धरान । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको नामबाट सुरु भएको विवादले फुटेको थाक्थुङहरूको धार्मिक संस्था युमा साम्यो महासभा नेपाल र युमा साम्यो नेपालबीचको ‘एकता’ निरर्थक बन्दै आएको छ ।
यी दुई संस्थालाई एक ठाउँमा ल्याउनका लागि दुई पटक प्रयास भइसकेको छ । गत वर्ष युमा साम्यो महासभा नेपालको विदेशमा रहेको अन्तर्राष्ट्रिय समन्वय समितिले एकताको प्रयास गरेको थियो । तर, उक्त प्रयास असफल भएपछि हालै हङ्कङबाट आएका भक्तराज मादेनहाङले मध्यस्थकर्ताको भूमिका निर्वाह गरी एकता गर्ने प्रयास थालेका थिए । तर तीनदिनको अथक प्रयास निरर्थक बनेको हो । २०७४ साल माघ २२ गते युमा साम्यो महासभा नेपाल दर्ता भएको थियो । करिब दुई वर्षपश्चात् पाथीभरामा केबलकार निर्माण गर्ने भएपछि उक्त स्थानको नाम महासभाले मुन्धुमअनुसार ‘सेमुक्तुगोक्’ राख्नुपर्ने प्रस्ताव गरेको थियो । किरात याक्थुङ चुम्लुङ र सत्यहाङ्मा पक्षधरले भने ‘सेमुक्तुगोक् मुक्कुमलुङ’ को नाम प्रस्ताव गरेका थिए । यही प्रस्तावपश्चात् नै विवाद सुरु भई फुटेको थियो ।
उक्त विवाद विस्तारै अगाडि बढ्दै जाँदा २०७९ सालमा युमा साम्यो नेपाल संस्थाको जन्म भएको थियो । यी दुवै संस्थाको उद्देश्य र सिद्धान्त भने एउटै रहेको लेखक तथा अध्येता अमित थेबे बताउँछन् । उनका अनुसार अन्तर्राष्ट्रिय समन्वय समिति झण्डै १२–१३ वटा देशमा रहेका छन् । यस्तै युमा साम्यो नेपालले प्रवाश विशेष समिति गठन गरेपछि नै फुट देखिएको उनको भनाइ छ । त्यही फुट नेपालमा पनि देखिएको थियो । दुवै संस्थाको उद्देश्य र सिद्धान्त एउटै भएकाले मिलाउनका लागि प्रयास हुँदै आएको उनको भनाइ छ । युमा साम्यो महासभा नेपाल र युमा साम्यो नेपालको उद्देश्य एकै भएकाले एक ठाउँमा ल्याउन पहल गरिरहेका मध्यस्थकर्ता भक्तराज मादेनहाङले ‘एकता’ निरर्थक देखिएको बताए ।
उनले युमा साम्यो महासभा नेपालले ‘एकता’ गर्न नचाहेको पत्रकार सम्मेलनमार्फत् बताए । उनले भने, “एकताका लागि बिहान ८ बजेसम्म उहाँहरू तयार हुनुहुन्थ्यो । तर एक्कासि महासभाका सचिव भीम केदेमले फेसबुकमा लेखेर ‘तिमी को हौँ ?’ भनी लेखेपछि एकता भाँडियो ।” युमा साम्यो नेपाल भने एकता गर्न तयार रहेको सचिव भीमसेन लिङ्दमले बताए । “संस्थागत रूपमा हामी तयार छौँ । उद्देश्य एउटै भएकाले पनि मिल्न तयार भएको हो”–पत्रकार सम्मेलनमा उपस्थित उनले भने ।
युमा साम्यो महासभा र युमा साम्यो नेपालको उद्देश्य याक्थुङहरूको धर्मलाई प्रचारप्रसार र प्रवर्धन गर्ने लक्ष्य रहेको छ । यी दुवै संस्थाको उद्देश्य एउटै देखिएपछि आफू मध्यस्थकर्ता भई तीन दिनदेखि मिलाउन लागिपरेको मध्यस्थकर्ता भक्तराज मादेनहाङले बताए । “यसैका लागि म हङ्कङबाट आएको थिएँ, तर भीम केदेमले प्रश्न तेस्र्याएपछि एकता नहुने रहेछ भन्ने हामीले बुझ्यौँ र यथार्थ के भएको हो भनेर पत्रकार सम्मेलन गरिएको हो”–उनले भने ।
तर, युमा साम्यो महासभाका अध्यक्ष देवेन्द्रकुमार वनेमले फरक तर्क राखे । उनले फोनसम्पर्कमा भने, “आज बस्ने कुरा हो । अफिसमै बस्ने टुङ्गो लागेको थियो । संस्थाको अफिसमा हामी १५–१६ जना भेला पनि भएका थियौँ । एक्कासि ठाउँ चेन्ज गरेपछि नियत राम्रो देखिएन ।” उनले वार्ता गर्नुपर्ने आवश्यकता पनि नभएको दाबी गरे । “ऊसँग वार्ता गर्नुपर्ने आवश्यकता पनि छैन । कुनै संस्था पनि होइन । डोनर पनि होइन । संस्थाको व्यक्ति पनि होइन” उनले फोनसम्पर्कमा भने, “त्यै पनि वार्ता गर्दैमा बिग्रिहाल्दैन भनेर बसौँ न त भनेर बस्न खोजिएको थियो । मैले १४ चोटि फोन गर्दा पनि उठाएन । लालीगुराँसका मेयर अर्जुनबाबु माबोहाङले पनि गर्नुभयो । उठाएन ।” महासभाकै आधिकारिकतामाथि पनि मध्यस्थकर्ता मादेनहाङले प्रश्न उठाएका थिए । संस्थापक अध्यक्ष एवम् महासभाका वरिष्ठ उपाध्यक्ष हर्क इजम लिम्बूले भने, “३५ महिना भयो । केन्द्रीय पदाधिकारीको बैठक पनि बस्न सकेको छैन । सचिवालयको बैठक बसेको छैन । यो हिसाबमा संस्थाको आधिकारिकतामा प्रश्न उठेको हो ।” यस विषयमा अध्यक्ष वनेमले भने, “केन्द्रीय समितिको वर्षमा दुई पटक बैठक बसेको छ । संस्थाको कार्यालयमा गएर हेर्दा भइहाल्यो नि ! आरोप लगाउँदैमा हुने कुरा होइन । उहाँ संस्थापक भए पनि अधिवेशनले उहाँलाई वरिष्ठ उपाध्यक्षको जिम्मेवारी दिएको थियो । त्यो जिम्मेवारी पनि पूरा गर्नुभएको छैन ।” उनले अवैधानिक तथा आधिकारिकताको प्रश्न उठाउने भक्तराज नै अवैधानिक भएको बताए । “अवैधानिक त ऊ हो । ऊ चाहिँ असम्बन्धित मान्छे हो”–वनेमले भने ।