धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका निमित्त उपकुलपति तथा मिर्गाैला रोग विशेषज्ञ प्रा.डा. सञ्जीव शर्माले कलेजो रोगबाट ग्रसित रोशन राईलाई घरमै पुगेर सेवा दिएका छन् ।
आइतबार धरान–८ अरुणटोलस्थित सुकुम्बासी बस्तीस्थित निवासमै पुगेर चेकजाँच गरेका हुन् । आर्थिक अभावमा अस्पताल लैजान नसकेर घरमै जीवनमरणको दोसाँधमा रहेका राईको अवस्था बुझ्न मुटु तथा मिर्गौला रोग विशेषज्ञसमेत रहेका प्रा.डा. शर्मा झुपडीमै पुगेर स्वास्थ्य जाँच गरेका हुन् । मजदुर नेता भीमज्वाला राईको आग्रहमा उनले सेवा दिएका हुन् ।
उनले अस्पतालमै भर्ना गरेर पेटको पानी झिक्नु पर्ने सुझाव दिएका छन् । त्यसका लागि अस्पतालको तर्फबाट सहयोग गर्ने उनले बताए । जनताको डाक्टरको उपमा पाएका डा. शर्माले यसअघि कोशी प्रदेशका विभिन्न जिल्लाहरूका करिब ५० हजार बढी नागरिकको निःशुल्क मिर्गौला परीक्षण गरिसकेका छन् ।
दाउरा बेचेर श्रीमती र एक छोरीसहितको परिवारको गुजारा चलाइरहेका ४० वर्षीय रोशन राई वैशाखदेखि जण्डिस र मिर्गौलामा पथरिया भएपछि थला परेका छन् ।
उनको कलेजो फेर्न करिब १५ लाख खर्च हुने चिकित्सकहरूले यसअघि नै जानकारी गराइसकेका छन् । “घर चलाउनै गाह्रो भइरहेको अवस्थामा त्यत्रो पैसा कसरी जुटाउनु होला ?”–उनकी श्रीमती शान्ति तामाङले भनिन् ।