धरान । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईको श्रमदाताको रूपमा गई धरान १६ की एक बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एकजनालाई सार्वजनिक गरेको छ । 

इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जवेगूका अनुसार ४९ वर्षीय खजिन्द्र राईलाई पक्राउ गरी शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । उनी धरान १७ निवासी हुन् । उनले गत वैशाख १७ गतेका दिन बहुभाषिक पाठशालामा श्रमदान गर्न गएको समयमा १३ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोप छ । 

श्रमदाताको रूपमा रहेका उनलाई श्रमदानमै सहभागी हुने केही पक्षले बचाउन खोजेको आरोप समेत लागेको छ । पीडित पक्षले बुधबार इलाका प्रहरी कार्यालय धरानमा चार जनाविरुद्ध उजुरी दिएको थियो । उक्त उजुरीपश्चात् नै आरोपी राईलाई पक्राउ गरी सार्वजनिक गरिएको हो । “घटनाको विषयमा छानबिन भइरहेको छ” डिएसपी जवेगूले भने । 

बिहीबार मात्रै बाल सञ्जालले धरानस्थित इलाका प्रशासन कार्यालयमार्फत गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका थिए । असार १३ गते नगर प्रमुख राईले फेसबुकमा ‘घटना सत्य रहेछ भने कारबाही गर्ने नभए माफी माग्नु पर्ने’ आशयको स्टाटस लेखेका थिए । उक्त स्टाटसमा उनी आफैले कारबाही गर्ने भनी लेखेका थिए ।