धरान । रोटरी क्लब अफ धरानले आफ्नो ४१ औं पदस्थापन दिवस सम्पन्न गरेको छ । क्लबले वर्ष २०२४–२५ का लागि नयाँ नेतृत्व चयन गरेको छ ।
फिरोजकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ समिति बनाएको हो । त्यसैगरी रोटरी क्लब अफ धरान फुटहिल्सको अध्यक्षमा डा. मोना दाहाल र रोट्रयाक्ट क्लब अफ धरानको अध्यक्षमा अनुज अग्रवाल चयन भएका छन् ।
यी तीनवटै क्लबद्वारा संयुक्त रूपमा आयोजित पदस्थापन कार्यक्रम आइतबार धरानमा सम्पन्न भएको छ ।
कार्यक्रममा निवर्तमान अध्यक्ष विनयलाल श्रेष्ठले नयाँ अध्यक्ष फिरोजकुमार श्रेष्ठलाई पद हस्तान्तरण गरेका थिए। उक्त अवसरमा पूर्व डिस्ट्रीक्ट गभर्नर संजय गिरीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा विशेष आकर्षणका रूपमा शिक्षाविद् श्यामबहादुर कटुवाललाई भोकेसनल अवार्ड प्रदान गरी सम्मान गरिएको मिडिया चेयर रोहितमान सिंह बान्तवाले जानकारी दिए ।
कार्यक्रममा विभिन्न रोटरी सदस्य, व्यवसायी, समाजसेवी तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो ।