इटहरी । गत असार ३० गते सुनसरीको घुस्कीमा गोली हानी १८ वर्षीया अरसी खातुनको हत्या भयो । नातामा भिनाजु पर्ने भारतको पूर्णिया जिल्ला पत्राहा पञ्चायत–१६ घुर्नाका २९ वर्षीय आजाद मियाँ जटले गोली हानी खातुनको हत्या गरेको प्रहरी बताउँछ । 

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाका अनुसार घटनास्थलबाट भारतीय बजार करिब १० मिटरको दूरीमा पर्छ । घटनास्थल हरिनगर गाउँपालिका–६ मा पर्छ । भारतीय अपराधी नेपालमा प्रवेश गरी अप्रिय घटना घटाएर भागेको एसपी तिम्सिनाले बताए । खुल्ला सीमाको फाइदा उठाउँदै भारतीय अभियुक्त आजाद सहजै नाका काटेर भाग्न सफल भएको एसपी तिम्सिना बताउँछन् । घटनामा आजादले किन र केका लागि गोली चलाएर सालीको हत्या गरे भन्ने बलियो कारण हालसम्म खुल्न नसकेको एसपी तिम्सिना बताउँछन् । “अनुसन्धान जारी छ, बलियो कारण हालसम्म खुल्न सकेको छैन”–उनले भने । 

घटना बिहानको राति करिब साढे २ बजेतिर भएको थियो । सर्वसाधारणका अनुसार सीमा क्षेत्रमा सुरक्षा दस्ताले सुरक्षा जाँचलाई तीव्र नबनाउँदाको परिणाम भएको हो । हाल सीमा सुरक्षामा खटिएको प्रहरीप्रति प्रश्न उठ्न थालेको छ । हरिनगर गाउँपालिकाका प्रमुख गफार अन्सारीले सीमा क्षेत्रमा प्रहरीको चासो घटेको यो घटनाले पुष्टि गरेको बताए । उनले सीमाबाट हुने तस्करी नियन्त्रणका लागि प्रहरी कार्यालयदेखि मुख्यमन्त्रीको कार्यालयसम्म धाएको भए पनि सुनुवाइ नभएको बताए । भारतीय प्रहरीको खोजी सूचीमा रहेका आरोपित जटलाई पक्राउ गर्न नेपाल प्रहरीसँग चुनौती रहेका छन् । 

“आरोपित एक त भारतीय नागरिक हुन् । दोश्रो भारतीय प्रहरीकै मोस्ट वान्टेड अभियुक्त पनि हुन् । त्यो अवस्थामा उनलाई पक्राउ गर्न कानूनी जटिलता देखिएको छ”–एसपी तिम्सिना भन्छन् । सुनसरीमा हत्या गरी फरार जटलाई दोस्रो देश पुगेर पक्राउ गर्न सुपुर्दगी सन्धिले नदिने एसपी तिम्सिनाको भनाइ छ । जट भारतकै पूर्णिया जिल्लाका विभिन्न स्थानमा चोरी, डाँका तथा फिरौती सम्बन्धी धेरै मुद्दामा  फरार अभियुक्त हुन् । हाल नेपालकै घटनासँग जोडेर पनि भारतीय सुरक्षा एजेन्सीसँग संवाद र सहकार्यको माध्यमबाट खोजी भइरहेको एसपी तिम्सिनाले बताए । 

खुला सीमाका कारण अपराध नियन्त्रणमा प्रहरीलाई चुनौती देखिएको कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी ईश्वर कार्की बताउँछन् । जनशक्ति अभावका कारण पनि यस्ता अपराध निम्तिरहेको उनले बताए । खुला सीमाका कारण नेपालबाट अपराध गरेर भारत भाग्ने र भारतबाट अपराध गरेर नेपाल आएर लुक्ने कारण सुरक्षा चुनौती थपिएको डिआइजी कार्की बताउँछन् । सुनसरीमा ६६ किलोमिटर सीमा क्षेत्र रहेको प्रहरीले जनाएको छ । सीमा सुरक्षाका लागि सीमा क्षेत्रमा सशस्त्र प्रहरीका नौवटा बोर्डर आउट पोष्टहरू स्थापना गरिएको छ । 

जिल्लाको भण्टाबारी, जमुवा, लौकही, घुस्की, वसन्तपुर, कप्तानगञ्ज, रामनगर भुटाहा, अमडुवा र साहेवगञ्जमा बोर्डर आउट पोष्टहरू छन् ।