इटहरी । इटहरी– ६ बीपी चौककी मुना दहालले आफूले सञ्चालन गर्दै आएको होटल दुई महिनाअघि बिक्री गरेर व्यापार छाडिन् । बढ्दो ब्यापार घाटा, आर्थिक मन्दी र सेवाग्राही अभावले सटर भाडा तिर्नसमेत नसकेपछि आफूले सञ्चालन गर्दै आएको मनिष खाजा घर बिक्री गरेको उनले बताइन् ।
२०७२ असोज १४ गते ६ लाख बढीको लगानीमा खाजाघर सञ्चालनमा ल्याएकी उनले ५ लाखमै बिक्री गरेर विदेश जाने तयारीमा छिन् । त्यस्तै इटहरी–६ बीपी चौककै करूणा थापाले पनि सञ्चालन हुँदै गरेको आफ्नो कस्मेटिक पसल बिक्री गरेकी छन् । कमाइभन्दा सटरभाडा महँगो भएपछि बढ्दो आर्थिक भार खेप्न नसकेर पसल बिक्री गरेको उनले बताइन् । २०७४ सालदेखि कस्मेटिक व्यवसाय गर्दै आएकी करूणा महँगो सटरभाडा र सेवाग्राही अभावकै कारण व्यवसाय बिक्री गर्नुपरेको सुनाउँछिन् । पसल सञ्चालन गर्दा मासिक ४ हजार मात्रै भाडा बुझाउँदै आएकी उनले ०८१ सालमा सोही सटरको भाडा २० हजार पुगेपछि पसल नै बन्द गर्नुपर्ने अवस्था आएको करूणा सुनाउँछिन् ।
घरधनीले सटरभाडा छुट नदिने अनि स्थानीय सरकार र उद्योग वाणिज्य सङ्घले पनि कुनै राहतको प्याकेज नल्याएपछि घाटा खाएरै भए पनि पसल बिक्री गर्नुपरेको करूणा बताउँछिन् । उनले १५ लाख लगानी गरेर सञ्चालनमा ल्याएको करूणा ब्युटीपार्लर एण्ड कस्मेटिक पसल नजिकको मान्छेलाई १३ लाखमा बिक्री गरेको बताइन् ।
२०७७ सालमा देखिएको कोरोना सङ्क्रमण , लकडाउन जस्ता समस्याले थिलथिलो बनेको व्यापार–व्यवसाय पछिल्लो २ वर्षयता महँगो सटरभाडाका कारण व्यवसायीहरू समस्यामा परेका छन् । कोरोना कहरपछि तङ्ग्रिदै गरेको व्यापार–व्यवसाय महँगो सटरभाडाकै कारण पुनः थला पर्न थालेको छ । २०७३ सालमा उद्योग वाणिज्य सङ्घ इटहरीको रोहवरमा सम्बन्धित घरधनीहरूसँगको छलफलपछि मुख्य चौक आसपासका सटर भाडा मासिक १० हजार तय गरिएको थियो । अहिले मुख्य चौक आसपासका सटर भाडा मासिक ३० हजारदेखि ४० हजारसम्म लिने गरेपछि व्यापार–व्यवसाय गर्नेलाई समस्या भएको व्यवसायी बताउँछन् ।
इटहरीस्थित हङ्कङ मार्केटमा कपडा व्यवसाय गर्दै आएका विनोद घिमिरे भाडा महँगो भएको गुनासो गर्छन् । २०७६ सालदेखि मार्केटमा कपडा व्यवसाय गरेका उनले सुरुमा ७ हजारमा सटर लिएको सुनाउँछन् । २ पटक भाडा बढाउँदै मासिक २० हजार पु¥याइसकेको उनको गुनासो छ । सटर भाडा महँगो भएकै कारण हङ्कङ मार्केटका अधिकांश भित्री सटरहरू खाली भएका छन् । त्यस्तै विशाल बजार, नयाँ बजार, आरसिटी, नेशनल गल्ली, जनता गल्ली, अस्पताल लाइन, सेन्ट्रल मल, सङ्गीत मार्केटलगायतका व्यावसायीक सटरहरू खाली भइसकेका छन् । इटहरी सङ्गीत चौकसँगै पूर्वलाइनस्थित आइसिनेमा भवनको दोस्रो तला ६ महिना यता पूरै खाली छ । भएका व्यावसायिक पसलहरू महँगो भाडा तिर्न नसकेपछि खाली गरिएको सोही भवनको तल व्यवसाय गर्दै आएका व्यवसायीहरू बताउँछन् ।
यता उद्योग वाणिज्य सङ्घ इटहरीका अध्यक्ष जीवन पराजुलीका अनुसार व्यवसायीहरूले सटरभाडा महँगो भएको, पार्किङ अभावले व्यापार चौपट बनेका जस्ता गुनासोहरू धेरै लिएर आए पनि तत्काललाई पार्किङ समस्या बाहेकका अन्य विषयमा छलफल चलिरहेको बताए । सम्बन्धित घरधनीहरूलाई घर घर पुगेर भेटघाट गरी घरभाडा नबढाउन आग्रह गरेअनुरूप पछिल्लो एक वर्षयता कुनै भाडा नबढाइएको अध्यक्ष पराजुलीले दाबी गरेका छन् । इटहरीमा ७ हजार ९४ व्यवसाय सङ्घमा दर्ता भएका छन् ।
त्यस्तै पछिल्लो समय घरधनीहरूले सटर भाडा बढाउने गरेको गुनासो व्यवसायीहरूबाट धेरै आउने गरेको इटहरी उपमहानगरकी उपमेयर सङ्गीताकुमारी चौधरी बताउँछिन् । इटहरीमा पार्किङ समस्याले व्यवसायीहरू आजित बनेको अवस्था छ, सहर विकासोन्मुख भएपछि सटर भाडा बढ्नु स्वभाविक हो तर सम्बन्धित घरधनीहरूलाई तत्काल भाडा नबढाउन आग्रह गरिरहेको उनले बताइन् ।