यो वर्ष पर्याप्त मात्रामा वर्षा नहुँदा अन्नभण्डार मानिएका तराईका जिल्लाहरुले सङ्कट झेलिरहेका छन् । खडेरीका कारण रोपाइँ हुन सकेको छैन । किसानहरु समस्यामा छन् । उनीहरुको चिन्ता रोपाइँ गर्न नपाएकोमा छ । तर यतिबेला सरकारले जति चासो र चिन्ता लिनुपर्ने हो, त्यो लिएको देखिँदैन । यसले दीर्घकालीन समस्या निम्त्याउँदै छ भन्ने प्रष्ट देखाउँदै छ । यसै पनि नेपालले बर्सेनि करोडौँको चामल आयात गर्दै आएको छ । खडेरी नहुँदाकै अवस्थामा यस्तो छ भने खडेरीका कारण उत्पन्न समस्याका कारण के हुने होला त्यो अनुमान सहजै गर्न सकिन्छ । करोडौँको आयात भइरहेकोमा अब अर्बौंको आयात हुने निश्चितप्रायः छ तर पनि सरकार सञ्चालकहरुमा चासो र चिन्ता नदेखिनु चाहिँ अचम्म मान्नुपर्ने हुन्छ । पर्याप्त वर्षा नहुँदा धान बाली लगाउन सकिँदैन । यसले आम सर्वसाधारण तथा किसानको जनजीवनसँगै जीविकोपार्जनमा पनि समस्या ल्याउँछ । यसले खाद्य सुरक्षालाई खतरामा पारेको छ । यतिबेला खेतबारी सुकेका छन् । कृषिको अवस्था दयनीय रहेको छ । डिप बोरिङ नहुँदा यसले थप समस्या निम्तिँदै छ । पानी अभावमा डिप बोरिङहरु पनि सुक्ने अवस्था सिर्जना हुँदै छ । सिँचाइको अभावमा खेती प्रभावित भएको छ ।
यसलाई तत्काल समाधान गर्नका लागि सरकारले पहल थाल्नुपर्छ । सामान्य किसानले यो समस्यालाई टार्न सक्दैनन् । कृषिप्रधान मुलुक र मुलुकको अर्थतन्त्रमा झण्डै २७ प्रतिशत धान्दै आएको कृषिलाई एउटा रफ्तारमा लान आवश्यक छ । खडेरीका कारण किसानहरु मर्कामा परेका छन् । यसले मुलुकको अर्थतन्त्रलाई पनि धरासायी बनाउने निश्चितप्रायः छ । यसका लागि सरकार र सरकारमा बसेकाहरुले तत्काल र दीर्घकालका लागि गम्भीर भई सोच्न आवश्यक छ । दीर्घकालीन समाधानहरु के हुन सक्छन् भनेर योजनाहरु अगाडि ल्याउन आवश्यक छ । यसका लागि सिँचाइलाई प्रभावकारी बनाउनु पर्ने आवश्यकता देखिएको छ । सिँचाइ नभएका क्षेत्रहरुमा पनि सरकारले आवश्यक पहल गर्न जरूरी छ । कतिपय स्थानमा डिप बोरिङहरु जडान गरेर पनि समस्या समाधान गर्न सकिन्छ । सरकारले निश्चित क्षेत्रलाई कृषि पकेट क्षेत्र घोषणा गरेर त्यस्ता स्थानका लागि सिँचाइहरुको व्यवस्था गर्नुपर्छ । अन्नभण्डार क्षेत्रहरुलाई विशेष ध्यान दिन आवश्यक छ । सरकारको मुख ताक्नुपर्ने अवस्थाको अन्त्य गर्न आजैबाट पहल थालिनुपर्छ । तत्कालीन समस्यालाई समाधान गर्नुभन्दा पनि दीर्घकालीन समाधानको उपाय रच्नु चाहिँ श्रेयष्कर हुन्छ ।
सरकारले स्थानअनुसारको खेती प्रणालीलाई अनुकूलन बनाउन सोही प्रकारको बिउविजनलाई बढाउनुपर्छ । जलवायु अनुकूल पूर्वाधारमा लागनी गरेर अगाडि बढ्नु पर्छ । मनसुनको निर्भरतालाई घटाउनका लागि विभिन्न उपायहरु अपनाउनेतर्फ पाइला चाल्नुपर्छ । सरकारले समयमै मल, बिउ तथा सिँचाइका लागि सुविधा दिनुपर्छ । समस्या आउँदा मात्रै अगाडि बढ्ने प्रणालीको विकास गर्नु राम्रो कुरा होइन । जलवायु परिवर्तनको असर सबैतिर परिरहेको देखिन्छ । यसको अन्त्यको लागि सोहीअनुसारको अनुकूलन गर्नेतर्फ पाइला चाल्नुपर्छ । अल्पकालीन राहतले केही हुँदैन । त्यसका लागि सरकारले दूरदर्शी दृष्टिकोण अवलम्बन गर्नुपर्छ । पानी भण्डारण सुविधाको विस्तार र दिगो कृषि अभ्यासको प्रवद्र्धनतर्फ अगाडि बढ्नुपर्छ । यसका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारबीच समन्वय आवश्यक छ । स्थानीय समस्यालाई समाधान गर्नका लागि सोहीअनुसार काम अगाडि बढाउनु पर्छ । सरकार, नागरिक समाज र अन्तर्राष्ट्रिय साझेदारहरूले हातेमालो गरेर यस्ता सङ्कटहरुलाई समाधान गर्नेतर्फ पाइला चाल्नुपर्छ ।