धरान । सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं. ३ नडाहा चोकस्थित अस्थायी प्रहरी चौकी र सशस्त्र प्रहरी बेस क्याम्प चतराले भारतीय नम्बरप्लेटको सुजुकी कारबाट १ सय ६२ किलोग्राम गाँजा बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा शनिबार बिहान २ः१० बजे प्रहरी टोलीले धरानबाट नडाहातर्फ आउँदै गरेको एच ०२ बीपी ९७४२ नम्बरको भारतीय सुजुकी कारलाई चेकजाँच गर्न लाग्दा चालक र दुई अन्य व्यक्तिहरू सडकमै कार रोकी फरार भएका थिए ।
कारको डिक्कीभित्र लुकाई छिपाई राखिएका ८ वटा पोका, ९५ वटा कालो प्लाष्टिकका र ३ वटा जेब्रा झोलामा फेला परेको थियो । उक्त पोकाभित्र १ सय ६२ किलोग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ । फरार कार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।