विषय प्रवेश
साविकको भरौल गाउँ विकास समिति (गाविस) क्षेत्रमा पर्ने चारकोसे झाडीबाट उत्पत्ति भएको सुनसरीको नदीको नामबाट जिल्लाको नाम राखिएको हो । २०१८ सालअघिसम्म सुनसरीलाई मोरङकै नामले पुकारिन्थ्यो । २०१८ सालपछि मात्रै छुट्टै जिल्लाको रूपमा यसले अस्तित्व पाएको हो । सुनसरी जिल्ला हाल कोशी प्रदेशको १४ जिल्लामध्ये एक हो । जहाँ दुई उपमहानगरपालिका, ४ वटा नगरपालिका र ६ वटा गाउँपालिका रहेका छन् । यही जिल्ला भएर सप्तकोशी नदी बहेको छ । एक हजार २ सय ५७ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको यो जिल्ला समुद्र सतहदेखि १ सय ५२ मिटरदेखि १४ सय ४० मिटरको उचाइमा अवस्थित छ । २०७८ को राष्ट्रिय जनगणनाअनुसार कुल जनसङ्ख्या नौ लाख ३४ हजार ३ सय ६१ रहेको छ । जसमा पुरुषको सङ्ख्या चार लाख ५४ हजार ७५ र महिलाको सङ्ख्या चार लाख ८० हजार ३ सय ८६ रहेको छ । यहाँ धार्मिक, सांस्कृतिक, रामसार, सीमसार, प्राकृतिक तथा मानवनिर्मित पर्यटकीय स्थलहरू रहेका छन् ।
त्यसमध्ये यो लेखमा ओझेलमा रहेका प्राकृतिक पर्यटकीय क्षेत्रको चर्चा गर्ने प्रयास गरिएको छ । पौराणिक तथा आदिमकालदेखि अस्तित्वमा रहे पनि स्थानीय सरकार, प्रदेश तथा केन्द्र सरकारको लापरबाहीका कारण ओझेलमा परेका त्यस्ता पर्यटकीय स्थलको चर्चा गरिएको छ । यो लेखको खास उद्देश्य नै स्थानीय, प्रदेश तथा सङ्घीय सरकारको ध्यानाकर्षण गराउनु रहेको छ । अति विस्तृत हुने भयले यस लेखमा सामान्य मात्रै चर्चा गरिएको छ ।
भताभुङ्गे दरबार
धरान उपमहानगरपालिकाभित्र पर्ने एउटा ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको प्राचीनस्थलको नाम हो, विजयपुरको भताभुङ्गे दरबार । यो दरबारको अस्तित्व लिम्बुवानसँग जोडिन्छ । यसलाई प्राचीन लिम्बुवान राज्यको राजधानीको रूपमा पनि लिइन्छ । राजा पृथ्वीनारायण शाहले वि.सं. १८३१ साउन २२ गते गरेको ‘नुनपानी’ सन्धिसँग पनि यसले तालुक राख्दछ । राष्ट्र एकताको नामका लिम्बुवानीहरूसँग गरिएको सन्धिकै कारण यसले अस्तित्व गुमाएको लिम्बुवान राज्यसम्बन्धी अध्येताहरूले विभिन्न दस्तावेजहरूमा उल्लेख गरेका छन् । मध्यकालीन नेपालको राजनीतिक र प्रशासनिक केन्द्रको रूपमा यसले भूमिका खेलेको थियो । विभिन्न समयमा गरिएको उत्खनन्को क्रममा यहाँ प्राचीन सामग्री तथा संरचना फेला परेको थियो । यसले पनि यहाँको पुरातात्विक महत्वलाई पुष्टि गरेको छ । आजको दिनमा यो क्षेत्र घना जङ्गल रहेको छ ।
