विराटनगर ।  एक अर्ब ३१ करोड ६४ लाख रुपैयाँ मूल्य अभिवृद्धि कर (भ्याट) छली गर्ने विराटनगर–३ का हार्डवेयर व्यवसायी सौरभकुमार बियानी जेल चलान भएका छन् । 

आन्तरिक राजस्व कार्यालय विराटनगरले तोकेको बिगोसहितको धरौटी रकम बुझाउन नसकेपछि सौरभकुमार सोमबार जेल चलान भएका हुन् । उनलाई मूल्य अभिवृद्धि कर ऐन २०५२ को दफा २३ (घ) अनुसार सिधै कारागार चलान गरिएको छ । उनलाई एक अर्ब ३१ करोड ६४ लाख रुपैयाँभन्दा बढीको बिगो कायम गरिएको छ । विराटनगर–३ मा सञ्चालित ‘न्यू सौरभ ट्रेडिङ र बियानी एन्ड ब्रदर्स हार्डवेयर एन्ड मार्बल’ का सञ्चालक बियानी विराटनगर–१० का स्थायीवासी हुन् भने हाल विराटनगर–७ हाटखोलामा बस्दै आएका थिए । 

कर छली गरेको अनुसन्धानबाट खुलेपछि राजस्व विभाग र आन्तरिक राजस्व कार्यालय विराटनगर पक्राउ गर्ने निष्कर्षमा पुगेको थियो । सोही निष्कर्षको आधारमा आन्तरिक राजस्व कार्यालयले बियानीको नाममा थुनुवा पुर्जी जारी गरेको थियो । राजस्व छली गरेको रकम र हुन आउने बिगो रकम बराबरको धरौटी नगद वा जेथा जमानी बुझाउन नसकेपछि उनलाई विभागकै सहमतिमा थुनामा राख्न कारागार पठाइएको हो । यो कारबाही आन्तरिक राजस्व कार्यालय विराटनगरको इतिहासमै पहिलो भएको प्रमुख कर अधिकृत भुपालमान शाक्यले बताए । यसअघि कर छलीका घटनामा कारबाही भएको भए पनि सिधै कारागार चलान गरिएका थिएनन् । उनका अनुसार, सामान्यतया यस्ता प्रकरणमा धरौटीमा छुट्ने गरे पनि यो प्रकरणको गम्भीरता र ठूलो रकमका कारण मूल्य अभिवृद्धि कर ऐन २०५२ को दफा २३ (घ) बमोजिम थुनामा पठाइएको हो ।

उक्त ऐनले धरौटी नराखेमा वा जेथा जमानी नदिएमा पैँतालीस दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न सक्ने अधिकार दिएको छ । आन्तरिक राजस्व कार्यालय प्रमुख शाक्यका अनुसार बियानीले वस्तु तथा सेवाको कारोबार नै नगरी नक्कली भ्याट बिल मात्र जारी गरी राजस्व छली गरेका थिए । “यो एक योजनाबद्ध र सङ्गठित अपराध हो” उनले भने, “फेक कारोबार खडा गर्ने, नक्कली बिल काटेर क्रेडिट दाबी गर्ने र कारोबार ठूलो देखाएर बैङ्कबाट ऋण लिने जस्ता बहुआयामिक अपराध यसमा जोडिएको देखिन्छ ।”

अनुसन्धानका क्रममा तीन आर्थिक वर्ष २०७९÷०८०, २०८०÷०८१ र २०८१÷०८२ को चैतसम्मको अवधिमा उक्त रकम बराबरको छली गरेको पाइएको हो । बियानीले वस्तु नै बिक्री नगरी जारी गरिएको नक्कली विजकको मूल्यमा करिब ८६ करोड रुपैयाँको छली भएको छ । यस्तै झुटा तथा नक्कली कर विजक प्रयोग गरी २२ करोडभन्दा बढीको क्रेडिट दाबी गरिएको छ । यी दुवै छलीको बिगो र त्यसमा लाग्ने शतप्रतिशत जरिवाना जोडेर कुल १ अर्ब ३१ करोड ४६ लाख ९४ हजार ८ सय ६७ रुपैयाँ असुलउपर गर्न माग दाबी गरिएको हो । यो प्रकरणमा एउटा व्यक्ति मात्र नभई ठूलै गिरोह संलग्न भएको राजस्वको आशङ्का छ । “यो घटनाले एउटा ठूलो सञ्जालको पर्दाफास गरेको छ” प्रमुख शाक्यले भने, “अनुसन्धानको दायरा फराकिलो बनाइएको छ र यसमा संलग्न अन्य व्यक्ति तथा फर्महरू पनि चाँडै कानूनको कठघरामा आउनेछन् ।”