देख्दै डरलाग्दो कालो स्वरूप । टाउकोमा दुइटा सिङ भएको करिब आठ फिट अग्लो भूत । त्यो पनि बजारको बीचमा । केटाकेटी डराउने गरी ठूल्ठूला काला आँखा । दाह्रा बाहिरै निस्केका । धम्मरधुस कालो अनुहारमा सेता दाह्राहरू । सिक्किमको नाम्चीमा त्यो भूत जलाउने उत्सव हुँदो रहेछ । दुई दिन मनाइने राँकेभूत मेलामा पूरै दक्षिण सिक्किम उत्सवमय हुन्छ ।
हाम्रातिर साउने सङ्क्रान्तिको साँझ राँको बाल्दै ढोल, झ्याम्टा, थाल ठटाएर लुतो फाल्ने चलन छ । सिक्किममा राँको बाल्ने मात्र होइन, राँकेभूत नै जलाइँदो रहेछ । राँकेभूतको प्रतिक नै बनाएर । असार मसान्तको राति । साउने सङ्क्रान्तिमा चैं राँकेभूतको अवसानको खुसियाली मनाइन्छ । त्यो पनि मेला नै आयोजना गरेर । कहिलेदेखि यस्तो मेला सुरु भएको भन्ने इतिहास नै छैन । सायद नाम्चीमा मानिसहरूको बसोबास बढ्दै गए पछि हुनुपर्छ । अहिलेका मान्छेले आफ्ना बुबा हजुरबुबाबाट सुनेँ । उनीहरूका पुर्वजहरू पनि राँके डढाउने गर्थे रे ।
यस पटक राँकेमेलालाई पर्यटनसँग जोड्ने प्रयास गरिएको थियो । नाम्चीवासीको त्यो प्रयासमा हामी साक्षी बनेर पुगेका थियौं नेपालबाट । हामीजस्ता पर्यटन व्यवसायी गुजरात, कोलकाता र सिलिगुडीबाट पनि राँकेमेलामा सहभागी भएका थिए । राँकेमेलामा दुई दिन लगातार अत्यधिक कार्यक्रमहरू गरिएका थिए । मुख्य बजारमा परम्परागत खाना बजार लगाइएको थियो । स्थानीय र मौलिक रक्सी, निगार, रोटी, सेकुवाजस्ता खानेकुरा सँगसँगै स्थानीय कृषि उत्पादनले पनि स्टलमा स्थान पाएका थिए । खाना मेलालाई उनीहरूले झिमझिम बजारको नाम दिएका थिए । हामीले सोध्यौं– यो नाम किन ? मेला आयोजक समितिका पर्यटन संंयोजक तथा अगुवा राजनीतिकर्मी मिलन राईले भने, “यो बजारमा आएपछि चाख्दाचाख्दै झिमझिम हुन्छ, त्यही भएर यो नाम राखेको ।” यता यस्ता खानाका स्टलहरू लगाएपछि ‘फुड फेष्टिवल’ भनिन्छ । उता त उस्ता कार्यक्रमको नाम पनि ‘अग्र्यानिक’ । मिलनजीको कुरा सुनेर हामी मज्जाले हास्यौं । राँकेमेला प्रत्येक वर्ष जुलाई १६ र १७ मा आयोजना गरिन्छ । तर मेलाको रौनक बढाउन झिमझिम बजार चाहिँ १३ जुलाईदेखि नै सुरू हुँदो रहेछ । पाँच दिने झिमझिम बजारमा नरमाउने नाम्चीवासी विरलै भेटिन्थे ।
राँकेमेलामा राँकेभूत जलाउने पनि विचित्रको परम्परा देखियो । बिहानैदेखि बजारको बीचमा भूतको प्रतिक बनाएर राखिएको छ । मेलाको लोगो र मस्कट पनि राँकेभूतकै बनाएर प्रयोग गरिएको छ । साँझ पर्दै गएपछि मानिसहरूको भीड बढ्दै गयो । अनि अचानक भूतको अगाडि ढ्याङ्ग्रो ठोक्दै एक हुल धामीहरू नाच्न थाले । धामीको परम्परागत पोसाक लगाएर नाचेका उनीहरूलाई हामीले पहिला चै सामान्य नाचका रूपमा लिएका थियौं ।
तर बुझ्दा थाहा भयो, त्यो त कसैको जीवन र मृत्यु बीचको सङ्घर्ष रहेछ । बाहिरबाट गएका हामी सबैलाई त्यो कुरा अनौठो र आश्चर्य लाग्यो । हामीले सोध्यौँ, यी धामीहरूले के गरेका ? ‘यो भूत बनाउने मान्छेको जीवन जोगाउने कार्य गरेका’ स्थानीयका यी कुरा सुनेर हामी स्तब्ध भयौँ । के भनेको होला भनेर हामीले खासखुस ग¥यौँ । हाम्रो जिज्ञासा बढ्दो थियो । मिलनले भने, ‘यो भूतलाई हामी बनाउँछौं अनि खुसी हुँदै जलाउँछौँ । भूतलाई जलाएको कुराले त्यो राँकेलाई निकै पीडा हुन्छ । उसले त्यो राँकेभूत बनाउने मान्छेसँग बदला लिन खोज्छ । यदि त्यो मान्छेले त्यो भूतको प्रतिक नबनाएको भए उसले जल्नु पर्ने थिएन ।
