धरान । इटहरी उपमहानगरपालिका–५ का वडासदस्य गोपाल गिरी न त धेरै बोलेर चर्चामा आउँछन्, न त प्रचारको पछि लाग्छन् । उनी त काम गरेर जनताको मन जित्न चाहने प्रतिनिधि हुन्—जो आफ्नो भूमिकालाई हैसियत होइन, जिम्मेवारीको रूपमा बुझ्छन् । त्यही भएर उनी वडासदस्य भए पनि चर्चा चुलिँदो छ ।
गोपाल गिरी २०७९ सालको स्थानीय तहको निर्वाचनमा लोकप्रिय मत ल्याएर नेकपा (एमाले) बाट वडासदस्य निर्वाचित भए । प्रतिनिधित्वको पद्दतिभन्दा पनि सेवा प्रवाहको भावनाले उनी चल्छन् । सडक, खानेपानी, बिजुली, सरसफाइ, शिक्षा, स्वास्थ्य—जो साँच्चिकै जनताको आधारभूत आवश्यकता हुन्, गिरिको प्राथमिकता पनि त्यही हो ।
उनले प्रतिनिधित्व गरेको वडामा नागरिकको गुनासो बुझ्ने, दर्ता जाँचदेखि राहत वितरणसम्मका काममा उपस्थिति देखाउने मात्र होइन, समस्या समाधान गर्ने नेताका रूपमा आफूलाई चिनाएका छन् ।
आजको दिनमा धेरै जनप्रतिनिधि सुविधाको पछि लाग्दा उनले सरकारी सुविधाहरू त्यागेर जनतामै फिर्ता गर्ने निर्णय पनि लिएका छन् । भत्ता सरकारी नियमले दिएको भए पनि उनले त्यो खर्च विकासको काममा लगाएर उदाहरणीय बनेका छन् । यस्तो पारदर्शिता र निष्ठाको अनुकरणीय उदाहरण स्थानीय राजनीति र सेवा भावमा दुर्लभ हुन थालेको छ ।
गोपाल गिरीको काम केवल जनप्रतिनिधिका हैसियतसम्म सीमित छैन । उनी विद्यालयहरूमा शैक्षिक सामग्री वितरण, असहायहरूलाई राहत र सहयोग, महिला सशक्तीकरणमा जोड, सफाइ अभियानमा अग्रसर हुँदै आएका छन् । ती काममा उनले उपमहानगरबाट आएको सुविधा खर्च गर्दै आएका छन् ।
उनले सन्देश दिएको छ–‘काम गर्न उच्च पद चाहिँदैन, चाहिन्छ इमानदार मन ।’ यही इमानदारिताले उनलाई इटहरी–५ का घर–घरमा दुःख–सुख साट्ने सारथि बनाएको स्थानीय बताउँछन् ।
समाजसेवा भनेको प्रचारको माध्यम होइन, समाधानको बाटो हो—गिरिले यो सिद्धान्त व्यवहारमै उतारेका छन् । उनी समाजका पीडित, असहाय, आर्थिकरूपले कमजोर व्यक्तिहरूलाई सहयोग पु¥याउन सधैँ तयार हुन्छन् । चाहे त्यो विपद् राहत होस्, स्वास्थ्य सेवा, वा बालबालिकालाई आवश्यक सामग्री—उनको योगदान सबै क्षेत्रमा देखिन्छ ।
वडाको पूर्वाधार विकासमा गोपाल गिरीको विशेष ध्यान छ । सडक, पुल, विद्युत्, सिँचाइ, सञ्चार, यातायात—यी विषयमा उनले सरकारी संयन्त्रसँग समन्वय गरेर स्थानीय स्रोतको अधिकतम् उपयोग र दीर्घकालीन समाधानमा जोड दिएका छन् ।
यो समयमा जब जनप्रतिनिधिमा विश्वास गुम्दै गएको महसुस हुँदैछ, गोपाल गिरीजस्ता प्रतिनिधिहरू त्यस्तो उदाहरण हुन्, जसले लोकतन्त्रको मर्म जनतासम्म पु¥याउँछन् । कुनै सत्ताको आकाङ्क्षामा नभई सेवाको अनुभूतिको आधारमा उनी चलिरहेका छन् । त्यसैले जनताको साथ, विश्वास र सम्मान उनीसँग रहेको उनलाई नजिकबाट चिन्ने स्थानीय काशीनाथ दङ्गाल बताउँछन् ।