ओखलढुङ्गा / हिरोका कारण विस्थापित २४ परिवारलाई जग्गा उपलब्ध गराइएको छ । चिशङ्खुगढी गाउँपालिकाको माम्खा, भडारेका विस्थापित परिवारलाई जग्गा खरीद गरी जग्गाधनी पूर्जा प्रदान गरिएको हो ।
जोखिमयुक्त बस्तीमा बस्दै आएका उनीहरुलाई सुरक्षित स्थानमा जग्गाको व्यवस्था गरी जग्गाधनी पूर्जा वितरण गरिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका प्रमुख युवराज खरेलले जानकारी दिए । विस्थापित परिवारलाई सरकारको तर्फबाट रु दुई लाखको जग्गा खरीद गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो । उनीहरुलाई सांसद यज्ञराज सुनुवारले पूर्जा हस्तान्तरण गरे ।
चारैतिरबाट पहिरोले घेरिएको सो गाउँका बासिन्दा त्रासमा जीवन बिताउँदै आएका थिए । विसं २०७२ वैशाखमा गएको भूकम्पका कारण माम्खा भडारेमा पहिरो जाने क्रम बढेको हो । उनीहरुलाई थप सहयोग गरिने प्राधिकरणका सामाजिक विकास विज्ञ सुनिता अधिकारीले बताए । जिल्लामा जोखिमयुक्त बस्तीका १९९ परिवारलाई स्थानान्तरण गर्नुपर्नेमा हालसम्म ९३ परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।