वराहक्षेत्र । वराहक्षेत्र नगरपालिका–५ स्थित जगन्नाथ डेडराज जनता (जडेज) माध्यमिक विद्यालयको निर्णयको म्याइन्यूट च्यातिएको विषय थप चुलिएको छ ।

विद्यालय व्यवस्थापन समिति (विव्यस) र प्रशासनबीच विवाद चुलिएको हो । विव्यसका अध्यक्ष पुष्कल पराजुलीले शनिबार पत्रकार सम्मेलन गरी विद्यालय प्रशासनले गत असार २५ गते बसेको छलफलको निर्णय च्यातेको विषय आधारहीन रहेको बताए । उनले आफूलाई बदनाम गराउने उद्देश्यले प्रेरित रहेको बताए । यस विषयमा विव्यसका अध्यक्ष पराजुलीले प्रधानाध्यापक योगराज पौडेलमाथि आरोप लगाएका छन् । उनले प्रअ पौडेल, शिक्षक चेतनाथ भट्टराईलगायतको समूहले विद्यालयको आन्तरिक विषयलाई प्रचारबाजी गरेको आरोप लगाए ।

तर उक्त आरोपलाई प्रअ पौडेलले अस्वीकार गरेका छन् । विव्यसका अध्यक्ष पराजुलीले निर्णय च्यातेर राजनीति गरेको उनले आरोप लगाए । “व्यवस्थापन समितिका अध्यक्षले मिडियाबाजी गरेकाले हामी पनि चुप लाग्दैनौँ । भएको सत्यतथ्य बाहिर ल्याउँछौँ”–उनले फोनसम्पर्कमा भने । विव्यस र प्रशासनले आ–आफ्नो तरिकाले आरोपप्रत्यारोप गरेका कारण विद्यालयको वातावरण थप बिग्रँदै गएको छ ।

यता विव्यसका अध्यक्ष पराजुलीले आन्तरिक कुरालाई नगरपालिका र प्रहरीमा उजुरी दिई आफ्नो बेइज्जत गरेको बताए । “पटक पटक मैले व्यक्तिगत रूपमा भेटेर र फोन गरेर सहमति निकालौँ, विवाद टुङ्गो लगाऔँ भनेँ” उनले पत्रकार सम्मेलनमा भने, “१५ दिन बितिसक्दा पनि विद्यालयले वास्ता गरेन ।” प्रअ पौडेल विव्यसको सदस्य– सचिवसमेत हुन् । अध्यक्ष पराजुलीले आफूले गर्दै नगरेको कुरालाई प्रअ पौडेलले राजनीतीकरण गरेको बताउँदै भने, “यो कुराले मेरो मानहानि भएको छ ।” उनले प्रअ आफ्नो शैलीमा गए आर्थिक वर्ष २०७९/०८० को अडिट रिपोर्ट, शिक्षकको तलबभत्ता, विद्यालयमा सटर भाडाबापतको धरौटी रकमका विषयका बेथितिहरूको प्रमाण आफूसँग रहेको बताए ।

“प्रशासनले आफू अनुकूल मात्र निर्णय गर्दै आएको छ, एकलौटी निर्णयका प्रमाणहरू मसँग सुरक्षित छन् । आवश्यक परेको बेला देखाउन सक्छु” –उनले भने । विद्यालयको कुरामा आफूलाई व्यक्तिगत मुद्दा बनाई तल्लो स्तरको भाषा प्रयोग गरेको बताए । “प्रशासनले ‘तेरो छोरासमेत यही विद्यालयमा पढ्छ, त्यसको कसम खा, तामा तुलसी गर्’ जस्ता भाषा प्रयोग गर्यो”–उनले भने ।

यता प्रअ पौडेलले विवादको विषयलाई नगरपालिका र इलाका प्रहरी कार्यालयमा ठाडो उजुरी दिएको बताए । “माइन्यूट च्यातिएको विषयमा नगरलाई जानकारी गराएका सम्म हौँ” उनले भने, “प्रहरीमा ठाडो उजुरी दिएका छौँ तर यो विषयलाई कुनै पनि मिडिया वा सामाजिक सञ्जालमा हालेका छैनौँ । यो बेकारको आरोप हो ।” उनले यसअघि पूर्व प्रअ हीरामणि पौडेललाई पनि राजनीति गरेर हटाएको र अहिले आफूलाई हटाउनका लागि विभिन्न प्रपञ्च रचिरहेको प्रअ पौडेलको आरोप छ । उनले विवाद समाधानको लागि विव्यसका अध्यक्षले राजीनामा दिनुपर्ने बताए ।