यस ठाउँलाई स्थानीय, प्रदेश तथा केन्द्र सरकारले ध्यान दिई पर्यटकीय केन्द्र बनाउन सकिन्छ । त्यसका लागि सरकारहरूले यसको प्रचार–प्रसारलाई व्यापक बनाउँदै यसबाट आयआर्जन गर्ने वातावरण बनाउन सकिन्छ । अर्कोतिर विभिन्न अध्ययन, अनुसन्धान गर्न चाहने अध्येताका लागि पनि यो स्थल उपयोगी हुनसक्छ । उनीहरूलाई आकर्षित गर्नका लागि स्थानीय सरकारले सबैभन्दा बढी चासो देखाउनु उपयुक्त हुन्छ । भग्नावशेष दरबारको अस्तित्वलाई जीवित राख्नका लागि पनि कामहरू गर्न सकिन्छ । तीनवटै सरकारहरूले चाहेको खण्डमा यसलाई ऐतिहासिक पार्क, सङ्ग्रहालय तथा अनुसन्धान केन्द्रको स्थापना गरी यसको महत्वलाई उजागर गर्न सकिन्छ ।
शिवजट्टा
यो पनि धरानको धार्मिक पर्यटकीय स्थलमध्ये एक हो । यो हाल धरान उपमहानगरपालिका–४ मा पर्दछ । धार्मिक ग्रन्थका अनुसार हिन्दू धर्मका आराध्यदेव शिवले सतीदेवीको शव बोकेर भौंतारिने क्रममा सतीदेवीको शरीरको सबै अङ्ग पतन भएपश्चात् शिवजीको चेत खुल्दा आफ्नो शरीर फोहोर पाएकाले उक्त शरीरलाई शिवजट्टाको झरनामा नुहाएको किंवदन्ती रहेको छ । नुहाउँदै जाँदा उनको जट्टा सोही स्थानमा झरेकाले पनि उक्त स्थानलाई शिवजट्टा भनिन थालिएको बताइन्छ । कतिपयले उक्त स्थानलाई शिवकुण्ड पनि भन्ने गरेका छन् । धरान बजारबाट करिब पाँच किलोमिटर उत्तर–पूर्वमा रहेको यो धार्मिक पर्यटकीय स्थल ओझेलमा रहेको छ । हाल यो स्थल जथाभावी पौडी खेल्ने, वनभोज खाने, झरनामा नुहाउने र तस्बिर खिच्ने थलोको रूपमा मात्रै रहेको छ । शिवजट्टामा धार्मिक तीर्थालुका लागि शिवालय मन्दिर पनि निर्माण गरिएको छ ।
शान्त वातावरण, हरियाली तथा सुन्दर दृश्य रहेको उक्त स्थानमा झरना रहेकोे छ । धरानबाट नजिकै पर्ने भएकाले पनि पर्यटकहरूको उपस्थिति हुने सम्भावना छ । तर, त्यसको व्यापक प्रचार–प्रसार गरिएको छैन । आध्यात्मिक तथा धार्मिक पर्यटकलाई आकर्षण गर्न स्थानीय सरकारले यस ठाउँलाई ध्यान केन्द्रको रूपमा विकास गर्न सक्छ । सहरी कोलाहलबाट टाढा रहन चाहने पर्यटकहरूको लागि योगा तथा ध्यान केन्द्रहरू स्थापना गरी यसलाई फरक खालको पर्यटकीय गन्तव्य पनि बनाउन सकिन्छ । यसलाई प्राकृतिक अध्ययन गर्न रुचाउनेहरूका लागि अध्ययन केन्द्र पनि बनाउन सकिन्छ ।
शूलीकोट
धरान उपमहानगरपालिका वडानम्बर २० मा पर्ने शूलीकोट ऐतिहासिक तथा पुरातात्विक हिसाबले पनि महत्वपूर्ण मानिन्छ । सोह्रौं शताब्दीका राजा विजयनारायण रायको पालामा उक्त स्थानमा अपराधीलाई शूली दिने चलन रहेको थियो । विजयनारायणले मुरेहाङ खेवाहाङलाई शूली दिएको इतिहास पाइन्छ । खासमा मुरेहाङ खेवाहाङ बुद्धिकर्ण रायका पुर्खा रहेको विश्वास गरिन्छ । उक्त शूली दिने परम्परालाई सेनहरूले पनि निरन्तरता दिएको अध्येताहरू बताउँछन् । विजयनारायण पराजित भएपछि विक्रम संवत् १६१६ ताकादेखि सेनहरूले शासन गरे । विभिन्न पुस्तकहरूमा पनि शूली अड्डाको चर्चा पाइन्छ । यही कारण पनि यो क्षेत्र प्रख्यात छ ।
