विराटनगर । नक्कली प्रहरी बनेर अपहरणशैलीमा लुटपाट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आफूलाई प्रहरीको रूपमा चिनाउने गिरोहले असार ११ गते बिहान विराटनगर–१३ को महतो टोलबाट विक्रमकुमार साहलाई अपहरण गरी नगद लुटपाट गरेका थिए ।
मोरङ प्रहरीका अनुसार अपहरण र लुटपाटमा संलग्न समूहका दुई सदस्यलाई आइतबार पक्राउ गरिएको छ । पक्राउ पर्नेमा विराटनगर–८ का २४ वर्षीय समीर हुसेन र विराटनगर–६ का २५ वर्षीय आसिफ अन्सारी रहेका छन् । घटनामा संलग्न तेस्रो व्यक्ति भने फरार छन् ।
प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालका अनुसार तीन जनाको समूहले महतो टोलबाट अपहरण गरेर विक्रमलाई आँखा अस्पताल छेउ हुँदै रेल–वे लाइनतर्फ लगेको थियो । त्यहाँ पुर्यारएर उनीसँग रहेको ३ लाख ६४ हजार रुपैयाँ लुटिएको अनुसन्धानबाट खुलेको छ । साहले उक्त रकम बैङ्कमा मौज्दात गर्न लैजाने क्रममा बीच बाटोमै रोकेर जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएका ‘प्रहरी हौं’ भन्दै विराटनगर–१४ जतुवास्थित एकान्त ठाउँमा पु¥याएर लुटपाट गरेको प्रहरीले जनाएको छ ।
घर फर्कंदै गर्दा बाटैमा ‘प्रहरी हौं’ भन्दै समातिएको र ‘पछाडि फर्केर हेरेमा मारिदिन्छौं’ भन्दै धम्क्याएर रकम लुटिएको विक्रमले बताएका छन् । प्रहरीले लुटपाटमा प्रयोग गरिएको को. १४ प ३३३० नम्बरको रातो स्कुटर पनि बरामद गरेको छ । पक्राउ परेका दुवैमाथि शरीर बन्धक र डाँका गरेको कसूर मुद्दामा कारबाही प्रक्रिया अघि बढाइएको र फरार अभियुक्तको खोजी भइरहेको प्रहरीले जनाएको छ ।