विराटनगर । तीन दिनयताको अविरल वर्षासँगै खोलामा आएको बाढीले मोरङमा करिब पा“चसय घरपरिवार विस्थापित भएका छन् । मोरङका विभिन्न खोलामा आएको बाढी बस्तीमा पस्दा सो सङ्ख्यामा घरपरिवार विस्थापित भएका हुन् ।
विस्थापित भएका बाढी पीडितहरू खुला ठाउँमा त्रिपाल टाँगेर बसोबास गरिरहेका छन् । विस्थापित हुने अधिकांश खोलाकिनारमा बसोबास गर्ने सुकुम्बासी घरपरिवार रहेका छन् । विस्थापित परिवारलाई स्थानीय जनप्रतिनिधि र जिल्ला प्रशासन कार्यालय मोरङको सहयोगमा सुरक्षित स्थानमा राखिएको मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिए ।
मोरङ प्रहरीका अनुसार सबैभन्दा बढी विराटनगर महानगरपालिकाका बासिन्दा बाढीबाट पीडित भएका छन् ।
बाढीका कारण सबैभन्दा बढी विराटनगर वडानम्बर १, २, ८, ६ र १६ प्रभावित बनेको छ । सिङ्घिया खोलामा आएको बाढी बस्तीमा पस्दा ३ सय घरपरिवार विस्थापित भएको प्रहरीले जनाएको छ । विराटनगर–१ गङ्गा चौकका सुकुम्बासी बस्तीका ५०, विराटनगर–२ का एक सय र ८ नम्बर वडा बालगोपाल टोलका १ सय घरपरिवार सुकुम्बासीहरू विस्थापित भएका छन् । स्थानीय र प्रहरीको सहयोगमा उनीहरूलाई सुरक्षित स्थानमा सारिएका छ ।
घरभित्र पानी पसेपछि स्थानीय त्रसित बनेका छन् । घरमा पानी पसेपछि खान, बस्न समस्या भएको विराटनगर–१ बालगोपाल टोलका अकोश कामतले बताए । ‘घरभित्र बुधबार राति सिङ्घिया खोला पस्यो’ उनले भने, ‘रातभरिमा सरसामान बोकेर सुरक्षित स्थानमा आएका छौं । खाना पकाउने र बस्न सक्ने अवस्था छैन ।
दिनभरि त सबैतिर पानी पानी भन्दै रमिता हेर्दै बित्छ तर राति के गर्ने ?’ यस्तै मोरङको कटहरी गाउँपालिका– ४ स्थित भगवती टोल, फूलटोल मदुरा र गन्नु टोल बढी प्रभावित भएको छ । फूलटोल मदुरामा मात्रै १ सय २ घरपरिवार बाढीले गर्दा विस्थापित बनेका छन् । कटहरीको ४ नम्बर वडामा मात्रै २ सय बढी घर बाढीले प्रभावित बनेको वडाअध्यक्ष मन्टु सेखले बताए । घरभित्र पानी पसेका कारण खाना पकाउन समस्या देखिएपछि चिउरा, भुजा र चाउचाउ वितरण गरिएको उनले जानकारी दिए ।
मोरङको बूढीगङ्गा गाउँपालिका–७ डङ्ग्राहास्थित खदाम खोलाको किनारमा बसोबास गर्ने उराउ र सरदार समुदायका १३ परिवार विस्थापित भएका छन् । विस्थापित भएकाहरू नजिकैको प्रगतिशील विद्यालयको पुरानो भवनमा बसोबास गर्दै आएका छन् ।
प्रमुख जिल्ला अधिकारी केसीले मोरङका बक्राहा, लोहन्द्रा, सिङ्घिया र केसलिया खोलामा पानीको बहाव बढेकाले सम्पूर्ण सुरक्षा निकाय र जनप्रतिनिधिलाई सचेत रहन निर्देशन दिइएको जानकारी दिए । जिल्ला विपद् व्यवस्थापन समिति मोरङले १७ वटै स्थानीय तहहरूलाई सचेत गराएको उनले बताए ।
हरेक स्थानीय तहमा विपद् व्यवस्थापन समिति गठन भएको र सबैले विपद् व्यवस्थापन कोष खडा गरेर तत्काल राहत र क्षतिपूर्तिको प्रबन्ध गर्नसक्ने अवस्था सिर्जना गरेका छन् । सबैसँग सरदर करोडको हाराहारीमा विपद् व्यवस्थापन कोष रहेको प्रजिअ केसीले बताए ।
जिल्लाको विपद् व्यवस्थापनको कामलाई सात क्लष्टरमा विभाजन गरेर सबै क्लष्टरलाई तयारी अवस्थामा राखिएको उनले बताए । समन्वय तथा सूचना खोज उद्धार क्लष्टरको नेतृत्व जिल्ला प्रशासन कार्यालयले गर्नेछ । अस्थायी आवास र गैह्र खाद्य क्लष्टरको नेतृत्व भवन डिभिजन कार्यालयले गर्छ भने आपतकालीन शिक्षामा जिल्ला शिक्षा समन्वय इकाईले नेतृत्व गर्ने गरी जिम्मेवारी तोकिएको छ । त्यस्तै स्वास्थ्य तथा पोषणको काम जिल्ला जनस्वास्थ्य कार्यालयले, खाद्य सुरक्षा र जीविकोपार्जनको क्लष्टरको काम रेडक्रस र गैरसरकारी संस्थाहरूले गर्नेछन् । बन्दोबस्तीको सामान उपलव्ध गराउने काम रेडक्रसलाई दिइएको छ ।