महाभारत पर्वतशृङ्खलामा पर्ने भएकाले पनि यो क्षेत्र ओझेलमा परेको छ । यहाँबाट बिहानीको सूर्योदय पनि हेर्न सकिन्छ । शान्त वातावरण भएकाले यो क्षेत्रमा अध्यात्मिक केन्द्रहरू बनाउन सकिन्छ । यस्तै पदमार्गका लागि पनि यस ठाउँलाई प्रयोग गर्न सकिन्छ । धरानबाट करिब ४ घण्टामा पुग्न सकिने भएकाले यसलाई छोटो रुटको पदमार्ग निर्माण गर्न सकिन्छ । अझ यही क्षेत्र नजिकै बौद्ध ध्यान केन्द्र बनेकाले पनि बौद्ध धर्मावलम्बी तथा अन्य धर्मावलम्बीहरू पनि पुगेर अध्ययन गर्न सक्छन् । यही क्षेत्रमा मानेडाँडा पनि अवस्थित छ । त्यहाँबाट हिमशृङ्खलाहरू देख्न सकिन्छ ।
ठिङ्गेढुङ्गा
धरान उपमहानगरपालिकाको ५ नम्बर वडामा पर्ने ठिङ्गेढुङ्गा ऐतिहासिक तथा पुरातात्विक महत्वको स्थान हो । ठिङ्गे ढुङ्गा सेनकालीन तथा किरातकालीन राजाहरूको ऐतिहासिक प्रमाणको रूपमा रहेको विश्वास गरिन्छ । यहाँ ढुङ्गालाई ठाडो पारेर राखिएको छ । ठाडो पारेर राखिएकाले पनि यसलाई बूढापाकाहरूले विगतमा ‘ठिङ्गे ढुङ्गा’ भनी सम्बोधन गर्ने गरेका थिए । यही नाम नै कालान्तरमा अपभ्रंश भई ‘ठिङ्गाबारी’ रहेको अध्येताहरू बताउँछन् । यहाँ मन्दिर पनि बनाइएको छ ।
यसको व्यापक प्रचार–प्रसार तथा प्रवर्धन हुन नसक्दा यसको अस्तित्व नै लोप हुने स्थितिमा छ । यसको पुरातात्विक महत्व नबुझेका कारणले गर्दा पनि यहाँ पर्यटकहरू तथा अध्येताहरू पुग्न सकेका छैनन् । केही सामान्य चर्चापरिचर्चा हुने गरेको भए पनि यसलाई अवलोकन तथा भ्रमण गर्नका लागि पुग्ने गरेका छैनन् । सामान्य रूपमा आन्तरिक पर्यटकहरू पुग्ने गरेका छन् । यसको आदिम महिमालाई उजागर गर्नका लागि वडा तह तथा स्थानीय सरकारले चासो नदेखाउँदा यसको वास्तविक अस्तित्व नै लोप हुने खतरामा पुगेको छ ।
सूर्यकुण्ड
वराहपुराण र हिमवत्खण्डमा कश्यप, प्रजापति र दीतिका छोरा दैत्य हिरण्याक्षले ब्रह्माण्डमा अत्याचार मच्चाई पृथ्वीलाई रसातलमा पु¥याएपछि भगवान् विष्णुले वराह अवतार लिई पृथ्वीको उद्धार गर्न डुल्ने क्रममा सानो रूप धारण गरी आदित्यसरोवर पुग्दा पहिलोपटक सूर्यले वराहको दर्शन गरेको हुँदा यस कुण्डको नाम ‘सूर्यकुण्ड’ रहन गएको विश्वास गरिन्छ ।
सूर्यकुण्डमा एक रात उपवास बसी स्नान गर्ने व्यक्तिले सूर्यलोक प्राप्त गर्दछ भनी वराहपुराणमा उल्लेख पनि गरिएको छ । धार्मिक पर्यटकीय गन्तव्य सूर्यकुण्ड वराहक्षेत्र नगरपालिकामा पर्छ । वराहक्षेत्रको चतरा बजारदेखि करिब ५ किलोमिटर उत्तरमा पर्ने सूर्यकुण्डको चर्चा पुराणहरूमै गरिए पनि आजको दिनमा यसको महŒव नबुझ्दा ओझेलमा परेको छ । सूर्यकुण्डको अर्को नाम आदित्यसरोवर हो । सूर्यकुण्डको महिमा पुराणहरूमा भए पनि यहाँ पर्यटकहरू एकदमै कम पुग्ने गरेका छन् । यसलाई स्थानीय तहले ध्यान दिन सकेमा यसलाई धार्मिक पर्यटकीयस्थल मात्रै हैन, फरक किसिमको गन्तव्य बनाउन सकिन्छ । यहाँ प्राकृतिक मनोरम पनि लिन सकिन्छ । तराईको फाँट, डाँडाकाँडा तथा हिमशृङ्खलाहरू देख्न सकिन भएकाले यसलाई दृश्यावलोकनको हिसाबले पनि प्रचार–प्रसार गर्न सकिन्छ ।
