भद्रपुर । बिर्तामोड–६ स्थित सुँगुर फार्ममा एकजना मानिस मृत फेला परेका छन् । भारत सिक्किम घर बताउने ६५ वर्षीय डम्बरबहादुर मगर फार्मभित्रै ओछ्यानमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मृतक मगर बिर्तामोड–६ शुभबिहानी टोल बस्ने सरोज लावतीले सञ्चालन गरेको सुँगुर फार्ममा काम गर्दै आइरहेका थिए । बुधबार बिहान ६ः३० बजे मगर फार्मभित्रै ओछ्यानमा मृत फेला परेको जिल्लाका डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । मृतकका आफन्तहरू भारतको सिक्किममै बसोबासरत रहेकाले आफन्तहरूलाई जानकारी गराउने पहल भइरहेको उनले जनाए ।
सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरी शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको र इलाका प्रहरी कार्यालय बिर्तामोडबाट अनुसन्धान भइरहेको उनले जानकारी दिए ।