सिरहा । सिरहा सदरमुकामस्थित कारागारमा कैदीबन्दीबीच आपसमा भएको झडपमा १३ जना घाइते भएका छन् ।

कारागारका नाइके दिपक ठाकुर, मूलनाइके बरुण महतो, चौकीदार विजय महतोसहितका कैदीहरू घाइते भएका प्रहरीले जनाएको छ । उनीहरूलाई प्रहरीले उपचारका लागि प्रादेशिक अस्पताल सिरहामा भर्ना गरेको छ । कारागारको अवस्था तनावग्रस्त भएपछि ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ । 

नयाँ नाइके नियुक्तिका सम्बन्धमा विवाद हुँदा झडप भएको जिल्ला प्रशासन कार्यालय सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए ।  “प्रत्येक वर्ष नयाँ नाइके नियुक्ति गरिन्छ । यही विषयमा असन्तुष्ट पक्षले विवाद गरेर झडप भएछ”–सहायक प्रजिअ बरालले ब्लाष्टसँग भने । उनका अनुसार ३–४ जना गम्भीर घाइते भएका छन् । अवस्था हेरेर थप उपचारको लागि अन्यत्र लाने सहायक प्रजिअ बरालले जानकारी दिए । 

कारागारमा कैदीहरूले अवैध गतिविधि गरिरहेको भन्दै स्थानीय प्रशासनले शनिबारमात्रै अनुगमन गरेको थियो । २ सय जना क्षमताको सिरहा कारागारमा ४ सय ५८ जना कैदीबन्दी रहेका छन् ।