धरान । मनसुन लागेसँगै विभिन्न जिल्लाहरूमा डेङ्गु सङ्क्रमण देखिन थालेको छ । जुनदेखि अगष्टसम्म (असार–भदौ) सम्मलाई डेङ्गु सङ्क्रमणको जोखिम उच्च मानिन्छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को तथ्याङ्कअनुसार जनवरी १ देखि जुन ८ सम्म एक हजार दुई सय ५५ सङ्क्रमित भेटिएका छन् भने ७२ वटा जिल्लामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको छ ।

सबैभन्दा धेरै सङ्क्रमितको सङ्ख्या काठमाडौँमा देखिएको छ । काठमाडौँमा १ सय ३२, कास्कीमा ९०, सुनसरीमा ८७, चितवनमा ६१, पाल्पामा ५१, रूपन्देहीमा ४७, कञ्चनपुरमा ३७, दाङमा ३२ र भक्तपुरमा ३० वटा सङ्क्रमित भेटिएका छन् । 

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चैत महिनामा ४ सय जनामा परीक्षण गर्दा २ जनामा डेङ्गु देखिएको प्रतिष्ठानले जनाएको छ । ४ सयमा धरानबाट २ सयको सङ्ख्या रहेको छ । डेङ्गु सङ्क्रमणका बिरामी फाट्टफुट्ट देखिए पनि गम्भीर बिरामी भने नभएको प्रतिष्ठानका सह–प्रवक्ता डा. अभिजित कुमारले जानकारी दिएका छन् । ‘सामान्य नै भए पनि स्थानीय सचेत भने हुनुपर्दछ’–उनले ब्लाष्टसँग भने । प्रतिष्ठानका मेडिकल रेकर्ड शाखाका अधिकृत सुनिल पराजुलीका अनुसार गत साता १ सय २ जनामा परीक्षण गर्दा धरान–१७ र १८ का दुई जनामा सङ्क्रमण देखिएको बताए । २०७६ सालमा धरानबाट डेङ्गु सुरु भई देशभर फैलिएको थियो ।

ईडीसीडीका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालले डेङ्गुलाई शून्यमा नै ल्याउने र डेङ्गु गराउने लामखुट्टे सखाप नै पार्ने अवस्था सिर्जना गर्न नसकिए पनि नियन्त्रण भने गर्न सकिने बताएका छन् । उनले भने, ‘डेङ्गुको सङ्क्रमण र मृत्युदर घटाउन सकिन्छ । यसका लागि सबै जनाको समन्वय आवश्यक हुन्छ । नागरिक, समुदाय, सरकारी–गैरसरकारी संस्था सबैले हातेमालो गर्नुपर्छ ।’

डा. दाहालले यो वर्ष मनसुन छिट्टै सुरु भएको र मौसमविद्ले पानी धेरै पर्न सक्ने आँकलन गरेकाले सङ्क्रमण बढ्न सक्ने सम्भावना रहन सक्ने बताए । यो वर्ष डेङगु सङ्क्रमण बढ्छ वा स्थिर रहन्छ भनेर आँकलन गर्न भेक्टरको पर्याप्त तथ्याङ्क छैन । यद्यपि मनसुन केहीअघि सुरु भएको र धेरै पानी पर्ने भनिएको हुनाले पानी जम्मा हुने र सञ्चित भएर बस्ने अनि लामखुट्टेको विकास हुने सम्भावनालाई नकार्न मिल्ने उनको भनाइ छ । डा. दाहालका अनुसार डेङ्गु नियन्त्रणमा सबैले आ–आफ्नो स्थानबाट सहभागिता जनाए तीनै तहले डेङ्गु नियन्त्रणसम्बन्धी आवश्यक कार्यक्रम डेङ्गु सङ्क्रमण र यसबाट मृत्यु हुने दर पनि कम गर्न सकिन्छ ।

कोशी प्रदेश सरकारको तयारी के छ ?

कोशी प्रदेशका केही तराईका जिल्लामा डेङ्गुका छिटफुट सङ्क्रमितहरू भेटिएको कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. केनिन राईले जानकारी दिए । 

कोशीमा त्यस्तो भयावह अवस्था त केही छैन । तर सचेतना र पूर्वतयारीको काम भइरहेको छ । प्रत्येक जिल्लाहरूमा स्वास्थ्य कार्यकर्ताहरूलाई तालिम, सचेतनाका कार्यक्रमहरू भइरहेका छन्’ सूचना अधिकारी राईले भने, ‘लामखुट्टेका लार्भा नष्ट गर्ने, सरसफाइका कार्यक्रम नियमित भइरहेका छन् ।’ विपद् परिहाल्दा रेस्पोन्स टिम स्थानीय तहका सबै स्वास्थ्य संस्थामा तयारी अवस्थामा रहेको उनले बताए । 

डेङ्गु के हो ?

डेङ्गु एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको कीटजन्य रोग हो । डेङ्गुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ । 

यसबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने, खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, खाली भाँडाकुँडा घोप्ट्याएर राख्ने, पानीको ट्याङ्की पूरै खाली गरेर सफा गरिरहने, सुत्ने बेला झुलको प्रयोग गर्नाले पानी जम्मा गरी राखिएका पानीको ट्याङ्की, ड्रम, गाग्री, बाल्टिनलाई लामखुट्टे छिर्न नपाउने गरी राम्रोसँग छोपेर राख्ने, आफ्नो घर वरपर, कार्यस्थल र सार्वजनिक स्थानमा फालिएका काम नलाग्ने भाँडाकुँडा, सिसी, बोतल, टिनका बट्टा, प्लास्टिकजन्य वस्तुहरू तथा पानी जम्न सक्ने अन्य भाँडा तथा सामग्रीलाई पानी नजम्ने गरी व्यवस्थापन गर्न विज्ञको आग्रह छ ।