यो वर्ष ‘धान बालीमा सघनताः खाद्य सुरक्षा र आत्मनिर्भरता’ नाराका साथ राष्ट्रिय धान दिवस मनाइएको छ । असार १५ मा धान दिवस मनाउने चलन छ । २०६२ साल असार १५ गतेबाट राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । यसैको निरन्तरता स्वरुप धान दिवस मनाइएको हो । कृषिप्रधान देशमा धान दिवस मनाउनुलाई सकारात्मक रुपमा लिनुपर्छ । धान दिवसले कृषकमा जागरूकता आउँछ र कृषिप्रति थप दत्तचित्त हुन्छन् भन्ने विश्वास लिइएको छ । असार १५ का दिन अर्थात् दहीचिउरा खाई मनाउने पर्वका दिन धान दिवस मनाउनुको गहिरो अर्थ छ । तर यो अर्थलाई राज्यले कसरी लिएको छ ? सरकारले कसरी सम्बोधन गरेको छ ? धान दिवसको सार्थकता कत्तिको पुष्टि भएको छ ? यी तमाम प्रश्नको जवाफ भने खोज्ने बेला आउँदै छ । 

सरकारले किसानलाई समयमा मल दिन नसकेको विषयले ठूल्ठूला समाचार बनिँदै आएका छन् । यता सरकारले नै राष्ट्रिय धान दिवस मनाउने गर्दछ । तर कृषकलाई चाहिने अति आवश्यकीय चिज ‘मल’ हरु चाहिँ उपलब्ध गराउन सक्दैन । अर्कोतिर सिँचाइको उस्तै समस्या छ । कृषि औजारहरुको अवस्था उस्तै छ । हामी न त आधुनिक हुन सकेका छौँ, न त परम्परागत नै । अर्ध युगमा बाँचिरहेका छौँ । जसले गर्दा हाम्रो खेतीपाती प्रणाली परम्परागतभन्दा माथि उठ्न सकेको छैन । नेपालमा कृषि क्रान्तिविना सम्भव छैन भन्ने विषयमा सरकार सचेत हुन आवश्यक छ । अहिले पनि ६० प्रतिशतभन्दा बढी नागरिकहरु कृषिमा निर्भर छन् । यो आँकडा प्रत्यक्ष निर्भरको हो । अनौपचारिक रुपमा निर्भर हुनेको सङ्ख्या योभन्दा बढी छ ।

कृषकको समस्यालाई सम्बोधन गर्न नसक्नुमा सरकारको सबैभन्दा बढी दोष देखिन्छ । कृषकले फलाएको अन्नको उचित मूल्य पाउन सकिरहेका छैनन् । चैते धानको अवस्थालाई हेरे पुग्छ । किसानले सरकारले तोकेअनुसारको समर्थन मूल्य पाउन सकेका छैनन् । सरकारले तोकेको मूल्य र बजारमा पाउने मूल्यमा आकाशपातालको फरक छ । यस्तो अवस्थामा सरकार कहाँनेर छ भनेर स्वभाविकै प्रश्न उठ्छ । कृषकले आफूले फलाएको अन्नको उचित मूल्य नपाउने हो भने सरकार हुनुको अर्थ छैन । सरकारले तोकेको समर्थन मूल्यको अवस्था के छ भनेर निगरानी तथा अनुगमन नगर्ने हो भने के अर्थ भयो र ? सरकारले आफ्नो संयन्त्रको विकास नगर्ने हो भने यस्तो नाटकको आवश्यकता नगरेकै राम्रो । यस कारण पनि राष्ट्रिय धान दिवसको औचित्य कति छ भन्ने प्रश्न स्वभाविकै छ । धान दिवस तब मात्रै सार्थक हुन्छ, जब कृषकले भनेजस्तो मूल्य पाउँछन् । अन्न बेच्न पाउँछन् र भनेको समयमा मल पाउँछन् । सिँचाइ पाउँछन् । यो अवस्था सिर्जना गर्न नसक्ने सरकारले राष्ट्रिय धान दिवस मनाउनुको अर्थ के र अनर्थ के ?