धरान । मदन भण्डारी राजमार्गको धरान–चतरा सडक–खण्डमा निर्माणाधीन तीन मोटरेबल पुल अन्तिम चरणमा पुगेका छन् ।
बाघ खोला, बगुवा खोला र ठकुरी खोलाका पुल निर्माण ९०÷९५ प्रतिशत सम्पन्न भइसकेको छ, तर रेल्वे पुलको काम सुरु हुन सकेको छैन । बाघ खोला र बगुवाको पुलबाट गत असारदेखि नै आउजाउ सुरु भएको छ ।
पुल निर्माणपछि स्थानीय बासिन्दालाई स्वास्थ्य सेवा, शिक्षा र कृषिउपज बिक्री वितरणमा सहज हुनेछ, जसले वर्षायामको समस्या समाधान गर्नेछ ।
निर्माणको जिम्मा लिएको सूर्य एण्ड सन्स कन्स्ट्रक्सन निर्माण कम्पनीका इञ्जिनियर उमेश श्रेष्ठका अनुसार बाघ खोला, बगुवा खोला र ठकुरी खोलाको पुल निर्माण करिब ९५ प्रतिशतसम्म सम्पन्न भइसकेको छ ।
उनका अनुसार धरान–चतरा सडक–खण्ड अन्तर्गत सुनसरीको वराहक्षेत्र नगरपालिका–१ मा निर्माण भइरहेको दुवैतर्फ पेटीसहितको ६० मिटर लामो बाघ खोला पुलको काम ९० प्रतिशत सम्पन्न भएको छ । त्यस्तै बगुवा खोलामा ३० मिटर लम्बाइ र ११ मिटर चौडाइको पुलको निर्माण ९५ प्रतिशत र ठकुरी खोलामा निर्माणाधीन ३५ मिटर लामो पुलको काम ९० प्रतिशत सम्पन्न भएको उनले जानकारी दिए ।
“रेल्वे पुलको काम भने जङ्गल क्षेत्रभित्र पर्न गएका कारण सुरु हुन सकेको छैन । जङ्गल क्लियरेन्सको काम अफिसले गर्ने भएकाले क्लियरेन्स भएपछि तुरुन्तै काम सुरु गरिनेछ”–इञ्जिनियर श्रेष्ठले भने ।
कम्पनीले चारवटा मोटरेबल पुल निर्माणका लागि भ्याटसहित २१ करोड ७८ लाख ६३ हजार ७ सय ५० मा २०७९ साल जेठ महिनामा ठेक्का स्वीकृत गरी निर्माण सुरु गरेको थियो । तीन वटै पुल सञ्चालनमा आइसकेका छन् । छेउछेउमा फिनिसिङको काम बाँकी रहेको इञ्जिनियर श्रेष्ठले बताए । छेउछाउमा धेरै रुख भएकाले फिनिसिङ र छेउको बाटोमा यसअघि रोकिएको रुख व्यवस्थापनपछि बाँकी काम सम्पन्न गरिने उनले जानकारी दिए ।
उनले भने, “बर्खामा खोलामा यात्रा गर्न निकै कठिन थियो, कैयौँ मानवीय क्षति भएको थियो । अब पुल बनेपछि सहज यात्रा सम्भव भएको छ ।” उक्त सडक–खण्ड भोजपुर, खोटाङ, उदयपुरलगायत जिल्लाका नागरिकका लागि धरान बजारमा स्वास्थ्य सेवा, शिक्षा तथा कृषिउपज बिक्री वितरणका लागि महत्वपूर्ण मार्ग हो । पुल नहुँदा वर्षायाममा सास्ती भोग्नुपर्ने समस्याको दीर्घकालीन समाधान हुने स्थानीयहरूको विश्वास छ ।