धरान । जग्गाको विषयमा विवाद हुँदा सुनसरीको रामधुनी नगरपालिका–५ झुम्कामा एकजना घाइते भएका छन् ।

जग्गाको विवादमा सोही ठाउँका ७० वर्षीय भगवानप्रसाद गुप्तालाई सोही ठाउँका ३२ वर्षीय कृष्ण रौनियार र १६ वर्षीय विवेक रौनियारले हातपात गरेका थिए । उनीहरूले गुप्ताको टाउकोमा मुक्का हान्दा उनी घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

शनिबार साँझतिर गुप्तामाथि हातपात गरेका थिए । घटनाको सूचना आएलगत्तै प्रस्तावित इलाका प्रहरी कार्यालय रामुधनीबाट वरिष्ठ सइ किरण अधिकारीको नेतृत्वमा खटिएको टोलीले घाइतेलाई तत्कालै साई हस्पिटल झुम्कामा पठाएको थियो । त्यहाँ सामान्य उपचारपश्चात् न्यूरो हस्पिटल विराटनगरमा थप उपचारका लागि लगिएको छ । हातपात गर्नेहरू फरार रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यस्तै सुनसरीको हरिनगर गाउँपालिका–४ नुनिया टोलमा बुहारीमाथि हातपात भएको प्रहरीले जनाएको छ । सोही ठाउँकी २४ वर्षीया पूजाकुमारी महतोमाथि सासूआमा पुतोदेवी महतो, १९ वर्षीया नन्द सीतादेवी महतो र ३२ वर्षीय जेठाजु करिया महतोले हातपात गरेका हुन् । उनीहरूले घरायसी विवादको क्रममा पूजामाथि लाठीले प्रहार गर्दा मुखमा चोट लागेको छ भने माथिल्लो दुईवटा दाँत हल्लिएको प्रहरीले जनाएको छ । 

उनलाई तत्कालै उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ । कुटपिटमा संलग्नहरू फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।