त्यही भएर त्यो भूतको प्रतिक बनाउने मान्छेको जीवन रक्षाका लागि भूतलाई मनाउने कार्य धामीहरूले गरेका हुन् । मिलनको कुरा सुनेर हामी ट्वाँ प¥यौं । हाम्रा परम्परा र उत्सवहरू कति मौलिक । भूतलाई बजार घुमाइयो बजार घुमाउँदा मानिसहरूको भीड थामिनसक्नु थियो । युवा, महिला, केटाकेटी सँगसँगै प्रौढहरूको उपस्थिति प्रेरक बनेको देखिन्थ्यो । सिठ्ठी बजाउँदै, हो–हल्ला गर्दै भूत जलाएको दृश्य हेर्न उर्लेको भीड पनि हाम्रा लागि नौलो थियो । त्यत्रा मानिसहरू ।
ती मानिसहरू केही दिनअघिदेखि नै यो क्षणको प्रतिक्षामा रहेको बुझिन्थ्यो । त्यसका लागि दुईदिन नै विविध क्रियाकलाप गरिएका थिए । पुरुष र महिलाको म्याराथुन, साँस्कृतिक कार्यक्रम, बालबालिकाहरूका लागि विभिन्न खेल प्रतियोगिता आयोजना गरिएका थिए । कार्यक्रममा ग्रिज लगाएको बाँसको लिङ्गोको टुप्पोमा पुग्ने प्रतियोगिता, महिला र पुरुष समूहको डोरीतान प्रतियोगिता, एउटा बाँसमा बसेर सिरानीले प्रतिस्पर्धीलाई लडाउनु पर्ने ‘पिलो फाइट’ पञ्जा लडाउने प्रतियोगितामा दर्शकहरूको आकर्षण देखिन्थ्यो । कार्यक्रममा मुख्यमन्त्री नै सहभागी हुने भनिए पनि उनको उपस्थिति हुन भने सकेन । तर मुख्यमन्त्री पि.एस. गोलेकी श्रीमतीसहित विधानसभाकी उपसभामुख, पर्यटनमन्त्री पर्यटन विभागका प्रमुखहरूसहित सांसद्हरूको भव्य उपस्थिति थियो । सिक्किमका ‘हेभीवेट’ व्यक्तित्वहरूको उपस्थितिले पनि राँकेमेलाको महŒवलाई दर्शाउँथ्यो ।
सयौं वर्षदेखि जारी राँकेभूत डढाउनु र त्यो बेला उत्सव मनाउनुको कारण के होला ? हामीमा खुल्दुली बढ्दै गयो । त्यो स्वभाविक पनि थियो । किन कि हामी स्थानीय थिएनौं र हामीले हाम्रा पर्यटनका प्याकेजमा मेलाको अर्थ पनि खुलाएर लेख्दा पर्यटकहरूका लागि अझ धेरै प्रभावकारी पनि हुन्थ्यो । हामीले केही स्थानीयलाई सोध्यौँ । ट्याक्सी चालकलाई सोध्यौँ । सबैले सहकालको लागि राँकेभूत जलाएको भने । वास्तवमा असार लागेसँगै खेतीपातीको समय सुरु हुने, यो बेला रोपाइँ गर्नुपर्ने, तर उहीबेला विभिन्न बाधा अड्चन आउने, भनेजस्तो वर्षा नहुने रोगव्याधी लागेर खेतीपातीमा असर गर्ने र उहीबेला साँझमा राँकेभूत देखिने । पुर्खाहरूले यो सबैको कारण राँकेभूत नै भएको ठहर गरेको उनीहरूले हामीलाई सुनाए ।
अनि कुनै एक समयदेखि आज पर्यन्त राँकेभूत जलाउन थालिएको हो । मकैको बोटमा एक प्रकारको रोग लाग्छ, कालीपोके । त्यही कालीपोके रोगले मकै सखाप भए । त्यसको कारण राँकेभूत नै हो भन्ने ठानेर राँकेभूत जलाउन थालेको पनि बताए । तर जे होस् अनिकाल र रोगव्याधी हटाउन र सहकाल ल्याउन दक्षिण सिक्किमेलीहरूले भव्यताका साथ राँकेभूत जलाउने रहेछन् र उत्सव मनाउने रहेछन् । त्यो उत्सवको रमाइलोमा आनन्दित हुन पाउनु पनि हाम्रा लागि राम्रो अवसर थियो ।