सुनसरी । कोशी प्रदेशका १० जिल्लाका पशु चौपायामा लम्पी स्किन रोगको सङ्क्रमण फैलिएको छ । प्रदेश सरकार अन्तर्गतको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका अनुसार १० जिल्लाका २० हजार ५ सय ९० पशुमा  सङ्क्रमण फैलिएको हो ।

प्रदेशका ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, भोजपुर, उदयपुर र खोटाङमा सङ्क्रमण फैलिएको निर्देशनालयका सूचना अधिकारी विनोदकुमार साहले जानकारी दिए । निर्देशनालयको तथ्याङ्कअनुसार हालसम्म २० हजार ३ सय ९२ गाई–गोरु र १ सय ९८ राँगा–भैँसीमा सङ्क्रमण देखिएको छ । सङ्क्रमित पशुमध्ये ५ सय ५५ को मृत्यु भएको छ । 

सबैभन्दा धेरै झापामा १३ हजार ९ सय ८९ पशु प्रभावित भएका छन् भने मोरङमा २ हजार १ सय ७३ र सुनसरीमा १ हजार ५ सय १६ पशु प्रभावित भएका छन् । अन्य जिल्लामा सङ्क्रमण तुलनात्मकरूपमा कम छ । 

असार १५ देखि सङ्क्रमण फैलन सुरु भएकोमा हाल भने सङ्क्रमित हुने पशुको सङ्ख्या घट्दै गएको निर्देशनालयमा कार्यरत पशु चिकित्सक पुरुषोत्तम पाण्डेले बताए । उनले भने, “असार १५ देखि सङ्क्रमण देखिएको हो । अहिले डाटा हेर्दा घट्दो क्रममा छ ।” 

लम्पी स्किनविरुद्ध स्थानीय तहमार्फत् निःशुल्क खोप दिइने गरेको र प्रत्येक जिल्लामा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत् उपचारमा समेत सहयोग गरिरहेकाले सङ्क्रमण धेरै फैलन नपाएको पाण्डेको दाबी छ । उनले भने, “हामीलाई सङ्घीय सरकारको पशु सेवा विभागले खोप दिएको छ । त्यसलाई प्रत्येक जिल्लाका भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत् स्थानीय तहमा पठाइएको छ । स्थानीय तहमार्फत् निःशुल्क खोपका कामहरू भइरहेका छन् । प्रत्येक जिल्लामार्फत् पनि उपचारमा सहयोग गर्दै आएका छौँ ।” 

लम्पी स्किन रोग पहिलो पटक नेपालमा २०७७ सालमा मोरङमा देखिएको थियो । त्यसयता देशभरका विभिन्न स्थानमा यो रोग फैलिएको छ । विगतमा खोप लगाइए पनि साना बाच्छा र नयाँ पशुमा पुनः सङ्क्रमण देखिएको पाण्डेले बताए ।

प्रदेश सरकारको ध्यानाकर्षण 

लम्पी स्किनका कारण पशु चौपायाको मृत्यु भएको भन्दै कोशी प्रदेशसभा सदस्य सपना परियारले प्रदेश सरकारको ध्यानाकर्षण गराएकी छन् ।

मङ्गलबार बसेको प्रदेश सभाको बैठकमा बोल्दै सांसद् परियारले भनिन्, “गाई, भैँसीमा फैलिएको लम्पी स्किनका कारण किसानको पेशा नै सङ्कटमा पर्ने अवस्था आएको छ ।”

सांसद् परियारले मरेका र बिरामी परेका पशु चौपाया पाल्ने पशुपालक किसानलाई राहतको व्यवस्था गर्न सरकारसँग माग गरिन् । 

प्रदेशभर फैलिएको लम्पी स्किन रोगप्रति गम्भीर चासो व्यक्त गर्दै उनले सबै स्थानीय तहहरूमा लम्पी स्किनसँग सम्बन्धित खोप अभियान प्रभावकारीरूपमा सञ्चालन गर्नसमेत सरकारसँग आग्रह गरिन् ।

निर्देशनालयले खोप अभियान, उपचारमा सहयोगलगायत दाबी गरे पनि प्रदेश सभा सदस्य परियारले सबैतिर खोप प्रभावकारीरूपमा सञ्चालन गर्न नसकेको र किसानको पेसा सङ्कटमा परेको ध्यानाकर्षण गराइने । 