धरान । समाजसेवामा क्रियाशील संस्था भोजपुर सुनसरी सेवा समाजले बहुउपयोगी भवन निर्माणका लागि ‘भीषण मुकारुङ एकल साङ्गीतिक साँझ २०८२’ आयोजना गर्ने भएको छ ।
समाजले मङ्गलबार पत्रकार सम्मेलन गरी आगामी भदौ २८ गते धरान–१५ स्थित चुम्लुङ भवनमा साँझ गरिने जनाएको छ । समाजले हाल बहुउपयोगी भवन निर्माणको अभियान थालेको छ । आफ्ना सदस्यहरूको सेवा र समाजका विभिन्न कार्यक्रम सञ्चालनका लागि भवन निर्माण गर्नुपर्ने आवश्यकता महसुस गर्दै आर्थिक सकलनका लागि साङगीतिक साँझ गर्न लागिएको समाजका अध्यक्ष रेवतीरवण राई जानकारी दिए । हालसम्म जग्गा व्यवस्था भइसकेको छ र भवन निर्माण प्रारम्भिक चरणमा पुगेको समाजले जनाएको छ ।
कार्यक्रममा जनप्रिय गायक भीषण मुकारुङले एकल प्रस्तुति दिनेछन् । उनले १५ वटाभन्दा बढी गीत गाउनेछन् । विदेशमा रहेका भोजपुरे तथा भोजपुरमा रहेका दाताहरूद्वारा आर्थिक सहयोग सङ्कलन गरिनेछ । संस्थाले सहयोग स्वरूप आउने सबै रकम भवन निर्माणको कोषमा खर्च गरिने समाजका सचिव भुवनसिंह बस्नेतले जानकारी दिए ।
समाजले पत्रकार सम्मेलनमै करिब ८५ लाख बराबरको टिकट बनाइएको सार्वजनिक गरेको छ । “यो साँझ केवल मनोरञ्जनका लागि मात्र होइन, समाजको साझा धरोहर निर्माणको सपना साकार पार्न सबैको एकताबद्ध प्रयास हो” पत्रकार सम्मेलनमार्फत् अध्यक्ष रेवतीरवण राईले भने, “सबैको सहयोगको हामीलाई खाँचो छ ।”
झण्डै ९ हजार आजीवन सदस्य रहेको सेवा समाजले शिक्षा, स्वास्थ्य, रक्तदान, खेलकुद, विपद् व्यवस्थापन, पर्यावरण संरक्षण, कला, संस्कृति, साहित्यलगायत सामाजिक क्षेत्रमा सहयोग पु¥याउँदै आएको छ ।