विराटनगर । सुनसरीको दुहबी नगरपालिका–१२ पूर्वकुशाहा सिसुवामा अवस्थित एकता ज्ञान मैथिली आधारभूत विद्यालयमा विद्यालय सहयोगी नियुक्तिमा शैक्षिक योग्यता नपुगेको व्यक्ति नियुक्ति गरेको खुलेको छ ।

विद्यालय व्यवस्थापन समितिका सदस्य रविन यादवकी श्रीमती दुर्गा यादवलाई न्यूनतम् शैक्षिक योग्यताविपरीत नियोजित चलखेलमा नियुक्त गरेको पाइएको हो । विद्यालयले जेठ २२ गते विद्यालय सहयोगी पदका लागि सार्वजनिक सूचना जारी गर्दै न्यूनतम् शैक्षिक योग्यता कक्षा ८ उत्तीर्ण अनिवार्य गरेको थियो । तर, कक्षा १२ उत्तीर्ण गरेका चार जना योग्य उम्मेदवारलाई पाखा लगाएर एसएलसीमै फेल भएकी दुर्गा यादवलाई नियुक्त गरिएको छ ।

असार १४ गते दुहबी नगरपालिका–५ स्थित स्रोत केन्द्र सरस्वती माध्यमिक विद्यालयमा विद्यालय सहयोगी पदका लागि लिखित परीक्षा सञ्चालन गरिएको थियो । उक्त परीक्षामा पाँच जना सहभागी भएका थिए, जसमा कक्षा १२ उत्तीर्ण प्रीति राजवंशी, राधिका यादव, किरण यादव र भागेश्वर यादवले पनि परीक्षा दिएका थिए ।

तर, अन्तिम नतिजामा दुर्गा यादवको नाम एक नम्बरमा निकालेर अन्तरवार्तामा सहभागी गराई नियुक्त गरिएको हो । पीडित उम्मेदवारहरूका अनुसार, पहुँचको भरमा पूर्व योजनाअनुसार सेटिङ गरेर परीक्षाअघि नै प्रश्नपत्र दिइएको थियो ।

अख्तियारमा उजुरी
योग्य उम्मेदवारहरूलाई पाखा लगाएर विद्यालय व्यवस्थापन समितिका सदस्यको श्रीमतीलाई नियुक्त गरिएको विरुद्धमा पीडित अन्य उम्मेदवारहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा उजुरी दिएका छन् । असार १७ गते उनीहरूले विद्यालय सहयोगी नियुक्तिविरुद्धमा आवश्यक छानबिन गरी दोषीलाई कारबाही गरिनुपर्ने माग राख्दै उजुरी दिएका हुन् । 
उजुरीमा उनीहरूले दुहबी नगरपालिकाको शिक्षा शाखाले मिलेमतोमा योग्य उम्मेदवारलाई पाखा लगाएर अयोग्यलाई नियुक्त गरेको आरोप लगाएका छन् ।

प्रमाण–पत्रसमेत नक्कली भएको आशङ्का
दुर्गा यादवले पेश गरेको कक्षा १० को शैक्षिक प्रमाण–पत्रसम्बन्धी गम्भीर प्रश्न उठेका छन् । उनले पेस गरेको टेष्ट परीक्षा उत्तीर्णको प्रमाण–पत्रमा २०६७ सालको मिति उल्लेख गरिएको छ । तर, सोभन्दा अगावै राष्ट्रिय परीक्षा बोर्डले टेष्ट परीक्षा प्रणाली हटाएर सिधै एसएलसी परीक्षा लागू गरिसकेको थियो ।

यस आधारमा प्रमाण–पत्र नक्कली भएको आशङ्का गर्दै पीडित उम्मेदवारहरूले छानबिनको माग गरेका हुन् । उनीहरूको भनाइमा, “नक्कली प्रमाणपत्र पेस गरेर सार्वजनिक पदमा नियुक्त हुनु आपराधिक कार्य हो, यसको पूर्ण छानबिन हुनुपर्छ ।”

विद्यालयका प्रधानाध्यापक उर्मिलाकुमारी यादवले भने प्रक्रिया पूरा गरेर नियुक्त गरिएको दाबी गरेकी छन् । उनले भनिन्, “विद्यालय सहयोगी पदमा नगरपालिकाको निर्देशनमा प्रक्रिया पूरा गरेर नियुक्त गरिएको हो । विस्तृत जानकारी नगरपालिकाबाट लिनुपर्छ ।”

दुहबी नगरपालिकाको शिक्षा शाखाका सहायक प्राविधिक सन्तोष तिम्सिनाले पीडित उम्मेदवारहरूको आरोप अस्वीकार गरे । उनले भने, “निष्पक्ष रूपमा परीक्षा सञ्चालन गरिएको हो । टेष्ट परीक्षा पास गरेको प्रमाणसहित योग्य व्यक्तिलाई नियुक्त गरिएको छ ।” तर, उनले टेष्ट परीक्षा प्रणाली हटाइसकेको विषयमा कुनै स्पष्ट उत्तर दिन सकेनन् । कक्षा ४ सम्म पठन–पाठन हुने सो विद्यालयमा हाल १ सयजना विद्यार्थी अध्ययनरत छन् ।