विराटनगर । चक्रवर्ती ब्याज (मिटर) मा नाम कमाएका ‘मन्टु’ भनिने सञ्जयप्रसाद रौनियारले कपाली तमसुक देखाई सर्वसाधारणलाई मुद्दा हाल्ने गरेको पाइएको छ । उनी १६ महिना जेल बसेर हालै निस्किएका थिए ।
पीडित सर्वसाधारणले भने झुठो तमसुकमा कर्जा लिएको देखाई अदालतमा मुद्दा हालिरहेको बताए । सर्वसाधारणबाट करोडौँ असुली गरेको आरोपमा पुर्पक्षका लागि थुनामा पुगेका उनी सफाइ पाई १६ महिनामा जेलबाहिर आएका थिए । जेलबाट रिहा भएलगत्तै मन्टुले साँवा र ब्याज तिर्न बाँकी भएको भन्दै सर्वसाधारणविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा हाल्ने गरेको पाइएको हो । विराटनगर–२ की ५२ वर्षीया मन्जु शर्मालाई प्रतिवादी बनाएर मोरङ जिल्ला अदालतमा गत फागुन १३ गते ‘लेनदेन’ मुद्दा हालेको पीडितले जनाइन् । दुई लाख रुपैयाँको साँवा र ब्याज गरी ३ लाख ९९ हजार रुपैयाँ भराइपाऊँ भन्दै मन्टुले मन्जुविरुद्ध अदालतमा मुद्दा हालेका हुन् । अदालतमा दायर गरेको दाबी रकम आफूले चारवर्षअगि नै तिरिसकेको मञ्जुले बताइन् । उनका अनुसार मन्टुसँग २०७१ साल फागुन २५ गते ५० हजार रुपैयाँ लिएकी थिएँ ।
उनले आफूले ५० हजार दिई दुई लाखको तमसुक बनाएको बताइन् । आफूले २०७७ सालसम्म ३ लाख ५० हजार रुपैयाँ दिएको बताइन् । सोही कर्जा तिर्न विराटनगर–२ को ११ धुर जग्गा पनि बिक्री गरी ऋण चुक्ता गरेको उनले दाबी गरिन् । “ऋण चुक्ता गरेपछि तमसुक बनाएको कागजपत्र मैले मागेको थिएँ । दिन्छु भन्दै मन्टुले आलटाल गरे । ऋण चुक्ता गरेको ५ महिनापछि मन्टु ठगी र आपराधिक लाभ लिएको मुद्दामा जेल गए” मञ्जुले भनिन्, “जेल गएपछि पनि उनको श्रीमतीलाई लिएर कारागारसम्म तमसुक माग्न पुगेको थिएँ । त्यसबेला पैसा दिइसक्नुभयो, कागजपत्र पर्दैन । केही अप्ठ्यारो हुँदैन भनेपछि म ढुक्क भएकी थिएँ । जेलबाट छुटेर आएपछि अदालतमा मुद्दा हालेको रहेछ । अदालतबाट पत्र आएपछि छाँगाबाट खसेजस्तो भएँ”–मन्टुले अदालतमा दायर गरेको फिराद पत्र देखाउँदै उनले भनिन् ।
मन्टुविरुद्ध उजुरी दिने बढ्दै
मन्टुविरुद्ध जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिनेको सङ्ख्या २० पुगेको छ । ठगी गरेको भन्दै मन्टुविरुद्ध जिल्ला प्रशासन कार्यालय मोरङमा गुलजार मियाँ, दिलिपकुमार मण्डल, सङ्गीता कामत, सावित्रा प्रसाईं, बेबी खातुन, रोसनी खातुन, मीना शाक्य, मन्जु शर्मा, गणेश राय, गोपाल राउत, राजेन्द्र चौधरी, अमित यादव, खगेन्द्रकुमार केवट, मोहम्मद साजिद मियाँ, परमेश्वर कामत, दीपककुमार रायले उजुरी दिएको उनीहरूले मङ्गलबार पत्रकार सम्मेलन गरेर जानकारी दिए । मन्टुले पैसा मागेर हैरानी बनाएको र नदिए मुद्दा चलाउँछु भन्दै धम्की दिने गरेको उनीहरूको गुनासो छ । यसअघि १२ जना सर्वसाधारणले प्रशासनमा उजुरी दिएका थिए । हाल थप ८ जनाले उजुरी दिएका हुन् ।
मन्टु जेलबाट छुटेपछि फेरि त्यही पुरानै शैलीमा सर्वसाधारणलाई धम्की दिने, पैसा माग्ने र कानूनी कारबाहीको डर देखाएर त्रास फैलाउने गरेपछि प्रशासनमा उजुरी दिएको मोरङको सुनवर्षी नगरपालिका–४ का अमितकुमार यादवले बताए । “मन्टुविरुद्ध उजुरी दिनेको सङ्ख्या बढ्दै छ । यसअघि १२ जना थिए । अहिले ८ जना थपिएका छन्”–उनले भने । २०७९ जेठ ९ गते मोरङ जिल्ला अदालतका तत्कालीन न्यायाधीश कपिलमणि गौतमको इजलासले मन्टुविरुद्ध दायर भएको ठगी र आपराधिक लाभ मुद्दाबाट सफाइ पाएपछि चिठी पठाएर पैसा माग्ने गरेको सर्वसाधारणको भनाइ छ । पीडितहरूका अनुसार, उनीहरूले पहिल्यै मन्टुलाई साँवा र ब्याज गरी बढी पैसा तिरेर जग्गा फिर्ता लिएका थिए । यसअघि मन्टुबाट पीडित १७ जनाले मोरङ प्रहरीमा ठगी र आपराधिक लाभ मुद्दामा जाहेरी दिएपछि २०७७ मङ्सिर २९ गते पक्राउ परेका थिए ।
२०७७ माघ १३ गते मन्टुविरुद्ध मोरङ अदालतमा मुद्दा दायर भएको थियो । मोरङ प्रहरीको अनुसन्धानबाट पुष्टि भएपछि एक करोड ९२ लाख ८५ हजार २ सय ३६ रुपैयाँ बिगो, दुवै मुद्दामा ७ वर्ष कैदको मागदाबी लिएर मुद्दा दायर भयो । २०७७ माघ २० गते मोरङ अदालतका तत्कालीन न्यायाधीश ईश्वर पराजुलीको इजलासले मन्टुलाई पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएपश्चात् उनी कारागार चलान भएका थिए । मन्टुले भने आफूले बिक्री गरेको जग्गाको पैसा मागेको बताउने गरेका छन् । सर्वसाधारणलाई मुद्दा लगाएको विषयमा मन्टुसँग बारम्बार सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।