धरान/काठमाडौँको साहित्यपोस्ट डटकमले नवप्रवेशी कवि, लेखकलाई लक्षित गर्दै आएको तीनवटा पुरस्कार प्रदान गरेको छ । 

साहित्यपोस्ट आख्यान पुरस्कार यसपटक बालिका वान्तवाको उपन्यास ‘प्याउलीले पाएको छ । यस्तै कवि आर्यशको कवितासङ्ग्रह ‘म तिमी आउनुभन्दा अघि नै गइसकेको थिएँ’ लाई ‘साहित्यपोस्ट काव्य पुरस्कार’ प्रदान गरिएको छ । साथै गैर आख्यान पुरस्कार भने रमेश भुसालको नियात्राकृति छालबाटोलाई प्रदान गरिएको छ ।

उनीहरूले जनही ५० हजार रुपैयाँ राशिसहित प्रमाण पत्र पाए । उपन्यासकार बान्तवाले आफूले प्राप्त गरेको रकम साहित्यिक संस्था सम्भव समूहलाई प्रदान गरेको छ । 

उनले आफूले प्राप्त गरेको पुरस्कारलाई खुसीको रूपमा बाँडेको बताइन् । उनले आफ्नो लेखनयात्रालाई आत्मबल पनि बढाएको बताइन् । सम्भव समूहका कवि उत्तम तुम्छा लिम्बूले लेखकको तर्फबाट पुरस्कार प्राप्त गरे । यही आइतबार काठमाडौँमा कार्यक्रम गरी पुरस्कार प्रदान गरेको हो । 

पुरस्कारहरूको घोषणा क्रमशः प्रा.डा. सनतकुमार वस्ती, गोपी मैनाली र महेश पौड्यालले गरेका थिए । साहित्यपोस्टका प्रधान सम्पादक अश्विनी कोइराला तथा पुरस्कार प्रायोजक चैतन्य अधिकारी र विनयकुमार भण्डारीले संयुक्त रूपमा प्रदान गरेका थिए ।