धरान/काठमाडौँको कान्तिपुर सिटी कलेज (केसीसी) मा बीबीए सङ्कायमा अध्ययरत विद्यार्थीहरूले तयार पारेको ‘म्यानेजमेन्ट स्कोलर्स म्यागेजिन’ शनिबार विमोचन गरिएको छ । 

म्यागेजिनको यो १० औँ संस्करण हो । कार्यक्रममा प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासङ्घकी पूर्व अध्यक्ष भवानी राणा, प्रा. रामाकृष्ण रेग्मी, प्रा.डा. महेन्द्र सिंह, म्यानेजमेन्ट एसोसिएसन अफ नेपालका महासचिव इन्द्रकुमार श्रेष्ठ, केसीसीका प्रबन्ध निर्देशक डा. प्रल्हाद कार्की र प्रिन्सिपल राजु कट्टेलले म्यागेजिनको लोकार्पण गरे । विद्यार्थीहरूले कक्षाभित्र सिकेका कुराहरूलाई व्यवहारमा कसरी लागू गर्ने भन्ने कुरामा म्यागेजिनले सहयोग पु¥याएको वक्ताहरूले बताए । प्रमुख अतिथि राणाले म्यागेजिनले आगामी दिनमा नेतृत्व विकासमा सहयोग पुग्ने बताइन् । 

प्रा. रेग्मीले म्यागेजिनले विद्यार्थीहरूको भविष्य निर्माणमा सहयोग गर्ने तर कृत्रिम बुद्धिमतामा पूर्ण रूपमा निर्भन नहुन सुझाव दिए । म्यागेजिनमा पर्यटन र एआईको विषय समेटिएको छ । केसीसीका प्रिन्सिपल कट्टेलले विद्यार्थीहरूको अनौपचारिक सिप विकासमा कलेजले सहयोग गरिरहेको बताए । सन् २००५ देखि केसीसीले बीबीए कार्यक्रम सञ्चालन गर्दै आएको छ भने विगत ९ वर्षदेखि म्यागेजिन निकाल्दै आएको मास कम्युनिकेस र पत्रकारिता विभागका उपप्रमुख राजीव तिमिल्सिनाले जानकारी दिए ।