विराटनगर । सरकारको राष्ट्रिय गौरवको आयोजना अन्तर्गत मोरङको कटहरी गाउँपालिकाभित्र निर्माणाधीन हुलाकी राजमार्ग निर्माण सुरु भएको ६ वर्ष बितिसक्दा पनि अहिलेसम्म २७ प्रतिशत मात्र काम भएको छ ।
कटहरीको सिङ्घिया खोलादेखि नयाँबजारअगाडि जुडीखोलासम्मको ६ किलोमिटर खण्डको २७ प्रतिशत मात्र काम सम्पन्न भएको हो । निर्माण व्यवसायीको हेल्चेक्र्याइँका कारण सडक अलपत्र पर्दा आमनागरिकले कष्ट भोग्दै आएका छन् । तराई मधेशको समृद्धिको योजनासहित सरकारले सुरु गरेको हुलाकी राजमार्गको निर्माण कछुवाको गतिमा अघि बढेको पाइएको छ ।
सङ्घीय सरकारबाट ठेक्का प्रदान गरिएको यो सडक निर्माणमा ढिलाइ भएपछि राजनीतिक दलसहित विभिन्न सङ्घ–संस्थाले सर्वदलीय बैठक गरेर पटक–पटक आन्दोलन गरेका छन् । ठेकेदारका प्रतिनिधिलाई बोलाएर जिल्ला प्रशासन कार्यालय मोरङमा पटक–पटक छलफल भए पनि सडक निर्माणले अपेक्षित गति लिन सकेको छैन ।
२०७६ कात्तिक २४ गते तीन वर्षमा सम्पन्न गर्ने सम्झौता भएर २०७९ कात्तिक २३ गते श्रेष्ठ कन्स्ट्रक्सनले ७६ करोड रुपैयाँमा ठेक्का लिएको थियो । तोकिएको सम्झौतामा निर्माण पूरा हुन नसकेपछि दोस्रो पटक म्याद थप गरेर २०८२ जेठ मसान्तसम्म निर्धारण गरिएको थियो । तर दोस्रो पटक थप भएको म्यादमा पनि निर्माण कार्य पूरा भएको छैन ।
यो हुलाकी सडक मोरङको रतुवा खोलादेखि विराटनगर महानगरपालिकाको केशलिया खोलासम्मको ४४ किलोमिटर खण्डको हो । २०७६ सालमा तीन वर्षभित्र चार लेनको सडक निर्माण गर्ने ठेक्का तीन अर्ब ६० करोड रुपैयाँ लागतमा प्रदान गरिएको थियो । उक्त ठेक्का गजुरमुखी र श्रेष्ठ कन्स्ट्रक्सन प्रा.लि.ले लिएका छन् ।
सुवास श्रेष्ठ सञ्चालक रहेको श्रेष्ठ कन्स्ट्रक्सनको नयाँबजारदेखि सिङ्घिया खोलासम्मको ६ किलोमिटर पिच गर्ने काम बाँकी रहेको छ । त्यसभन्दा उत्तरको काम लगभग पूरा हुन लागेको छ । श्रेष्ठ कन्स्ट्रक्सनले निर्माण पूरा गर्न नसकेपछि ६ महिनाअगाडि काङ्ग्रेसका नेता अभिषेक गिरीलाई पेटी ठेक्का दिएका छन् ।
हुलाकी सडक आयोजनाका प्रमुख युवराज पोखरेलले ठेकेदार श्रेष्ठ अहिले पनि सम्पर्कविहीन रहेको जानकारी दिए । “यो सडकको निर्माण प्रक्रियाको म्याद सकिएको छ । दोस्रो पटक म्याद थप गरिएको पनि जेठ मसान्तमा सकिएको छ” उनले भने, “भौतिक प्रगति ६ वर्षमा २७ प्रतिशत मात्र भएको छ ।” ठेकेदार कम्पनी सम्पर्कमा आएर काम नगरे विकल्प खोजिने उनले बताए । सडक निर्माण पूरा नहुँदा सर्वसाधारणले सास्ती भोग्दै आएका छन् ।
