कोशी प्रदेशका मोरङ, झापा र सुनसरी जिल्लामा विद्युत् ट्रान्सफर्मर चोरीका घटना ह्वात्तै बढेका छन् । यी तीन जिल्लाबाट २२ वटा ट्रान्सफर्मर चोरी हुनुले यो समस्या कति विकराल बन्दै गएको छ भन्ने स्पष्ट पार्छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार सबैभन्दा बढी चोरी सुनसरीमा १२ वटा, मोरङमा ८ वटा र झापामा २ वटा भएका छन् । यो केवल ट्रान्सफर्मरको भौतिक क्षति मात्र नभई यसले समग्र विद्युत् आपूर्ति प्रणाली, कृषि क्षेत्र र स्थानीय जनजीवनमा गहिरो नकारात्मक असर पारेको छ । ट्रान्सफर्मर चोरी गर्नका लागि उच्च प्राविधिक सीप प्रयोग गरिरहेको देखिन्छ । यसमा विद्युत्सम्बन्धी जानकार प्राविधिकहरु नै पनि संलग्न रहेको प्राधिकरणको अनुमान छ । ११ हजार भोल्टको लाइन सर्ट गराएर ट्रान्सफर्मर झार्नु र भित्रको तामाको क्वाइल निकाल्नु सामान्य व्यक्तिले गर्ने कार्य होइन ।
ट्रान्सफर्मरहरू चोरी हुनुले कृषि क्षेत्रका लागि ठूलो क्षति पुगेको छ । सिँचाइका लागि हालिएका ट्रान्सफर्मरहरु चोरी हुँदा त्यसले गम्भीर क्षत्ति पु¥याएको छ । विद्युत् आपूर्तिका लागि जडान गरिएका वा सिँचाइ योजनाका लाइनहरुमा प्रयोग भएका छन् । किसानहरुलाई सिँचाइमा समस्या भई बालीनाली नोक्सान भइरहेको छ, जसले उनीहरुको आर्थिक अवस्थामा थप भार परिरहेको छ । यो घटनामा नेपाल विद्युत् प्राधिकरणले प्रहरीमा उजुरी दिएको छ । प्रहरीले यसलाई सूक्ष्म तरिकाले अनुसन्धान गर्न आवश्यक छ । हालसम्म पाँचजना पक्राउ परिसकेको अवस्था छ । उनीहरुबाटै पनि चोरीका मुख्य नाइकेहरुसम्म पुग्न सकिने अवस्था छ । यो घटनामा वाह्य आपराधिक समूहका साथै प्राविधिकहरुको संलग्नता हुन सक्ने आशा गरेका छन् । ट्रान्सफर्मर चोरीको शृङ्खला रोक्न प्रहरी र विद्युत् प्राधिकरणबीच सहकार्य हुन जरूरी छ ।
चोरको सञ्जाललाई भत्काउनका लागि सूक्ष्म अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्छ । ट्रान्सफर्मरहरुको सुरक्षा व्यवस्था मजबुत बनाउनु, विशेषगरी ग्रामीण र कम बस्ती भएका क्षेत्रमा अनिवार्य जस्तै भएको छ । यसका लागि सीसीटीभी निगरानी, स्थानीय समुदायको सक्रिय सहभागिता र गस्ती बढाउने जस्ता उपायहरु अपनाउन सकिन्छ । ट्रान्सफर्मर चोरीले विद्युत् आपूर्तिमा पार्ने असर र त्यसबाट हुने आर्थिक क्षतिको बारेमा जनचेतना फैलाउनु पनि उत्तिकै महत्वपूर्ण छ । यस्ता घटनाहरु कसको संलग्नतामा भइरहेको छ, त्यो विषयमा पनि अध्ययन हुन आवश्यक देखिँदै गएको छ । यी र यस्ता घटनाका लागि सबै सक्रिय भएर लाग्न जरूरी छ ।