इटहरी । सुनसरी, मोरङ र झापाका कर्मचारी, जनप्रतिनिधि र सर्वसाधारणबाट १० करोड रुपैयाँभन्दा बढी ठगेर बेपत्ता छैटौं तहकी अधिकृत सस्मिता लुइटेललाई इटहरी उपमहानगरले एक वर्षे बेतलबी बिदा स्वीकृत गरेको पाइएको छ ।
ठगीका विभन्न घटना सार्वजनिक भइरहेका बेला यही असार ९ गते बसेको १४५ औं कार्यपालिका बैठकले लुइटेललाई विना पारिश्रमिक एक वर्षसम्मको बिदा स्वीकृत गरेको हो । लुइटेलले एक महिनाअघि बिरामी भएको भन्दै इमेलमार्फत् बिदा स्वीकृतिका लागि दिएको निवेदनलाई कार्यपालिकाले सदर गरेको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत मीनबहादुर भट्टराईले जानकारी दिएका छन् ।
नगर प्रमुख हेमकर्ण पौडेलको अध्यक्षतामा बसेको बैठकमा सम्पर्कविहीन बनेकी कर्मचारी लुइटेल बिरामी भई बिदाको माग भएको हुँदा सोही बमोजिम एक वर्षसम्म बिदा दिनुपर्ने प्रस्ताव पेश भएको थियो । प्रस्तावलाई कार्यपालिकाको बहुमत सदस्यले पारित गरेपछि लुइटेलको बिदा स्वीकृत भएको हो । इमेलमार्फत् बिरामी भएको र बिदा माग गरेपछि निजामती कर्मचारीले पाउने सेवा सुविधा अन्तर्गत नै बेतलबी बिदा प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत भट्टराईले बताए ।
गत २०८१ भदौ ६ गते अर्जुनधारा नगरपालिकाबाट इटहरी उपमहानगरमा सरुवा भई आएकी छैटांै तहकी अधिकृत सस्मिता लुइटेल जनप्रतिनिधिदेखि कर्मचारीलगायत सर्वसाधारणबाट करोडौँ रकम ठगेर फरार भएकी हुन् । उनी उपमहानगरको अतिरिक्त विभागमा कार्यरत कर्मचारी हुन् । उपमहानगरको वडा नं. १७ र २० मा वडासचिवको भूमिका निभाइसकेकी लुइटेल सुनसरी सोनापुरकी स्थायी बासिन्दा हुन् ।
रोकिएन उजुरी
सुनसरी, मोरङ र झापामा ३९ जनाभन्दा बढीले सस्मिताविरुद्ध ठगीसम्बन्धी उजुरी दिएको सम्बन्धित प्रहरी कार्यालयहरूबाट बुझिएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख एसपी राजन लिम्बूका अनुसार पछिल्लो समय थप तीन जनाले लिखित उजुरी दिएका छन् । उनीहरूको नाम भने गोप्य राखेको एसपी लिम्बू बताउँछन् । लुइटेलबाट ठगिनेहरूको सूची निकै लामो रहेको प्रहरीले जनाएको छ । अहिलेसम्म प्रत्यक्ष ५४ जना सम्पर्कमा आइसकेको एसपी लिम्बूले बताए । फरार रहेकी लुइटेलविरुद्ध २ महिनाअघि नै झापा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भइसकेकोले उनको खोजी भइरहेको पनि उनले बताए । लुइटेलले झापाबाट मात्रै ६ करोड बढी ठगेर फरार भएको प्रहरीले जनाएको छ ।
लुइटेलविरुद्ध सुनसरी, मोरङ र झापाबाट बेग्लाबेग्लै मितिमा पक्राउ पुर्जी जारी भइसकेको छ । झापा जिल्ला अदालतबाट फागुन दोस्रो साता नै पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । लुइटेलबाट ठगिएको भन्दै कार्यालयमा उजुरी परेपछि छलफलका लागि पटक–पटक बोलाउँदा पनि उपस्थित नभएपछि झापा जिल्ला अदालतबाट फागुन दोस्रो साता पक्राउ पुर्जी जारी गरी उनको खोजी कार्यमा प्रहरी जुटेको हो । त्यस्तै जिल्ला अदालत मोरङबाट पनि लुइटेलविरुद्घ जेठ २२ गते पक्राउ पुर्जी जारी भएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार लुइटेलविरुद्ध पक्राउ पुर्जी जारी भएलगत्तै उनको खोजी कार्यमा प्रहरी जुटे पनि अहिलेसम्म पत्ता लाउन सकेको छैन ।
फरार लुइटेलविरुद्ध जिल्ला अदालत सुनसरीबाट पनि गत असार ९ गते पक्राउ पुर्जी जारी भएको छ । पुर्जी बोकेर लुइटेललाई समात्न ४ पटकसम्म घर पुगे पनि भेट्टाउन नसकेको प्रहरीले जनाएको छ ।
पक्राउ गर्न गएको प्रहरी अन्ततः रित्तै फर्किएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सुमनकुमार तिम्सिनाले बताए । पक्राउ पुर्जी जारी भएलगत्तै दिनमा २ पटकसम्म प्रहरी पठाएको तर घरमा नभेटिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।