विद्यादेवी भण्डारीको राजनीतिमा पुनरागमनको घोषणाले नेपाली राजनीतिमा राम्रै तरङ्ग ल्याएको छ, खासगरी एमालेवृत्तमा यसले एक खालको पक्ष, विपक्षमा तर्क र पृष्ठपोषणको माहौल तयार गर्दैछ भने अध्यक्ष ओलीलाई भने यो निको नलागिरहेको सबैले बुझेकै कुरा हो ।
नेपालको राजनीतिमा विद्यादेवी भण्डारी नाम उनी नेपालको पहिलो महिला राष्ट्रपति मात्रै भएर वा जननेता स्व. मदन भण्डारीको धर्मपत्नी भएकैले मात्रै स्थापित नाम हैन । राजनीतिमा खिचातानी, गुटगत स्वार्थ र विदेशी दलालीको तीतो यथार्थलाई बुझेकी र दशकौं लामो अनुभव बोकेकी व्यक्तित्व भण्डारीलाई राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा पुनः सक्रिय हुनु ठीक हैन भन्ने पक्ष र मुलुकको अहिलेको अवस्थालाई बुझेकाहरुले उनी आउनु ठीक हुन्छ भन्ने तर्कहरु प्रस्तुत भइरहेका छन् ।
विद्यादेवी भण्डारीको राजनीतिक यात्रा नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट सुरू भई उनी जनप्रतिनिधिको रुपमा संसद्मा निर्वाचित भई सरकारमा रक्षामन्त्रीसमेत भइसकेकी व्यक्तित्व भएकीले उनी राजनीतिमा महिलाको सशक्त भूमिका र उपस्थितिको पक्षधर पनि हुन् । तर राष्ट्रपति पदको कार्यकालमा भने उनको भूमिका विवादरहित भने रहेन । संविधानतः राष्ट्रपति स्वतन्त्र र निष्पक्ष रहनुपर्छ भन्ने मान्यतालाई चुनौती दिने गरी उनले तत्कालीन नेकपा नेतृत्वको पक्षमा निर्णयहरु गरेको आरोप पनि नलागेको हैन । विशेषतः प्रतिनिधिसभा विघटन र संवैधानिक नियुक्तिहरुका सन्दर्भमा उनको भूमिकाले उनको निष्पक्षताको धारणा धुमिल बनाएको यथार्थ कसैले बिर्सेका छैनन्, जसरी उनले नागरिकता विधेयकमा अडान लिइन्, त्यसैगरी एमालेको उक्साहटमा गरिएका निर्णयहरुमा पनि उनको अडान हुनुपथ्र्यो तर त्यो हुन सकेन ।
अब प्रश्न उठ्छ– यस्तो पृष्ठभूमिमा उनी पुनः प्रत्यक्ष राजनीतिमा फर्किनु उपयुक्त होला ? उनको पक्षमा तर्क गर्नेहरुले उनलाई एक अनुभवी नेतृको रुपमा लिने गरेका छन् र उनको सङ्गठन निर्माण, राजनीतिक निर्णय क्षमता र जनसम्पर्क सञ्जाल बलियो हुनुको साथै महिला नेतृत्वको सशक्त उदाहरणका रुपमा उनी अझै प्रेरणादायी बन्न सक्छिन् भन्ने भनाइ हुनुका साथै अहिलेको राजनीतिक अस्थिरता, नेतृत्वको कमी र दिशाहीनताका बीच अनुभवी नेतृको भूमिका निर्वाह हुन्छ भन्ने विश्वास लिएको देखिन्छ । यदि उनी एकपक्षीय लगावबाट टाढा हु“दै र पारदर्शीका साथै सबैलाई समेट्ने हिसाबले आउने हो भने उनको पुनः आगमन मुलुकको योगदानमा उपयोगी हुनसक्छ ।
नेपालको लोकतन्त्र र गणतन्त्र गलगा“ड बन्दै गइरहेको यो क्रममा राजनीति व्यक्तिकेन्द्रित नभई मुलुकको हावापानी र माटो सुहाउ“दो विचार एवम् सिद्धान्तलाई आत्मसात गर्न आवश्यक छ । यदि भण्डारी निष्पक्ष, लोकतान्त्रिक र समावेशी राजनीतिक मूल्यमा समर्पित भएर फर्किन चाहन्छिन् भने त्यसलाई पूर्णतः निषेध गर्न मिल्दैन। तर, यदि त्यो पुनः सत्तामा पुग्ने साधन र आफ्ना आसेपासेलाई मात्र पोस्ने गरी आउने हो भने ‘जुन जोगी आए पनि कानै चिरेको’ उखान चरितार्थ हुनेछ र यस्तै गर्नका लागि आउने हो भने पूर्व राष्ट्रपतिज्यू, तपाईं खोपीमै आराम गरे बेस ।