धरान । लागूऔषध सेवन गरेको आरोपमा पक्राउ परेका एक युवाको धरान प्रहरीको कुटाइबाट मृत्यु भएको परिवारजनले आरोप लगाएका छन् । 

सुनसरीको इटहरी उपमहानगरपालिका–२ का २० वर्षीय युवराज निरौलाको प्रहरीको कुटपिटको कारण निधन भएको परिवारजनले जनाएका हुन् । शुक्रबार राति करिब ८ बजेतिर उनीसहित उदयपुर बेलका नगरपालिका–३ का २२ वर्षीय दीपक कटुवाल चेकजाँचको क्रममा धरानस्थित तीनकुनेबाट प्रहरीले पक्राउ गरेको थियो । उनीहरू धरानबाट मोटरसाइकलमा इटहरीतर्फ फर्किंदै गर्दा तीनकुने चेकपोष्टमा जाँच गर्दा लागूऔषध सेवन गरेको अवस्थामा भेटेपछि पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जवेगूले जानकारी दिए । जाँचको क्रममा सेवनकर्ताहरूबाट तीन ट्याब्लेट प्रतिबन्धित औषधि पनि भेटिएको उनले जानकारी दिए ।

उक्त घटनाबारे प्रहरीले आफन्तलाई केही समयपश्चात् जानकारी गराएको छिमेकी खगेन्द्र सुवेदीले जानकारी दिए । “छोरा पक्राउ परेको खबर परिवारलाई गरेछन् । यताबाट जान लाग्दा गम्भीर छ तुरुन्त बीपी प्रतिष्ठानमा आउनू भनी जानकारी गराएछन्” उनले फोनसम्पर्कमा भने, “पछि पुग्दा त बिरामीको अवस्था एकदमै नाजुक भइसकेको रहेछ र बिहानको राति करिब २ बजेतिर बीपीले विराट नर्सिङमा रिफर दियो ।”

विराट नर्सिङमा पनि उपचार सम्भव नभएपछि विराट टिचिङमा लगिएको थियो । टिचिङमा लाँदा बिरामीको टाउकोको भित्री भागमा रगत जमेको र इन्फेक्सनसमेत भइसकेकाले बचाउन नसकिने भनेपछि त्यहाँबाट पनि कोशी अस्पतालमा लाँदा आइतबार बिहान निधन भएको उनले जानकारी दिए । मृतकको टाउकोलगायतमा निलडामसमेत देखिएकोले प्रहरीको कुटपिटबाटै निधन भएको आफन्तको भनाइ उद्धृत गर्दै उनले बताए । उक्त घटनापश्चात् आक्रोसित बनेको आफन्त तथा छिमेकीहरू सोमबार इलाका प्रहरी कार्यालय धरानमा आई आन्दोलित बनेका थिए । घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग राख्दै उनीहरू आक्रोसित भएका छन् । त्यसक्रममा इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी प्रकाश जवेगूसँग छलफल भएको उनले बताए । “घटनाको निष्पक्ष छानबिन हुनुपर्छ भनेर आफन्त तथा छिमेकीले माग राख्यौँ” उनले भने, “त्यसपछि डिएसपी सा’पले घटनाको विषयमा सूक्ष्म अनुसन्धान गर्ने र प्रहरीले गल्ती गरेको भए कारबाही गर्छु भनेर प्रतिबद्धता जनाउनुभयो ।”

यता इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जवेगूले घटनाको विषयमा सिसिटिभी फुटेजहरू हेर्दा प्रहरीले कुटपिट गरेको नदेखिएको बताए । उनका अनुसार लागूऔषध सेवनकर्ता भएकाले ‘ओभरडोज’ भएको र भाग्ने क्रममा आफै लडेर घाइते भएको सिसीटिभी फुटेजमा देखिने बताए । “सिसीटिभी हेर्दा प्रहरीले कुटपिट गरेको देखिँदैन । भागेको देखिन्छ । त्यही भाग्ने क्रममा लडेर घाइते भएको देखिन्छ” उनले फोनसम्पर्कमा भने, “प्रहरीले हातपात गरेको देखिँदैन । यदि त्यस्तो भएको हो भने प्रहरीमाथि पनि कारबाही हुन्छ भनेर मैले छलफलको क्रममा भनेको हो ।” तर आफन्तले भने प्रहरीको कुटपिटबाटै निधन भएको दाबी गर्दै आएको छ । “अर्को केटोलाई केही पनि नहुने र यसलाई मात्रै हुने भन्ने हुन्छ ?” आफन्तको भनाइ उद्धृत गर्दै सुवेदीले भने, “प्रहरीले एकछिन अगाडि पक्राउ परेको छ भन्छ, एकछिन पछि बीपी अस्पतालमा गम्भीर भएको छ भनेर भन्छ अनि जाँदा त्यस्तै हालतमा भेटिन्छ ।”

इप्रका धरानमा आइपुगेका आफन्तजन तथा छिमेकीहरूले सुरुमा घटनाको गम्भीर छानबिन नभएसम्म शव नउठाउने भनेका थिए । तर, डिएसपी जवेगूले कारबाही गर्ने प्रतिबद्धता गरेपछि कोशी अस्पताल मोरङमा पोष्टमार्टम गरी शव लिएर आएका छन् । घटनाको विषयमा निष्पक्ष छानबिन हुनुपर्ने माग आफन्तजन तथा परिवारजनको छ ।