बर्जु ताल
महाभारतमा समेत चर्चा गरिएको बर्जु ताललाई चिमाडी तालको नामले पनि जानिन्छ । १ सय ५२ बिघा क्षेत्रफलमा फैलिएको यो ताल प्राकृतिक ताल हो । यो ताल चराका लागि प्रख्यात छ । यस्तै विभिन्न थरीका माछाका प्रजाति रहेको बताइन्छ । पछिल्लो समय अनावश्यक अतिक्रमणका कारण पनि तालको अस्तित्व गुम्दै गएको छ । यस क्षेत्रलाई प्रवासी चराहरूको बासस्थानको रूपमा लिइन्छ । करिब १ सय प्रजातिका चराहरू पाइने अध्ययनहरूले देखाएको छ । सन् १९६६ मा तालको संरक्षण सुरु गरिएको हो । चराका लागि प्रख्यात मानिने यो सिमसार पछिल्लो समय ओझेलमा परेको छ ।
केही अगाडिसम्म यो क्षेत्रको व्यापक प्रचारप्रसार भए पनि सुनसरीको दक्षिणीक्षेत्रमा पर्ने भएकाले यहाँ पर्यटकहरूको उपस्थिति खासै हुँदैन । चरामा पनि हाँस प्रजातिको चराका लागि उल्लेखनीय मानिन्छ । चराविद्हरू तथा चरासँगसम्बन्धित रहेकाहरू पुग्ने गरेको भए पनि यसको उल्लेखनीय चर्चा हुने गरेको छैन । बर्जु गाउँपालिकामा अवस्थित यो प्राकृतिक ताल हो । शान्त वातावरण भएकाले पनि यहाँ चराहरूको उपस्थिति बाक्लो हुने गरेको छ । चराहरू शान्त वातावरणमा बस्न तथा खेल्न चाहने भए पनि मानवीय अतिक्रमणका कारण अहिले चराहरू उपस्थिति बर्सेनि घट्दै गइरहेको विभिन्न तथ्याङ्कहरूले पुष्टि गरेको छ । विशेषगरी स्थानीयहरूले वनभोजस्थलको रूपमा र मानिसहरूको आवागमनलाई खुला गरिदिएका कारण पनि समस्या छ । यस क्षेत्रलाई चरा अध्ययन केन्द्रको रूपमा विकास गर्नसकेमा चराको विषयमा अध्ययन गर्न चाहनेहरू आइपुग्ने थिए ।
निष्कर्षः
सुनसरीमा धार्मिक मात्रै हैन, ऐतिहासिक, पुरातात्विक र प्राकृतिकरूपमा पनि घुम्नलायक स्थानहरू छन् । तर, ती स्थानहरूको ऐतिहासिक महत्व जे छ, त्यसलाई बढोत्तरी गर्नका लागि स्थानीय सरकारदेखि प्रदेश सरकारसम्मले ध्यान दिन सक्छ । स्थानीय सरकारले ऐतिहासिक तथा पुरातात्विक महत्वको विषयमा बुझेर काम अगाडि बढाउन सक्छ । यसका लागि प्रदेश र केन्द्रीय सरकारले बजेट विनियोजन गर्ने, त्यसको ऐतिहासिक पक्षलाई जोगाउनका लागि विभिन्न कार्यक्रमहरू गर्ने, पर्यटकहरूलाई आकर्षित गर्नका लागि देशविदेशमा प्रचार–प्रसार गर्न सक्छ । हरेक क्षेत्रको उचित संरक्षण, पूर्वाधार विकास, योजनाबद्ध ढङ्गले प्रचार–प्रसार गर्न जरुरी छ । हरेक पर्यटकीय स्थल निर्माण गर्नका लागि आवश्यकताअनुसारको पहुँच बढाउन जरुरी छ ।