दिनु पनि अपराध थियो । यसमा बालिका तथा उनको परिवार प्रहरीसमक्ष जान सक्थे तर परिवारले यसतर्फ कत्ति पनि ध्यान दिन सकेको देखिँदैन । यो नै पहिलो भूल थियो ।
यस्ता घटनाक्रमहरु नेपाली समाजमा बारम्बार घट्दै आइरहेका छन् । यसमा अपराधशास्त्र के भन्छ ? यस विषयमा प्रहरीको अनुसन्धान टोली के भन्छ ? अनुसन्धानको दायरा कहाँसम्म पुगेर टुङ्गिन्छ, यस्ता प्रश्न चाहिँ गम्भीर बनेर आएका छन् । सामान्य तरिकाले अनुसन्धान गरी अपराधीकरण गर्नेतर्फभन्दा पनि आगामी दिनमा यस्ता घटनाबाट सिकेर अगाडि बढ्ने किसिमको अनुसन्धान आवश्यक भएको छ । यो घटना सामान्य होइन, यो घटना एउटा सिकाइ हो । यस्ता सिकाइहरुबाट प्रहरी र समाजले नै सिकेर अगाडि बढ्न जरूरी छ । अझ आजका किशोरावस्थाका बालबालिकाहरुले यस्ता विषयलाई गम्भीररुपमा लिनुपर्छ । अपराधको प्रकृति र कार्य हेर्दा यहाँ नियत प्रष्ट देखिन्छ । करिब १० दिनदेखि ससुराली बसिरहेका आरोपितले जुन किसिमले हत्या गरी हत्याको जानकारी प्रहरीलाई दिएका छन् । यसमा अपराध गर्ने नियत प्रस्ट देखिन्छ । यसले गर्दा प्रहरीले अनुसन्धान पनि सोही किसिमले अगाडि बढाओस् ।