विराटनगर । कोशी प्रदेशका तीन जिल्लामा विद्युत् ट्रान्सफर्मर चोरीको घटना बढेको छ । मोरङ, झापा र सुनसरीमा मात्र एक वर्षमा २२ वटा ट्रान्सफर्मर चोरी भएको प्रहरीको तथ्याङ्कले देखाउँछ ।
सबैभन्दा बढी चोरी सुनसरीमा भएको प्रहरीले जनाएको छ । सुनसरीमा १२ वटा, मोरङमा ८ वटा र झापामा २ वटा ट्रान्सफर्मर चोरी भएको विद्युत् प्राधिकरणले जनाएको छ । पछिल्लो दुई दिनमा सुनसरीमा २ ट्रान्सफर्मर चोरी भएका छन् । साउन ६ गते सुनसरीको वराहक्षेत्र–४ जमटोकीमा ट्रान्सफर्मर चोरी भएको थियो । त्यसको तीन दिन नबित्दै साउन ९ गते देवानगञ्ज गाउँपालिका–१ मध्यहर्षाही राजाजीथानमा ट्रान्सफर्मर चोरी भएको प्रहरीले जनाएको छ । यसअघि जेठ महिनामा मात्र सुनसरीमा ३ वटा ट्रान्सफर्मर चोरी भइसकेका थिए । असार २ गते २ वटा र चैत २४ गते एउटा ट्रान्सफर्मर चोरी भएको विद्युत् प्राधिकरणले जनाएको छ ।
मोरङमा पनि ट्रान्सफर्मर चोरीको शृङ्खला रोकिएको छैन । जेठ २१ गते ग्रामथान गाउँपालिका–६ झप्टा, जेठ २२ गते रङ्गेली नगरपालिका–७ हराङकालिका र जेठ २३ गते रङ्गेली नगरपालिका–१ जिरायत टोलमा ३ वटा ट्रान्सफर्मर चोरी भएका थिए । झापामा २ वटा ट्रान्सफर्मर चोरी भइसकेका छन् । जुन प्रायः बस्ती नभएका क्षेत्र र सिँचाइ योजनाका लाइनहरूमा जडान भएका थिए । सुनसरी र मोरङका ग्रामीण क्षेत्रमा विद्युत् आपूर्तिका लागि जडान गरिएका ट्रान्सफर्मरहरू लगातार चोरी भएको नेपाल विद्युत् प्राधिकरण कोशी प्रदेशका प्रमुख राजीव सिंहले जानकारी दिए । “ट्रान्सफर्मर चोरी एक सामान्य घटना जस्तो हुन थालेको छ” उनले भने, “दिनहुँ जस्तै ट्रान्सफर्मर चोरी हुन थालेपछि प्रदेश प्रहरी कार्यालय विराटनगरमा उजुरी दिएका छौँ ।” उनले भने, “चोरीको शृङ्खला दिनदिनै बढ्दै जानु गम्भीर विषय हो ।”
११ हजार भोल्ट लाइन काटेर चोरी
चोरहरूले ट्रान्सफर्मर चोरी गर्न उच्च प्राविधिक सीप प्रयोग गर्ने गरेको प्राधिकरणको भनाइ छ । ११ हजार भोल्टको तार सर्ट गराएर लाइन काट्ने र ट्रान्सफर्मर झारेर भित्रको तामाको क्वाइल निकाल्ने मुख्य उद्देश्य रहेको देखिएको प्राधिकरणले जनाएको छ । चोरी हुने ट्रान्सफर्मर ५० केभी र १ सय केभी क्षमताका हुने गरेका छन् ।
५० केभीको ट्रान्सफर्मरको मूल्य ५ देखि ६ लाख रुपैयाँ पर्छ भने १ सय केभीको मूल्य ११ देखि १२ लाख रुपैयाँसम्म पर्छ । यसरी २२ वटा ट्रान्सफर्मर चोरी हुँदा प्राधिकरणलाई दुई करोड २० लाख रुपैयाँभन्दा बढीको क्षति पुगेको प्राधिकरणले जनाएको छ । “यो त ट्रान्सफर्मरको मूल्य मात्र हो । प्रतिस्थापन गर्दा हुने टान्सपोर्टेसन खर्च, श्रम, बक्यौता नउठ्ने रकम जस्ता अन्य नोक्सानी यसमा गणना गरिएको छैन । चोरीमा विद्युत् प्रविधि बुझ्ने प्राविधिकहरूको संलग्नता भएको स्पष्ट छ”–प्रमुख सिंहले भने । ट्रान्सफर्मरभित्रको तामाको क्वाइल अत्यन्तै महँगोमा बिक्री हुने भएकाले चोरीको घटना बढेको हुनसक्ने उनले अनुमान लगाए । पक्राउ नपर्ने जोखिमको कारण पनि चोरीको घटना नरोकेको सिंहको भनाइ छ । अहिले सिँचाइ, खानेपानी र ग्रामीण विद्युतीकरणका अधिकांश ट्रान्सफर्मर चोरीको जोखिममा छन् । यसले विद्युत् आपूर्ति अवरुद्ध हुने मात्र होइन, किसान र उद्योगीहरूलाई समेत ठूलो आर्थिक नोक्सानी भएको छ ।
लगातारको चोरीपछि प्रहरीमा उजुरी दर्ता गरिएपछि कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले विशेष टोली परिचालन गरेको छ । हालसम्म सुनसरीका चार र मोरङको रङ्गेलीका एकजना गरी पाँचजनालाई पक्राउ गरिसकेको छ । तर उनीहरूको नाम सार्वजनिक गरिएको छैन । मोरङ प्रहरीका प्रवक्ता डिएसपी कोपिला चुडालले भनिन्, “हामीले पाँचजनालाई पक्राउ गरिसकेका छौँ । यो ठूलो सञ्जाल हो । बाँकीलाई पक्राउ गर्न र सम्पूर्ण तथ्य खुलाउन गहिरो अनुसन्धान भइरहेको छ ।” कोशी प्रदेश प्रहरीको विशेष अनुसन्धान टोली (पिट) र मोरङ प्रहरी संयुक्त रूपमा परिचालन गरिएको छ ।
प्राधिकरण र प्रहरीले चोरीको घटना केवल वाह्य अपराधी समूहको मात्र नभई प्राविधिकको संलग्नता पनि हुनसक्ने अनुमान गरेका छन् । विद्युत् लाइन, ट्रान्सफर्मर संरचना र सुरक्षा कमजोरीको जानकारी आन्तरिक व्यक्तिबाट बाहिर गएको आशङ्का छ । “११ हजार भोल्ट लाइन काटेर सुरक्षित रूपमा ट्रान्सफर्मर निकाल्न सामान्य व्यक्तिले सम्भव छैन । यसका लागि प्रविधिको राम्रो ज्ञान चाहिन्छ” सिंहले भने, “त्यसैले प्राविधिक संलग्नता पुष्टि हुने सम्भावना छ ।”
सुनसरी, मोरङ र झापाका ग्रामीण बासिन्दाहरू विद्युत् आपूर्तिमा हुने बारम्बार अवरोध र महँगो प्रतिस्थापन लागतको कारण आक्रोशित छन् । कृषकहरूका अनुसार ट्रान्सफर्मर चोरी हुँदा सिँचाइ प्रभावित हुने, खेतीबाली नोक्सान हुने र बक्यौता रकम अनावश्यक रूपमा बढ्ने समस्या छ ।