विराटनगर । मोरङको कटहरी गाउँपालिका–४ मा रहेको क्वालिटी आयल प्रा.लि.द्वारा उत्पादित ‘सूर्यमुखी’ तेल र क्वालिटी थाई फुड्सको चाउचाउमा गुणस्तर मापदण्ड नपुगेको पुष्टि भएपछि सम्बन्धित उद्योगमाथि जिल्ला प्रशासन कार्यालय मोरङमा मुद्दा दर्ता गरिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले गत असार ५ गते नमुना सङ्कलन गरेर ल्याव परीक्षण गरेकोमा ती दुवै उत्पादन न्यून गुणस्तरका भेटिएका हुन् । 

कार्यालयका प्रमुख पप्पुलाल राईका अनुसार परीक्षणपछि फेला परेको कमजोरीका आधारमा उपभोक्ताको स्वास्थ्य जोखिममा पार्ने उद्योगविरुद्ध कानूनी प्रक्रिया अघि बढाइएको छ । “सूर्यमुखी तेल र चाउचाउको नमुना परीक्षण गर्दा गुणस्तरमा कमी देखियो । त्यसपछि हामीले मोरङ प्रशासनमा मुद्दा दर्ता गरिसकेका छौँ । अहिले ती मुद्दा प्रशासनमा विचाराधीन अवस्थामा छन्”–प्रमुख राईले जानकारी दिए ।

एक वर्षमै १० उद्योगविरुद्ध मुद्दा

आर्थिक वर्ष २०८१/०८२ मा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले १० वटा उद्योगमाथि गुणस्तरहीन उत्पादनको अभियोगमा मुद्दा दर्ता गरिसकेको छ । ती उद्योगहरूले बजारमा उपभोक्तालाई दिने खाद्य वस्तुमा न्यून गुणस्तरको सामग्री प्रयोग गरेका थिए ।

मोरङको बूढीगङ्गा–२ मा रहेको दुगड स्पाइसेज एण्ड फुड प्रोडक्ट्स प्रा.लि.को चिया, विराटनगर–१४ मा रहेको सूर्योदय मिल्क एण्ड बेभरेज इन्डष्ट्रीको एसएमपी (स्किम्ड मिल्क पाउडर), विराटनगर–१ मा रहेको गङ्गा पेयजल उद्योगको पानी, विराटनगर–२ को खेतान चिया उद्योग, बूढीगङ्गा–४ मा रहेको गोमती फुड्स, विराटनगर–११ मा रहेको निधि फुड उद्योग र लेटाङ–९ मा रहेको मकालु एक्वा इन्डष्ट्रीविरुद्ध पनि खाद्य ऐनअनुसार कारबाही प्रक्रिया सुरु भएको छ ।

कार्यालयले जानकारी दिएअनुसार हालसम्म २ सय ४३ उद्योगलाई नयाँ सिफारिस गरिसकेको छ भने १ सय ६६ उद्योगलाई अनुमति पत्र जारी गरिएको छ । पाँच उद्योगको अनुमति नवीकरण गरिएको छ । 

कार्यालयका अनुसार खाद्यसँग सम्बन्धित वस्तु गुणस्तरहीन भएको पुष्टि भएपछि अदालत तथा जिल्ला प्रशासन कार्यालयमा अभियोगपत्रसहित मुद्दा दर्ता गरिन्छ । यदि दोष प्रमाणित भयो भने खाद्य ऐनअनुसार कारबाही, जरिबाना  हुनसक्छ ।

सुनसरी–मोरङ औद्योगिक करिडोरअन्तर्गत सुनसरीको सोनापुरमा रहेको एशियन थाई फुड्स प्रा.लि.का उत्पादनमा पनि तीन वर्षअघि गुणस्तरहीनता भेटिएको थियो । उक्त कम्पनीको चाउचाउमा खाद्य मापदण्ड विपरीत जलांश (पानीको मात्रा) र एसिड भ्याल्यु बढी भेटिएपछि डिभिजन कार्यालयले प्रशासनमा मुद्दा दर्ता गरिसकेको थियो । 

यसअघि पनि क्वालिटी ओइलको सूर्यमुखी तेल मापदण्ड विपरीत उत्पादन भएको भन्दै काठमाडौं महानगरपालिकाले  ८ लाख रुपैयाँ जरिबाना गरेको थियो ।  नेपाल सरकारले तोकेको पारोक्साइड भ्याल्यु धेरै भएको पाएपछि जरिबाना गरेको थियो ।