वर्षामा हिलो र हिउँदमा धुलोले राजमार्ग आसपासमा बस्नसमेत समस्या हुने गरेको कटहरीका स्थानीय गोकुल भट्टराईले बताए । “प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा छलफल गरेको २२ औँ पटकभन्दा बढी भइसक्यो । छलफलमा छिट्टै पिच भइहाल्छ भनेर ठेकेदार र उनका प्रतिनिधिहरूले भन्छन् । तर सडक बन्दैन” उनले भने, “अब प्रक्रिया तोडेर ठेकेदारलाई कारबाही गरी नयाँ प्रक्रियाबाट काम सुरु गरे मात्र निर्माणले गति लिनेछ । नत्र यहाँका जनताले यस्तै सास्ती पाउनेछन् ।”
कटहरी वडानम्बर २ का पूर्व वडाध्यक्ष किशोर पाण्डेले निर्माण व्यवसायीको बेवास्ताले सडक अलपत्र पर्दा सर्वसाधारणले कष्ट भोग्नुपरेको बताए । “अहिले सडक छेउका बासिन्दाहरू घरमा बस्न सक्ने अवस्था छैन । धुलोले हैरानी भएको छ । अब वर्षा सुरु भएको छ । यही बाटो भएर विराटनगरका उद्योगमा काम गर्ने हजारौं श्रमिक साइकलमा हिँड्ने गरेका छन् । उनीहरूले पनि कष्ट पाएका छन्” उनले भने, “सडक पिच नभएको कारणले ठाउँठाउँमा खाडल बनेको छ । धेरैपटक सवारी दुर्घटनामा परेर सयौं मानिसको मृत्यु भएको छ । सडकका कारण यहाँका नागरिकले दुःख पाएको धेरै भयो । अब हामी सहन नसक्ने अवस्थामा पुगेका छौँ ।”
ठेकेदारलाई कारबाही गर्न सांसद्को माग
हुलाकी सडकको ठेक्का लागेर पाँच वर्ष बितिसक्दा सडक पिच नभएपछि यस क्षेत्रका जनप्रतिनिधिहरूले ठेक्का प्रक्रिया तोडेर ठेकेदार कम्पनीलाई कारबाही गरी नयाँ प्रक्रियाबाट काम सुरु गर्न माग राखेका छन् ।
जिल्ला प्रशासन कार्यालय मोरङमा सोमबार भएको सर्वदलीय छलफलमा मोरङ क्षेत्र नम्बर ४ का प्रतिनिधिसभाका सांसद् अमनलाल मोदीले ठेकेदार कम्पनीलाई पटक–पटक भने पनि काम नगरेको भन्दै ठेक्का प्रक्रिया तोडेर ठेकेदार कम्पनीलाई कालो सूचीमा राखी नयाँ प्रक्रियाबाट काम सुरु गर्न सुझाव दिए ।
“कटहरीका जनता वर्षौंदेखि सास्ती खेप्न बाध्य छन् । हुलाकी सडक समयमै नबनेको विषयमा मैले पटक–पटक प्रतिनिधिसभामार्फत् पनि सरकारको ध्यानाकर्षण गराएको छु । यहाँ आएर ठेकेदार कम्पनीलाई पनि भनिसकेँ । वर्षौं बितिसक्यो अहिलेसम्म २७ प्रतिशत मात्र प्रगति भएको छ ।
त्यो पनि अहिले ठेकेदारले पेटी ठेक्का दिएर ठेकेदार कम्पनी सम्पर्कमा नभएको जानकारी छ” उनले भने, “अब यसरी हुँदैन । समयमै काम नगर्ने ठेकेदारलाई कम्पनीलाई कालो सूचीमा राख्नका लागि प्रक्रिया अगाडि बढाई ठेक्का तोडेर अब नयाँ प्रक्रियाबाट अगाडि बढ्नुपर्छ ।”
धुलाम्मे सडकको कारण सडक किनारका जनताको दैनिकी कष्टकर भएको बताउँदै उनले काम सुरु गर्न आग्रह गर्दा नटेरेपछि जनतासामु आउनुपरेको बताए । सडक निर्माणको काम छाडिएका कारण पानी पर्दा बाटोमा हिँड्न सक्ने अवस्था नरहेको उनले जनाए ।