धरान । आख्यानकार राजकुमार राईको उपन्यास ‘किवाहाङ’ माथि हङकङमा विमर्श गरिएको छ । मङ्गलबार आयोजित कार्यक्रममा प्रमुख अतिथि डा. पुरण राईले उपन्यास समाजशास्त्रीय दृष्टिकोणबाट अत्यन्त महत्त्वपूर्ण रहेको बताए ।
“उपन्यासमा राजनीति, संस्कृति पक्ष देखाउन खोजिएको छ” उनले भने । किवाहाङ नेपालमा केही महिनाअघि मात्रै विमोचन गरिएको थियो । किवाहाङमा नेपालदेखि हङकङ, बेलायत, मलेसिया, ब्रुनाइलगायतको परिवेशलाई दुरुस्त रूपमा उतारिएको छ । धरानमा धरान रिडर्स ग्रुपले पनि यसअघि विमर्श कार्यक्रम राखेको थियो ।
उपन्यासले लाहुरेको संस्कृति मात्रै नभई नेपालका शासकहरूले लाहुर भर्तीमा गर्ने राजनीतिलाई उजागर गरेको छ । नेपाली राजनीतिमा पनि राम्रैसँग भिजेका आख्यानकारको विषयमा नेपाली महासङ्घ हङकङका उपाध्यक्ष नवीन सुवाहाङले भने, “राजकुमार राई नेपालमा बस्नुभएको भए एउटा पार्टीको मन्त्री भएर भ्रष्टाचार गर्नु हुन्थ्यो होला । राजनीति र देश छोडेर आउनु भएर सामाजिक र साहित्यिक कर्ममा लाग्नुभएको छ । अहिलेसम्म नलेखिएको विषयमा किवाहाङ उपन्यास लेखेर सबै नेपालीको हुनुभएको छ ।”
आख्यानकार राईले साब्लाबुङ साहित्यिक पत्रिका पनि प्रकाशन गर्दै आएका छन् । उनले सोही पत्रिकामार्फत पुस्तकालय अभियान चलाइरहेका छन् । साब्लाबुङको अर्थ नेपालीमा शब्दपुष्प हो । पुस्तकका समीक्षक बज्रकुमार राईले उपन्यास अनुसन्धाता तथा शोधार्थीका लागि उपयोगी हुने बताए । “पुस्तकभित्र धेरै कुराहरू छन्” उनले भने ।
अर्का समीक्षक चन्द्र मादेन आन्छनले लाहुरेहरूले विभिन्न मुलुकमा गरेका सङ्घर्ष तथा भोगाइलाई किवाहाङ पात्रमार्फत बाहिर ल्याएको बताए । उनले नेपाल र ब्रिटिस सरकारले गरेको विभेदलाई मिहिन रूपमा केलाइएको बताए । उनले उपन्यासमा चिनियाँ शब्दहरू र लाहुरेहरूलाई सम्बोधन गरिने नामको प्रयोग गरेकाले प्रयोगधर्मी उपन्यास पनि रहेको बताए ।
उपन्यासकार राईले अहिलेका पाठकहरू धनीगरिब, मायाप्रेम, यौनकुण्ठाहरूमा मात्रै रुचि नराखी आफूले नदेखेको, नभोगेको र नसुनेको विषयहरूमा रुचि राख्ने बताए । उनले साहित्यलाई मनोरञ्जन विलासबाट माथि उठेर लेख्नुपर्ने बताए । सोहीअनुसार नै किवाहाङ आएको उनले बताए ।
“ब्रिटिस गोर्खाहरूको युद्ध इतिहास विश्वले सुनेका, देखेका, लेखेका छन् तर सित्तैमा किन लाहुरेहरूले रगत बगाउनु प¥यो । त्यो कथा लेखिएन” उनले भने, “गोर्खाहरूको जीवन सांस्कृतिक पीडा ब्रिटिस र तात्कालीन नेपाल सरकारले गरेको अमनवीय विभेद शोषण लुकाइएको छ । भावी पुस्ताले पनि बुझून् भनेर लेखेको हुँ ।”
उनले किवाहाङ वर्तमान समयका लागि उपन्यास मात्रै भए पनि भविष्यमा इतिहासको साक्ष्य बन्ने बताए । “ लाहुरेहरूले सात दशक अगाडि नेपालमा समाजिक परिवर्तनमा खेलेको भूमिका लेखिएन । किवाहाङमा गोर्खाहरूको इतिहास मात्र छैन विश्वयुद्ध पछि नेपाललगायत विभिन्न देशका आर्थिक, सामाजिक जनजीवन, युद्ध परेका घाउहरू पनि छ” उनले भने ।
उनले आफूले ७६ लाख खर्च गरी २२ स्थानमा पुस्तकालयका लागि पुस्तकहरू दिएका छन् । उनले १७ लाख जति लेखकहरूबाट पुस्तक सहयोग प्राप्त भएको बताए । कार्यक्रममा साब्लाबुङ पुस्तकालय अभियान र अभिलेखलयले संयुक्त रूपमा हङकङमा रहेर नेपाली समुदायका लागि योगदान गर्ने व्यक्ति तथा संस्थालाई सम्मानित गरेको छ ।
यसक्रममा खेलकुदतर्फ हेम पुन, साहित्यमा रामकृष्ण वान्तवा, स्वास्थ्यमा डा. टीका राना, पत्रकारितामा जगतआम्बु गुरुङ, संस्कृतिमा किरात राई यायोक्खा र वातावरणमा हङकङ नेपाली अल्ट्रा ट्रेल रनिङ सङ्घलाई सम्मानित गरेको छ । यस्तै साबिल पुस्तकालय अभियानले अभियानका सहयोग डोम राना, बिसु सम, राजेन्द्र लिम्बू, कसित राई र गोपाल राईलाई सम्मानित गरेको छ ।
कार्यक्रममा पहिलो पटक हङकङका स्कुल तथा विश्वविद्यालयका विद्यार्थीहरू पनि सहभागी बनेका थिए । कार्यक्रममा साहित्यिककार दाजु गुरुङ र जुनु दिव्य रानाले शुभकामना दिएका थिए । सङ्खुवासभा समाज मूल आयोजक रहेको कार्यक्रममा साब्लाबुङ पुस्तकालय अभियान, लोहोरुङ समाज र हङकङ नेपाली साझा साहित्यक शृङ्खलाको सहआयोजनामा कार्यक्रम गरिएको हो ।