धरान । धरानमा खुकुरी आतङ्क सिर्जना गर्ने युवाहरूलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ ।
धरान उपमहानगरपालिका १० स्थित भिआरसी चोकमा खुकुरी लिई एक युवालाई आक्रमण गर्ने तीन युवालाई पक्राउ गरिएको इप्रका धरानका डिएसपी प्रकाश जवेगूले शुक्रबारको पत्रकार सम्मेलनमा बताए । गत असार १२ गते को.२० प ७५६३ नम्बरको मोटरसाइकलमा सवार युवाहरूले एक व्यक्तिलाई खेदाई खेदाई खुकुरीले आक्रमण गरेको सिसीटिभी फुटेज सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भएको थियो ।
उक्त घटनामा प्रहरीले धरान १८ का साइमन चौधरी, धरान ११ का २१ वर्षीय प्रशान्त प्रधान र पासाङ शेर्पालाई पक्राउ गरेको छ । उक्त घटनामा उनीहरूले धरान २० का २८ वर्षीय समिर राईलाई खेदी खेदी आक्रमण साथै हातपात गरेको भिडियो दृश्यसामग्री सार्वजनिक भएको थियो ।
डिएसपी जवेगूका अनुसार उनीहरूको साथबाट खुकुरी, हेल्मेट तथा फलामको रड बरामद गरिएको छ । तीनै जना युवाहरू लागूऔषध प्रयोगकर्ता रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । “यो घटना लागूऔषध सेवनसँग जोडिएको पनि देखिएको छ” उनले भने ।