धरान/ पछिल्लो समय नेपालमा स्तन क्यान्सरको जोखिम तीव्र गतिमा बढ्दै गएको देखिन्छ । विशेषगरी पाठेघरपछि महिलाहरूमा स्तन क्यान्सरको सम्भावना उच्च रहेको क्यान्सर विशेषज्ञ डा. शारदा खड्का बताउँछिन् ।
उनका अनुसार जीवनशैली, खानपानमा हुने परिवर्तन तथा जाँचप्रतिको लापरबाही स्तन क्यान्सरको मुख्य कारण बन्न पुगेका छन् । “महिनामा दुईपटक मात्रै नियमितरूपमा स्तनको स्वपरीक्षण गरे क्यान्सरको जोखिम धेरै हदसम्म घटाउन सकिन्छ”–बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी चिकित्सकसमेत रहेकी डा. खड्काले भनिन् ।
स्तन महिलाको सौन्दर्य, मातृत्व र सामाजिक भावना अभिव्यक्त गर्ने अङ्ग हो । तर स्तनको आकार वा बनावटमा आएको सामान्य परिवर्तन पनि स्वास्थ्यका लागि सङ्केत हुनसक्छ । डा. खड्काका अनुसार कुनै गाँठो, गिर्खा वा स्तनको छालामा परिवर्तन देखिएमा तुरुन्तै जाँच गर्नु जरुरी हुन्छ । क्यान्सर भन्ने बित्तिकै डराउने प्रवृत्तिले धेरै महिलालाई उपचारबाट टाढा राखेको छ ।
बढ्दो क्यान्सर दरः एक सयजनामा ८ जनालाई देखिने समस्या
प्रतिष्ठानका डा. खड्काले अहिलेसम्म करिब २५ सय स्तन क्यान्सरका बिरामीको उपचार गरिसकेकी छन् । उनका अनुसार परीक्षण गरिएका एकसय महिलामध्ये झन्डै ८ जनामा क्यान्सर पत्ता लाग्ने गरेको छ । स्तन क्यान्सरको जोखिम ३० वर्षभन्दा मुनिका महिलामा तुलनात्मक रूपमा कम भए पनि १७ वर्षकी किशोरीमा समेत क्यान्सर देखिएको अनुभव उनले सुनाइन् ।
स्तन क्यान्सरका चार चरण हुन्छन् । पहिलो चरणमा उपचार गरिएमा ९०–९५ प्रतिशत बिरामी पूर्णरूपमा निको हुने सम्भावना रहन्छ । दोस्रो चरणमा यो दर ८० प्रतिशत, तेस्रो चरणमा ६० प्रतिशत र अन्तिम चरणमा २० प्रतिशत मात्रै हुने उनले बताइन् । ‘क्यान्सर पत्ता लागेपछि ३ महिनाभित्र उपचार सुरु गर्नसके धेरैजसो अवस्थामा स्तन बचाएर उपचार सम्भव हुने उनको भनाइ छ ।
घडीको दिशामा स्तनको स्वपरीक्षण गर्नुहोस्
स्वास्थ्य सचेतनाका लागि उनले सुझाएकी छन्, “महिलाहरूले हरेक महिना घडीको १२, ३, ६ र ९ बजेको दिशामा चार औंलाको सहायताले स्तनको स्वपरीक्षण गर्नुपर्छ । यसले प्रारम्भिक लक्षण पहिचान गर्न सहयोग गर्छ ।”
उपचारका लागि भारत जानु नपर्ने
क्यान्सरको उपचारका लागि धेरै नेपाली महिलाहरू जानकारीको अभावमा भारत पुग्ने गर्छन् । तर धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै स्तन क्यान्सरको गुणस्तरीय उपचार सम्भव भएको डा. खड्काले बताइन् ।
“हामीकहाँ सरकारी शुल्कमै आधुनिक प्रविधिबाट उपचार उपलब्ध छ । तर प्रचारको अभावमा धेरै बिरामी महँगो खर्च गरेर निजी अस्पताल वा विदेश जान बाध्य छन्”–उनले भनिन् ।
क्यान्सरपछि मातृत्व सम्भव छ ?
धेरै महिलाको जिज्ञासा हुन्छ — “क्यान्सरपछि बच्चा पाउने सम्भावना हुन्छ कि हुँदैन ?” यसबारे डा. खड्काले भनिन्, “उपचारपछि २–३ वर्षको समयपछि स्वास्थ्य अवस्था हेरी डाक्टरको सल्लाहअनुसार गर्भधारण गर्न सकिन्छ ।”
स्तन क्यान्सरको उपचार नेपालमै सम्भव छ । तर यसको लागि समयमै जाँच, जानकारी र चेतनाको आवश्यकता छ । आफू र आफ्नो शरीरप्रति सजग बन्ने र नियमित स्वपरीक्षण गरे क्यान्सरको जोखिम कम गर्न सकिने उनको भनाइ छ ।